7 Mangshir, 2074 | 23 November, 2017 Thursday
 डा. राजु पौडेल कन्सल्टेन्ट न्युरोलोजिस्ट ग्रान्डी अस्पताल   - स्ट्रोक अर्थात् पक्षघात जोसुकैलाई पनि हुन सक्छ । यद्यपि, मधुमेह र उच्च रक्तचाप भएकाहरूलाई सम्भावना बढी हुन्छ । वर्ल्ड स्ट्रोक अर्गनाइजेसनका अनुसार विश्वमै ६ जनामा एक व्यक्तिलाई जीवनको कुनै न कुनै मोडमा कम्तीमा एकपटक पक्षघात हुन्छ । अचानक एकातर्फको मुख बांगिनु, हात उचालेर राख्न नसक्नु, बोल्दाबोल्दै बोली लरबरिनु आदि पक्षाघातका लक्षण हुन् । यस्ता लक्षण देखिए जतिसक्दो चाँडो उपचारका लागि अस्पताल पुर्‍याउनुपर्छ । लक्षण देखिएको तीन घन्टाभित्र उपचार गराउन सके बिरामीको ज्यान बचाउन सक्ने  सम्भावना रहन्छ ।

पक्षाघात हुँदा दिमागसम्म रक्तसञ्चार हुन सक्दैन । यो अवस्थामा हरेक सेकेन्ड दिमागका ३२ हजार कोष मर्ने गर्छन् । यो हिसाबमा एक घन्टाभित्र करिब २० लाख कोष मर्छन् । समयस“गै मृत कोषको संख्या बढ्ने हुँदा मानिसको ज्यान जोखिममा हुन्छ । त्यसैले चाँडै उपचार प्रक्रिया सुरु गर्नु नै रोगीको ज्यान बचाउने एक मात्र उपाय हो । दिमागसम्म रक्तसञ्चार हुन नपाउँदा वा कम हुँदा स्ट्रोक हुन्छ । यो अवस्थामा दिमागसम्म आवश्यक मात्रामा अक्सिजन वा पोषक तत्व पुग्न पाउँदैन । परिणामस्वरूप दिमागका कोषहरू 
मर्न थाल्छन् ।

आइसेमिक, हेमोरेजिक र टिआइए गरी स्ट्रोक तीन किसिमका हुन्छन् । स्ट्रोकका घटनामध्ये अधिकांश (करिब ८५ प्रतिशत) आइसेमिक हुने गर्छ । दिमागसँग जोडिएको नसा (आर्टरी)मा रोकावट आउँदा वा खुम्चिँदा दिमागमा रक्तसञ्चार कम भई आइसेमिक स्ट्रोक हुन्छ । आर्टरीमा रगत जम्नु वा अन्य नसामा जमेको रगत यहाँसम्म पुगेर रगतको प्रवाह रोकिनु वा कम हुनु यसको प्रमुख कारण हो । दिमागसँग जोडिएको आर्टरी चुहिँदा वा फुट्दा हेमोरेजिक स्ट्रोक हुने गर्छ । यसरी नसाबाट चुहिएको रगतले दिमागमा चाप बढाउँछ । अन्ततः त्यसले दिमागको कोषमा नोक्सान पुर्‍याउँछ । चुहिएको रगत दिमागको बीचमा वा सतहमा पुग्ने गर्छ । यसो हुँदा दिमाग तथा खप्परको बीचमा रहेको खाली स्थानमा भरिन्छ । हाइपर्टेन्सन, ट्रमा, अनियमित औषधि सेवन र नसा कमजोर हुनु यसका प्रमुख कारण हुन् । टिआइए स्ट्रोकमा भने सीमित अवधिका लागि दिमागमा रक्तसञ्चार हुन पाउँदैन । केही मात्रामा यसको लक्षण आइसेमिक स्ट्रोकजस्तै हुन्छ । तुलनात्मक रूपमा अन्य स्ट्रोकभन्दा कम जोखिमपूर्ण भए पनि उपचारमा ढिलाइ गर्नुहुँदैन । किनभने, यो भविष्यमा हुन सक्ने स्ट्रोकको लक्षण हो । सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार टिआइए भएका मानिसमध्ये एकतिहाइमा एक वर्षको अवधिभित्र मेजर स्ट्रोक हुने सम्भावना रहन्छ । तीमध्ये पनि १० देखि १५ प्रतिशत मानिसमा तीन महिनाभित्रै मेजर स्ट्रोक हुने गरेको बताइन्छ ।

अव्यवस्थित एवं अस्वस्थकर जीवनशैली नै पक्षाघातको प्रमुख कारण हो । व्यायामको कमी, तनावपूर्ण जीवनशैली, सुर्तीजन्य पदार्थको सेवन, धूम्रपान, चिल्लो तथा जंक फुड खाने बानी भएका मानिसमा पक्षाघातको सम्भावना उच्च हुन्छ । मधुमेह तथा उच्च रक्तचापलगायतका रोग भएका मानिसले नियमित औषधि सेवनमा हेलचेक्र्याइ“ गर्दा पनि पक्षाघातको सम्भावना बढ्छ ।

दैनिक जीवनशैलीमा पर्याप्त व्यायाम तथा स्वस्थकर खानपिनको बानी अपनाउँदा पक्षाघातबाट धेरै हदसम्म बच्न सकिन्छ । साथै, समय–समयमा रगतको परीक्षण गर्नु पनि आवश्यक छ । त्यसमा पनि सकेसम्म समग्र शरीरको नै परीक्षण गर्नु उपयुक्त हुन्छ । मुटु स्वस्थ राख्न सके दिमाग पनि बलियो हुन्छ । यस्ता विषयमा ध्यान दिए पक्षाघातबाट बच्न सकिन्छ । तर, पक्षाघातको लक्षण देखिए वा भइहाले समयमै परीक्षण गरी औषधोपचारमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

- नयापत्रिका