4 Mangshir, 2074 | 20 November, 2017 Monday
गोरखा- गोरखा २ मा चुनावी मैदानमा उत्रिएका शीर्ष नेता बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले एकअर्काप्रति आरोप–प्रत्यारोप थालेका छन् । सोमबार बिहान छुट्टाछुट्टै पत्रकार सम्मेलन गर्दै उनीहरूले आफूले जित्ने दाबीमात्रै गरेनन्, एकअर्काप्रति आरोप–प्रत्यारोप लगाउनसमेत भ्याए ।
भट्टराईले वाम गठबन्धन सत्ताको लोभमा लागेकाले आफू बाहिरिएको बताए । उनले भने, ‘देशलाई निकास दिन वाम वा लोकतान्त्रिक जुन शक्तिसँग भए पनि गठबन्धन गरेर अगाडि बढ्ने योजना थियो ।’ वाम गठबन्धन सत्ताको लोभमा लागेको र परिर्वतन हुन नसकेको आरोप लगाउँदै उनले आफ्नो जित सुनिश्चित रहेको दाबी गरे । उनले भने, ‘वाम गठबन्धन सत्ता केन्द्रित भयो, त्यसैले त्यहाँबाट बाहिरिएको हुँ ।’ कांग्रेसलाई जरैदेखि सिध्याउनुपर्छ भन्ने अभिव्यक्ति दिएको भनेर गलत प्रचार गरिएको बताउँदै उनले आफूले त्यस्तो प्रतिक्रिया नदिएको प्रस्ट पारे ।  
उनका प्रतिद्वन्द्वी नारायणकाजी श्रेष्ठ सोमबार नै पत्रकार भेटघाट गर्दै बाबुरामको प्रवृत्तिका कारण उनीसँगको तालमेल टिकाउ नभएको बताए । जोसँग पनि मिल्न खोज्ने, आफूले भनेअनुसार सिट नपाएपछि जानेजस्ता प्रवृत्तिका कारण बाबुरामसँगको तालमेल हुन नसकेको उनको भनाइ थियो । कहिले फोरमसँग तालमेल गर्न खोज्ने, कहिले वाम गठबन्धनमा कहिले कांग्रेसमा जाने बाबुरामको ढुलमुले प्रवृत्ति रहेको उनले टिप्पणी गरे । स्थानीय तह निर्वाचनमा परिणाम हेरेपछि बाबुराम झनै अत्तालिएर गठबन्धन गर्न दल खोज्दै हिँडेको श्रेष्ठले आरोप लगाए । उनले भने, ‘बाबुरामजीले चुनाव जित्ने आधार देखिँदैन, कार्यदिशा र योजना केही प्रस्ट छैन ।’
शीर्ष नेताहरूबीच चुनावी प्रतिस्पर्धा हुन लागेको र आउने परिणामबारे सञ्चारकर्मीको जिज्ञासामा उनले बाबुरामको चर्को आलोचना गरेका हुन् । भट्टराईले नाम नै किटेर आलोचना नगरे पनि उनले वाम गठबन्धनको सम्बन्ध लामो समय जान नसक्ने र सत्तालिप्सा ध्येय रहेको ठोकुवा गरे । अर्थमन्त्री हुँदा गोरखा २ मा आफूले गरेको लगानी, यसअघि एकपटक विजयी हुँदा जनताले दिएका मत र जनआधारमा जित्ने दाबी गरे ।
 ‘कृषि, बाटोघाटो, जलविद्युत, पर्यटन र तिब्बतसँगको गोरखाको नाका सधैं खुलाउने अजेन्डामा अगाडि बढेको छु,’ आफूले निर्वाचन जित्ने आधारबारे नेता श्रेष्ठले भने । गोरखाको समृद्धि र सिंगो नेपालको विकासका लागि वाम गठबन्धनले बहुमतको सरकार बनाएर देशको कायपलट गर्ने दाबी उनले गरे । वाम एकता चुनावी मात्रै नभएर पार्टी एकता हुनेमा दुविधा नराख्न उनले कार्यकर्तालाई आग्रहसमेत गरे । भट्टराई र श्रेष्ठ माओवादी पार्टीभित्र सँगै काम गरेका थिए । माओवादी युद्धकालको समयमा भट्टराई गोरखासँग नजिक रहेको र नेता कार्यकर्तासँग पनि निकट भएकाले उनले भोट बटुल्न सक्ने आकलन गरिएको छ । श्रेष्ठले भने संगठन बलियो रहेको र वाम तालमेलले जित पक्का भएको दाबी गरेका छन् ।
यी दुई शीर्ष नेताबीच चुनावी प्रतिस्पर्धा हुन लागेको गोरखा २ मा सबैको चासो छ । नयाँ शक्तिका संयोजक भट्टराई र माओवादी नेता श्रेष्ठले उम्मेदवारी दर्ता गराएपछि दुवै नेता मत बटुल्न, नेता र कार्यकर्ताको ध्यान खिच्न सोमबार पनि गोरखा सदरमुकाममा भेटघाट गरिरहेका छन् ।
उनको गोरखाको विकास निर्माणमा मध्यपहाडी लोकमार्ग, बुढीगण्डकी आयोजनाजस्ता राष्ट्रिय गौरवका योजनालाई सम्पन्न गर्न आफूले प्रयत्न गर्ने बताएका छन् । संविधान निर्माणक्रममा आफूले ठूलो योगदान गरेको स्मरण गर्दै उनले भने, ‘जनताले विकास निर्माण र संविधान कार्यान्वयनको जिम्मेवारी दिनेछन्, मत दिएर जिताउनेछन् भन्नेमा आशावादी छु ।’

भष्ट्राचारविरुद्ध विवेकशील साझाको उम्मेदवार
गोरखामा विवेकशील साझा पार्टीले दुवै क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ । गोरखा १ मा अमृत पुडासैनी र २ मा नवराज थापाले उम्मेदवारी दिएका हुन् । पुडासैनीले कांग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठ र माओवादी प्रदेश नम्बर ४ का इन्चार्ज हरि अधिकारीसँग प्रतिस्पर्धा गर्दैछन् । यस्तै थापाले नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई र माओवादी नेता नारायणकाजी श्रेष्ठसँग चुनाव लड्दैछन् ।
दूरदर्शिता, इमानदारी राख्दै समग्र गोरखा र देशको समृद्धिका लागि उम्मेदवारी दिएको गोरखा २ का उम्मेदवार थापाले बताए । उनले भने ‘भष्ट्राचार, कुसंस्कृति र माफियातन्त्रविरुद्ध हाम्रो उम्मेदवारी हो ।’ शीर्ष नेतासँग निर्वाचनमा जानु जटिल भए पनि प्रतिस्पर्धा गर्न कुनै डर नभएको उनीहरूले बताए ।
उम्मेदवारलाई आचारसंहिताको जानकारी
गोरखास्थित जिल्ला निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई आचारसंहिताबारे जानकारी गराएका छन् । निर्वाचन आचारसंहितामा भएका कुरा, ध्यान दिनुपर्ने विषय, उम्मेदवारले गर्न हुने र नहुने कामका बारेमा सोमबार बिहान जानकारी गराइएको हो ।
जिल्ला समन्वय समितिको सभाकक्षमा गरिएको उक्त छलफलमा गोरखा २ बाट चुनावी मैदानमा उत्रिएका डा.बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ, १ का चिनकाजी श्रेष्ठ, हरि अधिकारीसहित प्रदेशका उम्मेदवारहरूको उपस्थिति थियो