7 Mangshir, 2074 | 23 November, 2017 Thursday
गैरआवाशीय नेपाली संघ (एनआरएनए) को ८औं विश्व सम्मेलन असोजको २८ देखि ३१ (अक्टोबर १४ देखि १७) गतेसम्म काठमाडौंमा हुँदैछ । यो सम्मेलनपछि आयोजना हुने अधिबेशनले आगामी २ बर्षको लागि नयाँ नेतृत्व पनि छनोट गर्नेछ । नयाँ नेतृत्वका लागि अध्यक्षमा बर्तमान उपाध्यक्ष भबन भट्टले उम्मेदवारी घोषणा गरिसकेका छन् भने अन्य पदहरुमा आकांक्षीहरुले उम्मेदवारी घोषणा गर्ने क्रम बढ्दो छ । यसैक्रममा बर्तमान महासचिब बद्री केसीले फेरि महासचिब पदमै उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले फेरि किन महासचिब पदमै उम्मेदवारी दिन लागेका हुन् भन्ने लगायत एनआरएनएका विविध पक्ष र आयाम बारे महासचिब केसीसँग गरिएको कुराकानीः

तपाइ रसियामा ब्यापार ब्यवसाय गरेर बसिरहनु भएको छ, नेपाल कत्तिको आउने गर्नुभएको छ ?
गैरआवाशीय नेपाली संघसँग आवद्ध नहुँदा ५/६ बर्षमा एकचोटी नेपाल आइन्थ्यो । केही साथीहरु त १० बर्षमा एकचोटी आउथे । यो संघमा आवद्ध भएपछि कम्तिमा पनि २ बर्षमा एकचोटी नेपाल आउन थालिएको छ । म आफै भने यो संघमा लागेपछि हरेक २÷२ महिनामा एकचोटी नेपाल आउने गरेको छु ।

सिया कसरी पुग्नुभयो ?
म पढाइको सिलशिलामा सन् १९९० मा रसिया पुगेको हूँ । सन् २००२ मा रसियाबाट पिएचडी सकें । त्यसपछि भाग्यले होलो, त्यतै बिहेबारी गरेर बसियो । दुःखका साथ भन्नु पर्छ कि मैले जुनबेला जुन विषयमा पिएचडी गरेको थिएँ, त्यो बेला त्यो बिषयमा नेपालमा काम गर्ने ठाँउ थिएन । मैले बायोटेक्नोलोजीमा पिएचडी गरेको हूँ । त्यसैले उतै बस्न बाध्य भएँ । त्यसपछि रसियामा नै बस्न बाध्य भए । अहिले त्यहाँ ब्यापार ब्यवसाय गरेर बसेको छु ।

ती ७ जनाको समेत बैठक नराखी अध्यक्षले काम गर्नुभएको छ । यस्तो भएपछि त्यो कार्यशैलीलाई एकलौटी नभनेर के भन्नुहुन्छ ?

रसिया पुगेका अधिकांश नेपाली विद्यार्थी किन उतै ब्यवसाय गरेर बस्दा रहेछन्, यसकाे खास रहस्य के रहेछ ?
रसियाले साधारण शिक्षामा मात्रै नसिकाएर त्यहाँको ब्यवहारिक पक्ष पनि सिकाउँदो रहेछ । र, हामीलाई ब्यापार गर्न रसियाले सिकाएको होइन, गैरआवाशीय नेपाली संघले सिकाएको हो । यो संघमा लागेका अग्रज दाजुहरु ब्यापारलाई आफ्नो पेशा बनाउँदा जति सक्षम हुनुभयो, त्यसैबाट सिकेर हामीहरु पनि त्यही बाटोमा लागेका हौं । अबको युग भनेको आर्थिक समृद्धिको युग हो, आर्थिक समृद्धि हासिल गर्न ब्यापार धेरै उपयोगी हो भन्ने महसुस गर्यौं । यसपछि अरुको सामान्य काम गरिरहेका नेपाली पनि आफै ब्यवसायी बन्न थालेका हुन् । गैरआवाशीय नेपाली संघ स्थापना गर्न रसियामा बसेका नेपालीहरुको प्रमुख भूमिका रह्यो । र, हामी पनि ब्यवसायिक गतिविधिमा संलग्न भयौं ।

तपाइ संघमा कहिलेदेखि आवद्ध हुनुभयो ?
म संघको नीति निर्माणदेखि संघको अवधारणापत्र तयार गर्ने क्रमदेखि नै संलग्न छु । सन् २००२ अघि रसियामा नेपाल रुस ब्यापार संघ भन्ने संस्था थियो । त्यो संघमा हामी ब्यापार गर्ने साथीहरु मात्रै संलग्न थियौं । ब्यापार गर्ने साथीहरुको संघ अलग्गै, राजनीति गर्ने साथीहरुको संघ अलग्गै, विद्यार्थीहरुको संघ अलग्गै र बैदेशिक रोजगारीमा गएका साथीहरुको संघ अलग्गै हुँदा हामी विभाजित भयौं । एक त बिदेशमा बस्ने नेपालीहरुको संख्या सानो त्यसमा पनि आफै विभाजित भयौं भने केही गर्न सकिदैन भन्ने हामीलाई महसुस भयो । नेपाल रुस ब्यापार संघमा डा. उपेन्द्र महतो पनि हुनुहुन्थ्यो, जिवा लामिछाने हुनुहुन्थ्यो, अरु साथीहरु पनि हुनुहुन्थ्यो, म पनि थिएँ । त्यसमा भएका साथीहरुको पहलमै अर्काे किसिमले प्रस्तुत हुनुपर्छ भन्ने भयो । त्यही बेलामा बिदेशमा बस्ने भारतीयहरुको संस्था एनआरआइ पनि गठन भइसकेको थियो । हामीले एनआरआइ जस्तै संस्था होस भनेर एनआरएनए बनाऔं । तर, अहिले एनआरआइभन्दा एनआरएनए राम्रो संस्थो बन्यो ।

रसियाको पढाइले ब्यवसायी बनायो र एनआरएनएले ब्यापार गर्न सिकायो भन्नुभयो, त्यहाँको जस्तै ब्यवसायी बन्न सिकाउने शिक्षा प्रणाली नेपालमा लागू गराउन एनआरएनएले पहल गर्न सक्दैन ?
यसमा हामी असाध्यै प्रयत्नरत छौं । अहिलेसम्म नेपालमा जतिपनि एनआरएनको लगानी आएको छ, त्यसको सबैभन्दा ठूलो हिस्सा रसियाबाटै आएको छ । रसियामा रहेका हरेक ब्यक्तिले सानोभन्दा सानोदेखि ठूलोसम्मको लगानी गरेका छन् । रसियामा पढेका एनआरएनहरुले नेपालको शिक्षा क्षेत्रमा धेरै लगानी गरेका छन् । धेरै इन्स्टिच्युटहरु खुलेका छन् । रसियामा पढेका विद्यार्थीहरुले कलेज खोलेका छन् । रसियामा पढेर फर्केका १० हजारभन्दा बढी इन्जिनियर, डाक्टरहरु नेपालमा कार्यरत छन् । बैंकमा लगानी गरेका छन् । उद्योग खोलेका छन् । धेरै राम्रो काम भएको छ ।

एनआरएनएको आगामी विश्व सम्मेलन धेरै नजिक आएको छ, तयारी कस्तो भएको छ ?
विश्वका विभिन्न ६० भन्दा बढी देशहरुमा संघको राष्ट्रिय समन्वय परिषदहरु छन् । ती देशहरुबाट प्रतिनिधि आउँदैछन् । २२ सयभन्दा बढी प्रतिनिधि आउँदैछन् । योसँगै ग्लोबल कन्फ्रेन्स पनि भइरहेको छ । यो हिसाबले बाहिरबाट झट्ट हेर्दा नयाँ नेतृत्व छान्ने जस्तो देखिए पनि ४ दिनको कन्फ्रेन्समा एक दिन मात्रै नयाँ नेतृत्व छनोटमा लाग्दैछौं । बाँकी ३ दिन हाम्रो संस्थाले गरेको क्रियाकलापको मूल्यांकन, अध्यक्ष, महासचिब र कोषध्यक्षको प्रतिबेदनमाथि छलफल र पारित गर्ने काम हुन्छ । त्यसैगरी हाम्रो बिधानको बारेमा पनि छलफल हुन्छ । विधानमा कतिपय कुराहरु संसोधन गर्नुपर्ने हुन्छ भने कतिपय कुराहरु नयाँ ल्याउनु पर्ने हुन्छ । आगामी दिशाको कार्ययोजना तय गर्छौं । हाम्रो संस्थाले नेपालमा गरेका कामहरुको मूल्यांकन हुन्छ । यस्तै नेपाली नागरिकताको निरन्तरता, नेपालमा ब्यापार र लगानी प्रबद्र्धन कसरी गर्न सकिन्छ, राजनीतिक दलहरुसँग कसरी सहकार्य गरेर अगाडि जान सकिन्छ भन्ने जस्ता विषयमा पनि गहन छलफल हुन्छ । विदेशमा बसेर नेपालमा लगानी भित्र्याउन के कस्तो पहल गर्न सकिन्छ, बैदेशिक रोजगारीमा गएका नेपालीको समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने जस्ता विषयमा पनि मन्थन गर्छौं । विदेशमा रहेर अध्यापन पेशामा संलग्न नेपालीहरुलाई खुल्ला विश्वविद्यालयको माध्यमबाट कसरी नेपालसँग जोड्न सकिन्छ भन्ने जस्ता विषयमा छलफल हुन्छ ।

पछिल्लो समय नेपालमा एनआरएनएप्रतिको आकर्षण कम भएको हो ?
तपाइले भन्नुभएको कुरामा केही सत्यता छ । २ बर्षमा एकचोटी हुने विश्व सम्मेलनको लागि विश्वभरबाट २२ सयदेखि २५ सय गैरआवाशीय नेपाली नेपाल आउँछन् । यो आफैमा ठूलो मेला हो । त्यो बेला मात्रै हामी देखिने हो । तर, अरु बेला पनि काम भइरहेको हुन्छ । एनआरएनको लगानीका कामहरु भइरहेका हुन्छन् । विकास निर्माणका कामहरु भइरहेका छन् । अस्पतालहरु बनिरहेका छन् । बैंकहरुमा लगानी भइरहेको हुन्छ । कलेजहरु खुलिरहेका हुन्छन् । यी दैनिन्दिकी कामहरुको हाइलाइट गरिरहनु पर्दैन । दोस्रो कुरा हामी बिदेश गएका पहिलो पिँढीका नेपालीहरु हौं । सन् १९९० को राजनीतिक परिवर्तन पछि मात्रै हामी नेपालीहरु धेरैको संख्यामा बिदेश जान थालेका हौं । सन् २००२ मा हाम्रो संस्था स्थापना हुँदा ५ लाख नेपालीहरु बिदेशमा छन् भनेर हामीले कल्पना गरेका थियौं ।

हाम्रो सामथ्र्य वा क्षमताभन्दा बढीको अपेक्षा नेपाल सरकार र नेपाली जनताबाट भएको र अपेक्षा अनुसार हाम्रो क्षमता वा सामथ्र्य नभएको भने पक्कै हो ।

आजभन्दा १४ बर्ष अगाडि ५ लाख नेपाली विदेशमा थिए भने अहिले ५० लाख नेपाली विदेशमा छन् । ती ५० लाखमध्ये अधिकांश नेपालीहरु अहिले पनि विदेशमा आफू स्थापित हुन संघर्ष गरिरहेका छन् । निर्वाहमुखी काममा लागिरहेका छन् । यसको मतलब के हो भने अहिले विदेशमा रहेका नेपालीले ठूलो लगानी नेपाल भित्र्याउन सक्ने वा नेपालको अवस्था ह्वात्तै परिवर्तन गर्न सक्ने सामथ्र्य ती नेपालीसँग छैन । हाम्रो सामथ्र्य वा क्षमताभन्दा बढीको अपेक्षा नेपाल सरकार र नेपाली जनताबाट भएको र अपेक्षा अनुसार हाम्रो क्षमता वा सामथ्र्य नभएको भने पक्कै हो । यो कुरा सबैले बुझिदिनु पर्छ । संघले पनि पहिला तपाइ आफै स्थापित हुनुहोस्, आफूले कमाएको रकमको १० प्रतिशत मात्रै नेपालमा लगानी गर्नुहोस् भनेर भनेकै हो । आफूले काम गरिरहेको ठाँउमा आफू पहिला स्थापित हुन सकेन भने अन्यत्र केही गर्न सकिदैन भनेर नै यसो भनिएको हो ।

पहिलो पुस्ताले विदेशमा जति संघर्ष गर्नुपर्यो त्यती संघर्ष दोस्रो पुस्ताले गर्नुपर्दैन । दोस्रो पुस्ताको लागि पूर्वाधारहरु तयार भइसकेका हुन्छन् । कम समयमै सफल हुन सक्छन् । दोस्रो पुस्तालाई संघमा आवद्ध गराएर नेपाल र नेपालीको अपेक्षा अनुसारको लगानी र प्रबिधि भित्र्याउने हो । यस्तै विदेशमा रहेका ५० लाख नेपालीमध्ये १० प्रतिशतको हाराहारीमा महिला छन् । ती महिलालाई पनि संघमा आवद्ध गराउने अभियान चलाएका छौं । त्यसैले अहिले हाम्रो नाराः सेकेन्ड जेनेरेसन, युथ एण्ड ओमेन बनाएका छौं ।

संघका पदाधिकारीबीच नै असमझदारी हुन्छ, त्यसैले संघले प्रभावकारी काम गर्न सकेको छैन भन्ने हल्ला बाहिर सुनिन्छ, तपाइ पदाधिकारी भएको कार्यकालमा यस्तो भएको छ ?
संघ आफैमा ठूलो भएको छ । विभिन्न देशबाट आएका पदाधिकारी छौं । फरक फरक बिचारधारका छौं । फरक फरक परिवेशमा अभ्यस्त भएकाहरु छौं । त्यसैले विभिन्न बिचारहरु आउनु स्वभाविक नै हो । यसलाई समन्वय गर्न वा एकरुपता प्रदान गर्न नै बिधान वा यस्तै कानुनी प्रावधान राखिन्छ । यस्तो राखिएन भने भद्रगोल हुन्छ नै । संघलाई स्वभाविक गतिमा संचालन गर्न हामीले बिधान बनाएका छौं । नीति नियमहरु बनाएका छौं । हामीले नै बनाएको बिधान वा नीति नियमको पालना गर्यो भने बिबाद वा असमझदारी नै आउँदैन । कसैले संस्थाभन्दा म ठूलो हूँ भन्यो भने समस्या हुन्छ । कसैले निरंकुस तरिकाले संस्था चलाउन खोज्यो भने विबाद हुन्छ । बिदानभन्दा ठूलो कोही हुँदैन भनियो भने समस्या नै आउँदैन ।

अहिलेकै कार्यसमितिमा तपाइ र अध्यक्षबीचमा नै केही विबाद वा असमझदारी छ भनिन्छ, कसले बिधान मिच्नुभयो ?
यो बिबाद नै होइन । महासचिबको प्रमुख कर्तब्य भनेको अध्यक्षसहित सबैलाई विधान अनुरुप काम गर्न लगाउने हो । बिधान उल्लघन हुन नदिने हो । मेरो कुरा गर्नुहुन्छ भने बिधानभन्दा म एक इन्च पनि यताउता भएको छैन । यस्तो प्रकारको बिबाद आएको यही कार्यसमितिमा मात्रै हो । संघको अनुशासन कमिटि छ । विधान अनुरुप काम गरेन भने अध्यक्ष वा महासचिब जो भएपनि त्यो कमिटिले विधान अनुसार कारबाही गर्नुपर्छ भन्ने मेरो मान्यता र अडान हो ।

अध्यक्षले एकलौटी ढंगले संस्था चलाउन खोज्नुभयो भन्ने तपाइको कुरा हो ?
पक्कै पनि हो ।

किन त्यस्तो गर्नुभयो होला त ?
त्यो उहाँको कार्यशैली होला । उहाँको कुरा मैले जवाफ दिन सक्ने कुरा पनि भएन । संघमा अन्तराष्ट्रिय कार्यकारी समिति भन्ने छ । त्यो समितिमा ७ जनाको पदाधिकारी छन् । ती ७ जनाको समेत बैठक नराखी अध्यक्षले काम गर्नुभएको छ । यस्तो भएपछि त्यो कार्यशैलीलाई एकलौटी नभनेर के भन्नुहुन्छ ? उहाँले आफूखुसी गर्नुभएको छ ।

अध्यक्षले मनोमानी रुपमा गरेका निर्णयहरुको केही उदाहरण पनि दिनुस् न त ?
संस्थाका धेरै निर्णयहरु यस्ता छन् । हाम्रो संस्थामा कार्यकारी समिति छ । अन्तराष्ट्रिय समितिमा छलफल गर्न समयले भ्याएन भने कार्यकारी समितिले निर्णय गरेर जाने प्राबधान छ । यो २ बर्षको बीचमा कार्यकारी समितिको २ पटक मात्रै बैठक भएको छ । चुनाबमा मसँग पराजित भएका ब्यक्तिलाई प्रबक्तामा ल्याउन पहिलो बैठक भयो भने महासचिबले गरेका काम भएन, महासचिबलाई कारबाही गर्नुपर्यो भनेर दोस्रो वा अन्तिम बैठक भयो । कार्यकारी समितिको बैठक २ बर्षमा जम्मा २ पटक बस्यो र त्यसका छलफलका विषय पनि तपाइलाई भने । अब यो बिचमा के कसरी काम भएको रहेछ भनेर तपाइ आफै अनुमान लगाउन सक्नुहुन्छ ।

लाप्राक आवाश निर्माणमा कार्यकारी समितिका सदस्यहरु हामी पदेन सदस्य छौं । एउटा पनि बैठकमा त्यो बिषयमा छलफल भएन । बैठकै राखिएन । माइन्यूट भएकै छैन

म चुनाबी प्यानल बिर्सेर एउटै टीम भएर काम गर्न चाहन्थे । तर, अध्यक्षले एउटै टीम भएर काम गर्न चाहनु भएन । मलाई प्रहार गर्ने काम मात्रै भयो । मैले नेतृत्वलाई सधै सघाउन चाहें । राम्रा कामहरुमा सहभागी भएँ । सबै मेगा प्रोजेक्टमा संलग्न भएँ । कुनै ब्यक्तिले गरेका नराम्रा र गलत कामहरुको मैले बिरोध गरिरहेको हुन्छु । अध्यक्षसँग ब्यक्तिगत रुपमा मेरो कुनै बिबाद छैन, नियमसंगत ढंगले अगाडि बढौंभन्दा नै उहाँ मसँग दुरी बनाउन लाग्नुभएको हो ।

अझ प्रष्ट रुपमा भनिदिनुस् न, यो २ बर्षको बीचमा संस्थागत निर्णय नभइ अध्यक्षले आफै निर्णय गरेर एनआरएनएले गरेका काम के के हुन् ?
जस्तो सन् २०१३ मा अहिलेका अध्यक्ष पहिलो चोटी अध्यक्ष भएर आउदा म संघको कोषाध्यक्ष थिएँ । निर्वाचित भएको भोलिपल्टै पहिलो बैठक राख्ने हाम्रो चलन छ । त्यो बैठकले धेरै किसिमका निर्णय गर्यो । तर, त्यसको माइन्यूट आउँदा पारित भएका कुराहरु लुकाएर छुट्टै खालको माइन्यूट आयो । उदाहरणको लागि त्यो बैठकले सल्लाहकार चयन गरेको थियो, माइन्यूट आउँदा सल्लाहकार नै हटाइयो । त्यो बेलादेखि नै मैले यो प्रबृत्तिको बिरोध गरेको हूँ । सन् २०१५ मा भएको विश्व सम्मेलनबाट म महासचिब बने । त्यसपछि उहाँले बैठकमा निर्णय नै नभएको कुरालाई माइन्यूटमा लेख्न दबाब दिनुभयो । मैले त्यो कुरा पनि मानिनँ । त्यसपछि अध्यक्षले मलाई वाइपास गरी कार्यकारी निर्देशकलाई माइन्यूट लेख्न लगाउनु भयो । मैले यस्ता प्रबृत्तिको बिरोध गरेको छु, अध्यक्षको कहिल्यै पनि विरोध गरेको छैन ।

गोर्खा भूकम्पपछि भूकम्प पीडितलाई गोर्खाको लाप्राकमा आवाश बनाउने विषयमा पनि बिबाद छ भनिन्छ, त्यसमा भएको खास कुरा के हो ?
नेपाल सरकारले गोर्खाको लाप्राकमा भूकम्प पीडितलाई आवाश बनाउन हामीलाई अनुमति दियो । अध्यक्षले यो प्रस्ताव ल्याउनुभयो । तर, त्यो बिषयलाई आइसिसीले अनुमोदन गरेको छैन । त्यहाँ छलफलै भएको छैन । आइसिसीले अनुमोदन नगरी यस्ता काम गर्न पाइदैन । तर, त्यो कुरालाई हामीले सहर्ष स्वीकार गर्यौं । किनभने त्यो काम गुडफेथमा भएको थियो । गुडकजको लागि भएको काममा कहाँ पास भएको छ÷छैन भनेर हेरिरहनु पर्दैन । लाप्राक आवाश निर्माणमा कार्यकारी समितिका सदस्यहरु हामी पदेन सदस्य छौं । एउटा पनि बैठकमा त्यो बिषयमा छलफल भएन । बैठकै राखिएन । माइन्यूट भएकै छैन । तर, असल नियतले काम गरेको भनेर हामीले आखाँ बन्द गरेर त्यसलाई समर्थन गरेका छौं । भवनमै विभिन्न किसिमका समस्या आए । तर हामीले भबन निर्माण समितिलाई त्यो बिषयमा कहिल्यै पनि दोष थोपरेनौं । त्यसलाई इस्यू बनाउन चाहने हो भने धेरै ठाँउ छन्, त्यसमा । तर, हामीले त्यसो गरेनौं । सही कुरालाई समर्थन गरेकै छौं, गर्छौं ।

लाप्राकमा खर्च भएको पैसा विश्वभरका एनआरएनले दिएको पैसा हो, कयौं ठाउँबाट सिन्धुपाल्चोकमा आवाश बनाउने भनेर पैसा आएको थियो, तर लाप्राक लगियो भन्ने पनि सुनिन्छ नि ?
भूकम्प पछिको पुननिर्माणको लागि एनआरएनबाट ५० करोड रुपैयाँभन्दा बढी पैसा आएको छ । यो पैसा गोर्खा जिल्लाबाट बिदेश गएका नेपालीबाट मात्रै आएको होइन । ७५ वटै जिल्लाबाट बिदेश गएका नेपालीबाट आएको पैसा हो । तर, पुननिर्माण र राहत वितरणमा हामी अतिप्रभावित १४ जिल्लामा मात्रै केन्द्रीत भयौं । यसमा केही साथीहरु रिसाए पनि । किनभने केही साथीहरुको छिमेकीको घर भत्किएको छ, उनीहरुले पैसा दिएको छ, तर हामी त्यहाँ राहत वा अन्य सहयोग दिन सकिरहेका थिएनौं । अतिप्रभावित क्षेत्रमा सहयोग गर्नुपर्ने भएकोले संघले यस्तो गरिरहेको थियो । सिन्धुपाल्चोकको लागि पनि हामीले अध्ययन गरेको हो । तर, अतिप्रभावित भनेर हामीले लाप्राकमा सहयोग लगेका हौं । लाप्राकमा आवाश बनाउने निर्णय अध्यक्ष आफैले लिनुभएको हो । प्रक्रियागत रुपमा निर्णय गरेर गइएको थिएन, तर अध्यक्षले गुडकजको लागि गर्न खोज्नुभएकोले हामीले सहयोग र समर्थन गरेका हौं ।

भनेपछि यो कार्यसमितिमा अध्यक्ष र महासचिबको राम्रै गुटबन्धी रहेछ हो ?
यो संस्था गुटबन्धी गर्नको लागि स्थापना गरिएकै होइन । म कहिल्यै पनि गुट बनाउनतिर लागिन र लाग्दिन पनि । संस्थाका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो र पूर्वअध्यक्ष जिवा लामिछानेबाट मैले एनआरएनए संचालन गर्ने तरिका सिकेको हो । उहाँहरुले दिनुभएको मार्गनिर्देशलाई मैले मानेर आएको छु । अप्ठेरो पर्दा म उहाँहरुसँग सरसल्लाह गर्छु । उहाँहरुले जन्माउनु भएको यो संस्थाप्रति उहाँहरुलाई माया छ । बर्षौं लगाएर संस्था बनाउनेहरुलाई संस्थाको माया हुँदो रहेछ । झट्ट आएर बिचमा पस्नेहरुलाई कम माया हुदो रहेछ ।

भिनज ट्वान्टी ट्वान्टीको बारेमा तपाइको धारण के हो ?
यसमा धेरै सकारात्मक र नकारात्मक पक्षहरु छन् । सन् २०१४ मा म कोषाध्यक्ष हुँदा मैले ल्याइसकेका कुराहरु पनि यसमा छन् । मैले नै संस्थालाई वित्तीय रुपमा सक्षम बनाउनु पर्यो भनेर अबधारणा ल्याएँ । संस्था आफै वित्तीय रुपमा सक्षम भएन भने कुन धनीलाई अध्यक्ष बनाइयो भने बढी चन्दा पाइन्छ र संस्था चलाउन सकिन्छ भनेर अर्काको मुख ताक्नुपर्ने हुन्छ । संस्था आफै वित्तीय रुपमा सवल भयो भने सक्षम र इमान्दार मान्छेले संस्थाको नेतृत्व गर्दा हुन्छ, धनी चाहिदैन । यही अबधारणमा रहेर संस्थालाई आर्थिक रुपमा सबल बनाउन मैले पहल गरेको हूँ । मैले सन् २०१४ मा बनाएको १० बर्षे अबधारणाकै कारण संस्था एकैचोटी नाफामा गयो । त्योभन्दा अगाडि संस्था सधै घाटामा थियो । हामीले चुहिने ठाउँहरु बन्द गरेका कारण यो सम्भव भएको थियो । यी सकारात्मक कुराहरु भए ।

हामीले संस्थालाई अझ प्रभावकारी बनाएर लैजाने कि सिध्याउने भन्ने कुरा भिजन ट्वान्टी ट्वान्टीको संरचनागत परिवर्तन पारित गर्ने कि अस्वीकार गर्ने भन्ने विषयसँग जोडिएको छ ।

यसको नकारात्मक पक्ष भनेको संस्थाको संरचनात्मक परिवर्तन हो । हरेक सामाजिक संस्थाहरु सामुहिक नेतृत्व र निर्णय प्रक्रिया अनुसार बनेको हुन्छ, बन्नुपर्छ । संस्थाका हरेक पदाधिकारीको आआफ्नै काम, कर्तब्य र अधिकार हुन्छन् । अहिले आएको अबधारणमा अध्यक्ष सर्बशक्तिमान हुने छ । हरेक देशमा हुने काउन्सिलका सदस्यहरुको कुनै अधिकार नै हुदैन र अध्यक्षले भनेको कुरालाई ताली बजाएर अघि बढ्नेको बिकल्प हुदैन । यो भनेको अहिलको संरचनालाई पूरा भत्काएर राणा शासनमा जान खोज्नु जस्तै हो । नेपालले लोकतन्त्रको उच्चतम अभ्यास गरिरहेको समयमा हामी पढेलेखेका, देशबिदेश जाने बुझेका भनिनेहरुको संस्थामा यस्तो निरंकुश पद्धति लागू गर्नु हुदैन । ग्लोबल कन्फ्रेन्स र महाधिबेशनले यो कुरा पारित गर्नुहुदैन । गर्दैन पनि ।

मैले तत्कालै कर्मचारी सम्बन्धी नीति नियम ल्याएँ । कर्मचारीलाई प्रोत्साहित गर्ने कार्यक्रमहरु ल्याएँ । मैले ल्याएकै कारण ती राम्रा कार्यक्रमहरु पारित भएनन् । एनआरएनएमा यो प्रकारका प्रबृत्तिहरु छन् ।

यही कुरा पास भयो भने अहिले ७० हजार भएको सदस्य संख्या घटेर ५ हजारभन्दा तल आइपुग्छ । यो अबधारणा लागू भयो भने यति राम्रो उचाइ हासिल गरेको एनआरएनए जरै काटिएर सकिन्छ । हामीले संस्थालाई अझ प्रभावकारी बनाएर लैजाने कि सिध्याउने भन्ने कुरा भिजन ट्वान्टी ट्वान्टीको संरचनागत परिवर्तन पारित गर्ने कि अस्वीकार गर्ने भन्ने विषयसँग जोडिएको छ । एनआरएनए धेरै ठूलो दुःख र मेहेनतले बनेको संस्था हो । यसलाई सिध्याउने रणनीतिका साथ आएको भिजन ट्वान्टी ट्वान्टीको संरचनागत परिवर्तनलाई असफल बनाउन म हरसम्भव प्रयत्न गर्छु । एनआरएनएलाई कमजोर बनाउन हुदैन । यसलाई अझ बलियो बनाउनु पर्छ । त्यसकारण यो संरचनागत परिवर्तनलाई अस्वीकार गर्नुको बिकल्प छैन । संस्थाको समयानुकुल परिवर्तन कसरी गर्न सकिन्छ भनेर विज्ञ समुह बनाएर अबधारणा तयार पारिएको थियो । त्यो अबधारणालाई एकातिर पन्छाएर संस्था बुझ्दै नबुझेको कन्सल्ट्याल्ट हायर गरेर ल्याएको यो संस्थागत संरचना परिवर्तनलाई कुनै पनि हालतमा स्वीकार गर्न सकिदैन ।

तपाइँ फेरि एनआरएनएको महासचिब पदमा उठ्छु भन्नुभएको छ, एउटै पदमा दोहोर्याएर किन इच्छा देखाउनु भएको हो ?
१४ बर्षको बीचमा यो संस्थाको संख्यात्मक विकास जसरी भयो, त्यो हामीले अनुमान गरेभन्दा धेरै हो । ७८ भन्दा बढी देशहरुमा यसको संजाल विस्तार भएको छ । ७० हजारभन्दा धेरै संगठित सदस्य भएका छन् । यो संख्यात्मक विकासको आधारमा एनआरएनएको गुणात्मक विकास भएको छैन । महासचिबको रुपमा मेरो २ बर्षको कार्यकाल भिन्न रुपमा रह्यो । मैले चाहेजति काम गर्न सकिनँ । यो बीचमा मैले ल्याएका राम्रा प्रस्तावहरु छलफलमै आउन पाएनन् । अहिले यो संस्थालाई कमर्शलाइजेसन गर्ने, एउटा कम्पनी जस्तो गरी चलाउने वा सामाजिक संस्थाकै रुपमा चलाउने भन्ने ठूलो मोडमा हामी आइपुगेका छौं । यो २ बर्षको बीचमा मैले आफ्नो जुन प्रकारको बिचार, अडान र दृष्टिकोण राखे, त्यसलाई कार्यान्वयन गर्नुपर्छ भनेर यो संस्थाका धेरै साथीहरुले भन्नुभयो । तपाइले अबको एक कार्यकाल महासचिबकै रुपमा काम गर्नुपर्छ भनेर साथीहरुले आग्रह गर्नुभयो । एनआरएनएका अभियान्ताहरुले पनि तिमी महासचिब भएर एक कार्यकाल फेरि काम गर भन्नुभएको छ । यसैकारण मैले महासचिब पदमै दोहोर्याउन खोजेको हूँ ।

यो कार्यकालमा तपाइका नीति, योजना, कार्यक्रम र अवधारणा लागू गर्न पाउनु भएन भनेर फेरि दोहोर्याउन खोज्नुभएको हो ?
मेरा योजना, कार्यक्रम र अबधारणाहरु आशिंक रुपमा लागू भए । तपाइलाई एउटा उदाहरण दिउ । जस्तो एनआरएनए २००२ मा स्थापना भयो । त्यही बेलादेखि यसको सचिबालयमा काम गर्ने कर्मचारी थिए । म २०१५ मा महासचिब भएर आउँदासम्म १३ बर्षसम्म कुनै नीति नियमबिना नै उनीहरु काम गरिरहेका थिए । मैले तत्कालै कर्मचारी सम्बन्धी नीति नियम ल्याएँ । कर्मचारीलाई प्रोत्साहित गर्ने कार्यक्रमहरु ल्याएँ । मैले ल्याएकै कारण ती राम्रा कार्यक्रमहरु पारित भएनन् । एनआरएनएमा यो प्रकारका प्रबृत्तिहरु छन् ।

एनआरएनएका सदस्यहरुका लागि तपाइका के कस्ता योजना र कार्यक्रमहरु छन् ?
हो, तपाइले मलाई एउटै पदमा किन दोहोर्याउदै हुनुहुन्छ भनेर प्रश्न पनि गर्नुभयो । मेरो खास उद्देश्य भनेको एनआरएनएका साधारण सदस्यहरुको हितका कार्यक्रमहरु डेलिभर गर्ने भन्ने नै हो । हाम्रा साधारण सदस्यले २ बर्षमा केन्द्रलाई ५ डलर बुझाउँछ । त्यो ५ डलरको उसले के पाउँछ त भन्ने नै मेरो अबको लक्ष्य हो । देशमा विपद् आइपरेको बेलामा हामीले सामुहिक रुपमा केही सहयोग गर्न सक्यौं । बिदेशमा बस्ने नेपालीहरुले एक एक गरेर राखेको पैसा पठाएकै कारण यो सम्भव भएको हो ।

हामी नेतृत्वमा बस्ने मान्छेहरु त विश्वभरीका नेपालीले पठाएको पैसाले माला लगाएका हौं । उनीहरुले पठाएको पैसाले यहाँका मिडियामा हाम्रो फोटो छापिएको हो ।

प्रत्येक्ष रुपमा नेपाल आउन नसकेको ब्यक्तिले संस्थाको मार्फत पठाएको पैसा हो । हामी नेतृत्वमा बस्ने मान्छेहरु त विश्वभरीका नेपालीले पठाएको पैसाले माला लगाएका हौं । उनीहरुले पठाएको पैसाले यहाँका मिडियामा हाम्रो फोटो छापिएको हो । नेतृत्वमा बस्नेहरुले २/४ हजार डलर बढी हालेका हौला, बढी कुदेका हौला, त्यो हाम्रो कर्तब्य हो । वास्तवमा पैसा पठाउने मान्छेहरुलाई यसको क्रेडिट दिनुपर्छ । बैदेशिक रोजगारीमा जानेहरुको धेरै समस्या छन् । मेरै पहलमा बैदेशिक रोजगारीमा जानेहरुको संचयकोषको ब्यवस्था गर्ने नीतिगत ब्यवस्था भयो । तर, त्यसको कानुनी ब्यवस्था गर्न बाँकी छ । म महासचिब भएपछि यसको कानुनी ब्यवस्था गर्न पहल गर्छु ।

दोस्रो कुरा नेपाली नागरिकताको निरन्तरताको विषय छ । यो संस्था स्थापना भएदेखि नै हामीले यो बिषयलाई जोडदार रुपमा उठाएका छौं । संबिधानले त्यसलाई स्वीकार गर्यो । तर, त्यसका पनि ऐन, कानुन र नियमहरु बनेका छैनन् । यो २ बर्षको बीचमा हामीले दोहोरो नागरिकताको निरन्तरताका लागि उल्लेख्य काम गर्न सकेनौं । म महासचिब भएपछि संबिधानले ब्यवस्था गरेको दोहोरो नागरिकताको बिषयलाई कानुन भएर कार्यान्वयन गराउन पहल गर्छु ।

युरोप अमेरिका जस्ता देशहरुमा २०औं/३०औं लाख रुपैयाँमा लिएर विद्यार्थी भिसामा नेपाली लगिएको छ र त्यहाँ बिजोग पारिएको छ ।

तेस्रो कुरा क्षमतावान नेपालीहरु बिदेशमा काम गरिरहेका छन् । विश्वका प्रतिष्ठित विश्वविद्यायहरुमा पढाइरहेका छन् । अर्धदक्ष हाम्रा कामदारहरु मध्यपूर्व लगायतका देशहरुमा काम गरिरहेका छन् । बिदेशमा कार्यरत हाम्रा क्षमतावान ब्यक्तिहरुको क्षमता उपभोग गरेर ती अर्धदक्ष कामदारहरुलाई दक्ष बनाउन हामीले खुल्ला विश्वविद्यालयको कुरा गरेका छौं । यो बिषयमा पनि नेपाल सरकार सहमत भएको छ । खुल्ला विश्वविद्यालय स्थापना हुने भएको छ । खुल्ला विश्वविद्यालयको संचालक समितिमा ३ जना सदस्य एनआरएन हुने ब्यवस्था पनि गरिएको छ । यसलाई कार्यान्वयन गर्न पनि एनआरएनएको ठूलो सहयोग आवश्यक पर्छ । म यो बिषयमा पनि पहल गर्छु ।

चौथो कुरा बैदेशिक रोजगारीमा जानेहरुका समस्या साह्रै धेरै छन् । भिजिट भिसामा लगेर ठगिएको छ । युरोप अमेरिका जस्ता देशहरुमा २०औं/३०औं लाख रुपैयाँमा लिएर विद्यार्थी भिसामा नेपाली लगिएको छ र त्यहाँ बिजोग पारिएको छ । यस्तो ठगी न्यूनिकरणको लागि हामीले गर्नुपर्ने कामहरु धेरै छन् । बैदेशिक रोजगारीका समस्या समाधान गर्न छुट्टै विभागै बनाउनु पर्नेछ ।

पाचौं कुरा आगामी मंसिरमा सबै तहको निर्वाचन पूरा हुन्छ । निर्वाचनपछि संबिधानको पूर्ण कार्यान्वयन हुन्छ । त्यसको नेपालको लक्ष्य भनेको आर्थिक विकास र समृद्धिको यात्रा नै हो । त्यस्तो बेलामा हामी एनआरएनले धेरै लगानी नेपालमा ल्याउन सक्दैनौं होला । हामीले सक्ने जति लगानी नेपाल भित्र्याउने हो र विदेशमा हामीले आफ्नो पहलमा नेपालमा प्रत्यक्ष बैदेशिक लगानी भित्र्याउन भूमिका निर्वाह गर्ने हो । त्यस्तो बेलामा हाम्रो भूमिका महत्वपूर्ण र आवश्यक पनि हुन्छ । यस्ता कामहरुको ब्यवस्थापनको लागि नै मैले फेरि महासचिब पदमा उम्मेदवारी दिने निर्णय गरेको हूँ
source -clickmandu