4 Mangshir, 2074 | 20 November, 2017 Monday
तीतोपाटी डट कम – कुवेतमा रहेका विदेशी कामदारहरु तथा तिनका परिवारहरुलाई दिँदै आएको स्वास्थ्य सेवा शुल्क ह्वात्तै बढेको छ ।  यस अघि निःशुल्क जस्तै गरि स्वास्थ्य सेवा उपलब्ध गराएको कुवेतले कुवेत सरकारलाई प्राप्त हुने स्वास्थ्य विमाको रकम भन्दा कैयौं गुणा बढी खर्च भई आर्थिक भार बढ्दै गएकोले स्वास्थ्य सेवा शुल्क बढाएको बुझिएको छ । स्थानिय सोसियल मिडिया कुवेत पेजमा जनाए अनुसार स्वास्थ्य सेवा शुल्क बढाएपछि सरकारी अस्पताल र प्राइभेट क्लिनीकको स्वास्थ्य सेवा शुल्क बराबरीको हाराहारीमा पुगेको छ । 

हिजो अक्टोबर १ तारिक २०१७ बाट लागु गरिएको सो नियमका कारण सरकारी अस्पतालमा आउने बिरामीहरुको संख्या घटेको छ भने विश्व बजारमा स्वास्थ्य सेवासँग सम्बन्धित औजार र औषधीको मुल्य बढेकाले सेवा शुल्क बढाएको बुझिएको छ ।

कुवेत पेजमा देखाइएको उपचार तालिका अनुसार स्वास्थ्य सेवालाई ३ किसिमले बर्गीकरण गरिएको छ । जस अनुसार 

१. प्राथमिक स्वास्थ्य सेवा
परिवर्तित नियमानुसार सामान्य रुपमा क्लिनिकमा चेक जाँचका लागि २ केडी
सरकारी अस्पताल र शिक्षण अस्पतालहरुमा ओ.पि.डि. चेक जाँचका लागि १० केडी
आकस्मिक सेवाका लागि ५ केडी
भर्ना भई बस्नु पर्ने बिरामीका लागि एक दिनको सामान्य बेड शुल्क १० केडी
भर्ना भई बस्नु पर्ने बिरामीका लागि एक दिनको प्राइभेट बेड शुल्क ५०केडी
आइ.सि.यु. राखिने बिरामीका लागि एक दिनको शुल्क ३० केडी
भर्ना भई अस्पतालमा बस्नु पर्ने बिरामीहरुले एक्स–रे, ल्याब तथा सर्जिकल सेवा शुल्क छुट्टै  तिर्नुपर्नेछ ।
ओपिडि तथा आकस्मिक तर्फको चेक जाँच अन्तरगत गरिने सामान्य एक्स–रे, फलोअप र औषधीका लागि भने अतिरिक्त शुल्क लाग्ने छैन तर ल्याब सेवाका लागि भने छुट्टै शुल्क लाग्ने छ ।

२. प्रसुति सेवा
डेलीभरीका लागि
प्रवेश शुल्क १० केडी
सामान्य डेलिभरी शुल्क ५० केडी
सामान्य डेलिभरी शुल्क तिरे वापत डेलिभरी, औषधी, भिडियो एक्स–रे, ३ रात सम्म बस्न पाइनेछ । ३ दिन भन्दा बढी बस्नु पर्ने भएमा सामान्य बेडको प्रतिदिन १० केडी अतिरिक्त शुल्क लाग्नेछ भने प्राइभेट बेडका लागि प्रतिदिनको ५० केडी अतिरिक्त शुल्क लाग्ने छ ।



३. मुटुरोग लगायतको सेवा
मुटु सम्बन्धी चेक जाँच र अनुसन्धान शुल्क ९० केडी 
स्टेन्टीङ शुल्क २५० केडी
मुटु उपचार सम्बन्धी ल्याब सेवा, औषधी, एक्स–रे, अस्पताल भर्ना शुल्क भने छुट्टै लाग्ने छ ।

बढाएको सेवा शुल्क अनुसार सामान्य रुपमा क्लिनीकमा जाँदा २ केडी शुल्क लाग्नेछ भने यस अघि स्थानिय क्लिनिकमा चेक जाँच गर्दा १ केडी शुल्क बुझाए पुग्दथ्यो । त्यसै गरी सरकारी अस्पताल र शिक्षण अस्पतालहरुमा ओ.पि.डि. चेक जाँचका लागि १० केडी शुल्क तोकिएको छ  । 

कुवेतमा  हाल कुवेती नागरिक र विदेशी कादार गरेर जम्मा जम्मी ४३ लाख मानिसहरु बस्छन् जसमा १३ लाख कुवेती नागरिक र ३० लाख विदेशी कामदार तथा उनीहरुका आश्रित परिवार ररेका छन्

कुवेत सरकारलाई इन्स्योरेन्स शुल्क वापत कम्पनी कामदारका लागि  प्रति व्यक्ति ५० केडी, पारिवारीक भिसाका लागि प्रति व्यक्ति ४० केडी र साना बच्चाहरुका लागि प्रति व्यक्ति ३० केडी वार्षिक शुल्क प्राप्त भइरहेको हुन्छ तर पनि सरकारले विदेशीहरुका लागि स्वस्थ्य सेवा शुल्क बढाउँदा तल्लो तहमा काम गर्ने विदेशी कामदारहरु धेरै मर्कामा पर्ने निश्चित छ ।