7 Mangshir, 2074 | 23 November, 2017 Thursday
केदार नाथ खरेल-

       संयुक्त राष्ट्र संघले सन् २००७ बाट महात्मा गांधीको जन्मदिन (२ अक्टूबर) लाई विश्व अहिंसा दिवसको रूपमा मनाउने प्रस्ताव पारित गरेको हो। अहिंसाको नीतिको माध्यमबाट विश्व भरमा शांतिको सन्देशलाई अग्रता दिने महात्मा गांधीको योगदानलाई कदर गर्दै यस दिनमा अन्तरराष्ट्रीय अहिंसा दिवसको रूपमा मान्ने फैसला गरिएको थियो।

    यस सिलसिलामा संयुक्त राष्ट्र महासभामा भारतले राखेको प्रस्तावलाई व्यापक समर्थन मिलेको थियो। महासभाका जम्मा 191 सदस्य देशहरु मध्येबाट 140 ले भन्दा पनि धेरै देशहरुले यस प्रस्तावलाई समर्थन गरेका थिए।

     यसमा अफगानिस्तान, नेपाल, श्रीलंका, बांग्लादेश, भूटान जस्ता भारतका छिमेकी देशहरु बाहेक अफ़्रीका र अमेरीका महाद्वीपका कयौं देश शामेल थिए । वर्तमान विश्व व्यवस्थामा अहिंसालाई सार्थकता मान्दै बिना मतदान नै सर्वसम्मतिबाट यस प्रस्तावलाई पारित गरि दिएको थियो।

      तर खेदको कुरा यो छ कि विश्वमा शान्तिको सन्देश दिने गौतम बुद्धलाई हामी शान्तिको प्रवर्तक मान्दछौं तर पनि शान्तिको प्रणेता गौतम बुद्धलाई हामीले चिनाउन सकेनौं त्यो हाम्रो देशका नेताहरुको ठूलो कमजोरी हो, जो तत्कालिन महासभामा नेपालको प्रतिनिधीत्व गरी सामेल भएका थिए । 

     अर्कोतर्फ शान्तिका प्रवर्तक गौतम बुद्ध जन्मेका यो पवित्र भूमिमा राजनीतिक परिवर्तनको बाहनामा कयौं निरअपराधी व्याक्तिको ज्यान गएको छ । हाल बर्मामा रोहिंग्या मुस्लिम माथि भएको जातिय सफाया हिंसा होस् या सिरिया माथि भएको हिंसा होस् या इराक माथि अमेरिका लगायत अठ्ठाइस राष्ट्रले मिलेर गरेको युद्धमा नै किन नहोस्। यही युद्धको आगो हाल श्रीलंकामा सल्किने संभावना छ । दुई दिन पहिले श्रीलंकामा बुद्धिष्ट समूदायले मुस्लिम समूदायको घर र मस्जिद जलाई दिएको घटनाले हिंसा भड्किने संभावना रहेको छ । 

     जबसम्म निर अपराधी, निःहस्था नागरिक र अवोध बालबालिकाको हत्या हिंसा रोकिंदैन तबसम्म विश्व हिंसा दिवसको अवसरमा महंगो पार्टी प्यालेसमा लाखौं खर्च गरी गोष्टि र सेमिनार गरेर केही उपलब्धी हुने छैन । 

      आज विश्वले मनाउने अहिंसा दिवस चाँही विश्वमा कुनै पनि राजनैतिक या सामाजिक परिवर्तन या रुपान्तरणका लागि हिंसाको मार्ग अवलम्बन नगर्ने भन्ने सिद्धान्तमा आधारित छ । नेपालमा पनि आजसम्म बिभिन्न कालखण्डमा आन्दोलन र जनचासोका कुरामा धेरै जना शहिद भएका र हिंसा भएको उदहारण र प्रमाणहरु छन् । राणा बिरोधी आन्दोलन होस् या राजसंस्था हटाउने क्रान्ति, पेट्रोलको मुल्यबृद्धिको आन्दोलन होस् या आमरण अनसनका श्रृंखलाहरु, कुनै न कुनै रुपमा परिवर्तनका बाधक तत्वहरु र यथास्थितीवादी सोचले परिवर्तनको बिरोधमा हिंसा छेडिरहेका हुन्छन् । 

     सञ्चारका माध्यम देखि संयूक्त राष्ट्र संघ सचिवालय सम्म यस दिवसले एउटा लहर फैलाँउदछ । संयूक्त राष्ट्रसँघको हेडक्वाटर अमेरिकाको न्यूयोर्क अगाडि कलाकार कार्ल प्रेडरिक रुटेसवार्डले बनाएको एउटा कृती जसमा वन्दुकको नाललाई वाङ्गो वनाएर वाँधिएको छ, यो नै विश्व प्रसिद्ध अहिंसाको घोतक कलाको रुपमा मानिन्छ । 

     एउटा हिंसारहित समाजको परिकल्पना त्यतिवेलामात्र सम्भव छ जतिवेला हामीले हाम्रो बालबच्चाहरुलाई अहिंसाको महत्व बुझाउन सक्छौ, आउनुहोस् आज हामी जहाँ छौ त्यहीबाट तपाई हामी चाहे विकसित देशमा छौँ । 

      अहिंसा, क्षमा अनि समानताका शान्तिघोतक विगुल शुरुवात हुने हो भने ? संसारबाट रङ्ग, राष्ट्रियता, धर्म, भाषा, अनि अन्य थुप्रै कुराहरुका आधारमा गरिने हिंसा नभइदिने हो भने ? अमेरिका स्वतन्त्र सग्रामका महासेनानी मार्टिन लुथर किँग जुनियरले पनि परिकल्पना गर्दै काला, गोरा, खैरा सबैजना एउटै टेबलमा बसेर खाना खाने दिन, हाँसोको दिन अनि समानताको दिनको ब्याख्या गरेका छन् । 
नेपालले आजको दिनबाट सिक्न पर्ने कुरा हरु धेरै छ । विरोध जनाउन र सम्बन्धित निकायमा साँच्चै दबाव दिन नेपाल बन्द गर्ने अनि तोडफोड गर्नु पनि सामाजिक न्याय र परिवर्तनका लागि हिंसाको प्रयोग नै हो । आजको दिनले आफ्ना आवाज र मुद्दाहरुलाई अनुहार दिनका लागि अहिंसात्मक बाटो रोज्न आव्हान गर्दछ । 

    काठमाडौमा माईतीघर मण्डलाले अहिंसात्मक आन्दोलन र आवाजहरु देखाउन प्रदर्शन र प्लेकार्डहरु देखाउने आधार पाएको छ । अहिंसात्मक आन्दोलन र अभियानहरु सुन्ने निकायले पनि संशेदनशीलता सहित सुनिदिन र सम्बोधन गरिदिन जरुरी छ, हिंसा कहिले पनि अन्तिम बिकल्प हुन हुँदैन्, हिंसा रोक्दै अहिंसा नै निर्बिकल्प तथ्य हो ।