4 Mangshir, 2074 | 20 November, 2017 Monday
बेचिएकी चेलीको दशैं(कथा)
2017-09-30 | तीतोपाटी डट कम
कल्पना खरेल - हरेक वर्ष विजयादशमीले मेरो मनमस्तिष्क पलपल मेरो देशमा पुर्‍याउँछ । कल्पनामा हराउँछु, रमाउँछु । तर, कल्पनाबाट बाहिर निस्कँदा भक्कानिन्छु । सात समुद्र पारिबाट झलझली देख्छु मेरो प्यारो देश, अनि मेरो प्यारो गाउँ ।

ओहो ! दशैँको आगमन । वर्षायामले विश्राम लिएर शरद् ऋतुले स्वागत गरिरहेका बेला बिनाबादल नीलो गगन खुला होला । शीतलताले स्पर्श गरिरहेछ होला । बिहानीपखको सौन्दर्यले दशैंको महशुस गराइरहेको होला । पाखापखेरा खेतीपाती हरियाली भए होलान् । लहलह धान पसायो होला । मखमली, सयपत्री, फूलहरु ढकमक्क फुल्दै छन् होला । गाउँमा दशैंको रौनक छाएको होला ।


लिंगे पिङमा युवायुवती मच्चिँदै होलान् । मेरा सहेली गीता, संगीता, माया, मुना पिङ खेल्दै होलान् । झिसमिसेमै मन्दिरका शंख, घण्ट बज्दै होलान् । सबैजना बिहानै नवदुर्गा भवानीको पूजापाठमा व्यस्त होलान् । घरघरमा जमरा उमि्रसके होलान् । शहर गएका सबै दाजुभाइ, दिदीबहिनी गाउँ फर्के होलान् । मेरो प्यारो देश दशैंको हर्सोल्लास, उमंगले गद्गद् होला । नेपाल आमा मुस्कुराइरहेकी होलिन् ।

यो परदेशमा मलाई भने जब चाड आउँछ, झनै ताजा भएर घरदेशको याद आउँछ । खाडीको मरुभूमिमा म बन्दीझैँ छु । हरेक पलपल मर्माहत हुन्छु, भकानिन्छु । अझ मेरा मुटुका टुक्राहरुको यादमा हरपल मुटु धड्किरहन्छ । यो चाडको बेलामा ती टुहुरिएका मनहरुले मलाई कति सम्झे होलान् । सकी-नसकी अरुको दुव्र्यवहार सहेर नाबालकहरुले पेट पाल्न बालश्रम गर्दै होलान् । मैला फाटेका कपडा लगाएका होलान् ।

आफूले आफैसँग सोध्छु, म कसको खुशीका लागि बालक हृदयलाई अलपत्र छाडेर आएँ ? मैले छाडेर आउँदा तिनीहरुले सुख पाएका छन् त ? मनले भन्छ- तुरुन्तै फर्केर जाऊँ, भाग्यले जे जुराउँछ त्यही खाऊ । बुद्धिले भन्छ- हतार नगर । जीवन भावुकताले मात्रै चल्न सक्दैन । उनीहरुलाई मैले नै भोलिको दिन उज्यालो बनाइदिनुपर्छ ।

आफैँ आफ्नो परिस्थितिलाई धिक्कार्छु । मनमनै ती अबोधसँग माफी माग्छु । आफैँ टुक्रा टुक्रा भएर टुक्रिन्छु । आमा भएकोमा आफैँलाई ग्लानी हुन्छ । जसरी खाडीको मरुभूमिमा आँधीबेहरी आउँछ, उसरी नै मेरो मनमस्तिष्कमा हुरीबतास चल्छ, भुइँचालो जान्छ र म थोत्रो घर भत्किएझैँ भत्किन्छु । स्वयं आफ्नै मनभित्र उजाडिन्छु । कृष्णभीरमा पहिरो गएको जस्तै मनमा पहिरो जान्छ । त्रिशूली नदीमा बस दुर्घटना भएको जसरी मेरा मनको पर्खालभित्र नकापमा खुम्चिएका चाहना कल्पनाहरुका दुर्घटना हुन्छन् र तिनले मृत्युवरण गर्छन् ।

जिउँदो लास भएर बाँचिरहेकी छु म आफ्ना लागि र आमा भइकन पनि नभएकै सरह छु, मेरा मुटुका टुक्राहरुका निम्ति । दशैंको रौनक चलिरहँदा जसरी बोकाले बलिको सामना गर्छ, उसरी नै मेरो कष्टकर भोगाइले हरपल मेरा भावनाको बलिको सामना गरिरहेछ ।

देशमा दशैं चाड । परदेशमा मेरो भने मनभरिको ज्वाला विस्फोट भइरहेको छ । गरिबीले रहेछ हार्ने । भाग्यले रहेछ मार्ने । समयले उतारचढावमा पार्ने । निर्धालाई नै दैवले पनि टार्ने । लाग्छ, अब त जीवन मृत्युतिरै सार्ने । पलपल जीवनभरि तड्पिएर जिउँदै मर्नुभन्दा एकैपटक जीवनको समाप्ति भएर मृत्युवरण गर्न सजिलो हुँदो होलाजस्तो लाग्छ । क्लान्त मनमा आज फेरि तिनै दिनहरुको ज्वलन्त यादले झसंग झस्काउँछ ।

देश परिवर्तन गर्ने र गरिबको हकहित, अधिकारको निमित्त लडेका थिए, मेरा प्यारा जीवनसाथी । द्वन्द्वमा दोहोरो भिडन्तमा परी उनको ज्यान गयो । मेरो सिन्दुर पुछियो । बालबच्चा टुहुरा भए । स-साना लालाबालाको जिम्मेवारी मेरो काँधमाथि थपियो । गरिबीको अझै गहिरो खाडलले थिचिरहृयो । गरिबीको कारण खान लाउन धौधौ भयो । महँगीले आकाश छोएको बेला दिनभरि ज्याला मजदुरी गर्‍यो, पेटभरि खान पनि मुस्किल । चार वटा बालबच्चा हुर्काउन निक्कै समस्याले घेरिरहृयो मलाई ।

एकदिन कुनै अज्ञात अधबैंसे मानिस घरमा आयो । सञ्चै हुनुहुन्छ बहिनी ? उसको बहिनी सम्बोधनले मेरो आफ्नै दाजु घरमा आएजस्तो लाग्यो । मनका पीडा अलि हल्का भए । पिँडीको छेउमा ‘बस्नु न’ भन्दै चकटी दिएँ । ऊ चकटीमा बस्यो । गाग्रीको चिसो पानी गिलासमा दिएँ । उसले पानी पियो ।

हँसिलो अनुहारको त्यो व्यक्तिले मिठासपूर्ण गफ सुरु गर्‍यो । उसका मिठासपूर्ण कुरा गर्ने शैलीले म निक्कै प्रभावित भएँ । कुरा गर्दै जाँदा मेरा दुःख, सुखका कहानी छरपस्ट भए । उसले बुझमान भएर हँमा हँ थप्दै गयो । मेरो कमजोरी पक्ष अझै निचोर्दै गयो । उसले भन्यो- बहिनी तिमीलाई धेरै दुःख रहेछ । तिमी विदेश जान्छ्यौ त ?

म अनपढ मान्छे कसरी विदेश जानु दाजु ? मलाई केही थाहा छैन । बाहिरका समाज देशका विषयमा अनभिज्ञ छु ।

उसले भन्यो- म सहयोग गरिहाल्छु नि । तिमी धन्दा नमान । विदेशमा मोटो रकम कमाउन सकिन्छ । सुन्दर जीवन बिताउन सकिन्छ । म तिमीलाई जसरी पनि विदेश लैजान्छु ।

मैले सोधेँ- विदेश जान कति पैसा लाग्छ ?

उसले भन्यो- ८० हजार मात्र ।

उफ ! त्यत्रो ८० हजार कहाँबाट ल्याउनु ?

उसले नै मलाई उपाय सिकायो । यो घरलाई सहकारीमा धितो राख । ऋण मिल्छ । विदेश गएर कमाउँदै ऋण तिर्नु ।

उसैले भनेको जसरी घर धितो राखेर सहकारीबाट ऋण निकालियो । ८० हजार उही विदेश लैजानेलाई बुझाएँ । उसले नै मलाई विदेशसम्म पुर्‍याएर आउने भयो । मलाई के खोज्छस् कानो आँखो भनेजस्तै भयो, सहयोगी भेटेर । हुन पनि, गाउँको धनबहादुर र रामुले विदेशबाट महिना महिनै मोटो रकम पठाइरहेको थाहा पाएकी थिएँ । उनीहरुको परिवारले सुखदायी जीवन यापन गरिरहेको देखेकी थिएँ । मैले पनि मोटो रकम कमाउने सपना देखेँ ।

निक्कै खुशी भएँ । बच्चाहरुलाई गाउँकै हुनेखाने धनीको घरमा काम गर्न राखिदिएँ । ती अबोधहरु गरिबीका कारण बालश्रम गर्न बाध्य भए । सोचेँ, यिनले पनि दुख पाउने केही वर्ष त हो । जीवनशैलीमा परिवर्तन आउने सपना देखेर म त्यही विदेश पठाउने दलालका साथ लागेँ ।

मलाई दलालले सिकायो । बोर्डरमा पुलिसले सोध्यो भने हामी दाजुबहिनी हौँ भन है । उसले जे सिकायो मैले त्यही भनेँ । उसले भारतको बाटो हुँदै तेस्रो मुलुक पुर्‍यायो । यहाँ आएपछि पो थाहा पाएँ । ओहो Û पत्तै नपाई म त आफ्नो पैसाले आफैँ बेचिएछु । मेरो जीवन अझै नरकमय बन्यो ।

उराठिलो छ, जता हेर्दा पनि मरुभूमि नै मरुभुमि । हरियाली शून्य छ । ५० डिग्रीभन्दा माथि गर्मी । कसैले बोलेको पनि बुझ्दिनँ । कालो मुख ढाक्ने नकाप लगाइदिएका छन्, मलाई । बाहिर हिँडडुल गर्न बन्देज छ । बिरानु मुलुकको यातनादायी जेलमा तड्पिँदै आँसु पिएर बाँचिरहेकी छु । उनीहरुले अराएको मैले बुझिनँ भने कोर्रा सहनुपर्छ ।

दिनभरि घरको काम । पेटभरि खाना पनि नदिने । राति भएपछि म सुतेको ठाउँमा भुसतिघ्रे पुरुषहरु पालैपालो आउँछन् । हररात मेरो अस्मिता लुटिन्छ । दिनभरिको घरधन्दाले क्षतविक्षत थकित भएर विक्षिप्तझैँ ढलेकी हुन्छु । फेरि रातभरिको यौनधन्दाले क्षण-क्षण मृत्युसँग कुस्ती खेल्न बाध्य पारिरहेछ ।

यस मरुभूमिमा आएको तीन वर्ष भयो । एक पैसा पनि पारिश्रमिक पाएको छैन । कारण मोटो रकम लिएर दलालले मलाई बेचेको रहेछ । म किनिएको पैसा मेरो शरीर लुछाएर असुल हुँदैछ । पशु समान बेचिएकी मैले न कसैसँग बोल्न सक्छु न कसैसँग प्रतिवाद गर्न सक्छु । आफ्नो देश फर्किऊँ भने पासपोर्ट आफ्नो हातमा छैन । कसरी म यो नरकबाट उन्मुक्ति पाउन सक्छु ? कहिलेसम्म नरकमय जीवन बिताइरहने हो ? यस्तै छ, मेरो दशैँ यहाँ ।

-अनलाइनखबर