3 Mangshir, 2074 | 19 November, 2017 Sunday
दसैं कसरी माैलिक बनाउने ?
2017-09-25 | तीतोपाटी डट कम
गोविन्द टण्डन - वर्षात्ले धुलोमैलो हटाएर आकाश स्वच्छ र सफा तुल्याएको, शरद ऋतुको कारण न जाडो न गर्मीको मनमोहक मौसममा पर्ने शारदीय पर्व विजयादशमीमा जताततै हरियाली, रंगीविरंगी विभिन्न फूलहरूले गर्दा वातावरण नै उल्लासमय हुन्छ । डाँडाकाँडा सबै हरिया देखिँदा आँखा नै शीतल बन्न पुग्छ गाउँबस्ती पुग्दा । त्यसमा पनि बिहानको सिमसिमे हुस्सुको लुकामारीले पहाड, उपत्यका रमाइलो बनेको हुन्छ । विद्यालय र कलेजमा छुट्टीका कारण केटाकेटी गाउँघरमा साथीभाइसँग भेटघाटमा व्यस्त हुन्छन् भने लिंगेपिङमा त्यत्तिकै रमाएका हुन्छन् । सहरी क्षेत्रमा केटाकेटी चंगा र अन्य मनोरञ्जनात्मक खेलकुदमा मस्त हुन्छन् । परदेशमा रहेकाहरू पनि घरका आमाबाबु, आदरणीयजनको आशीर्वाद थाप्न स्वदेश फर्कन्छन् ।

परिवारजनसँगको भेटघाट, मान्यजनको आशीर्वाद, सम्बन्धको नवीकरण, आत्मीयताको विकास पनि प्रमुख विशेषता हो भन्नैपर्छ दसैंको । विभिन्न परिवेशले महनीय बनाएको यस्तो चाड विश्वमा बिरलै पाइन्छ । यसमा सद्‌भाव, आत्मीयता, सम्मान र आदरको गूढ भावका साथै समाजीकरणको उदात्त भाव पनि समेटिएको छ ।

काठमाडौं खाल्डोको नेवार बस्तीमा नौरथाभर विभिन्न देवमन्दिरमा समूह-समूह भई एकाबिहानै परिक्रमा गर्दै हिँड्दा बजाइने बाँसुरी बाजा, मोहालीबाजा, झ्याम्टेबाजा र धिमेबाजाको धूनले दसैंलाई अरू आल्हादित तुल्याउँछ । त्यसमा पनि नेवारी समुदायका पुराना बस्तीमा विद्यमान मठमन्दिरतिर बज्ने माल श्रीको राग कम श्रवणीय हुँदैन । दसैंको वातावरणलाई अरू आल्हादित तुल्याउने यो परम्परा हिजोआज लोप हुँदै गइरहेको छ ।
 
दसैंभित्रको साधना पक्षमा, जीवात्मा भावलाई परमात्मामा समर्पण गर्नु र काम, क्रोध, लोभ, मोह, मद, मात्सर्यजस्ता आफूभित्रका दुर्गुणलाई त्याग्नु तथा कुनै इन्द्रिय विषयक अर्थात् आफूलाई नभइनहुने तर स्वास्थ्यलाई हानि गर्ने विषयवासनालाई त्यागी आत्मबोध प्राप्त गर्ने अवस्थामा पुग्ने अवसरको रूपमा लिइन्छ । तर आजभोलि यो साधनाको पक्ष हराउँदै जान थालेको छ ।

साथै विजयादशमीमा समेटिएको बिर्सनै नहुने पक्ष भनेको पूजा-अर्चना, साधना-टीका र आशीर्वाद, आपसी सद्‌भाव, सम्मान र साथसाथै मनोरञ्जन पनि गाँसिएको छ । पितृपक्षको समापनलगत्तै घटस्थापनादेखि सुरु हुने दसैं दिनको पर्व भएकोले दसैं भनिएको हो । नवरात्रभरि महालक्ष्मी, महासरस्वती र महादुर्गाको पूजा-आराधना गरी आफूमा भएका काम, क्रोध, लोभ, मोह, मद, मात्सर्यजस्ता पशुता र अवगुणलाई सदाको लागि त्यागेर त्यसमाथि विजय पाउने र आफूले आफंैलाई जित्ने पर्व हो विजयादशमी ।

तर यसभित्रको गूढ रहस्य बुझ्न नसक्दा यो पर्व विकृतिको अँध्यारो खाडलतिर जाँदैछ । दसैं हिजोआज खसी-बोका र च्यांग्राको ‘बलि’ दिने र मासु खाने पर्व झैं बन्न पुगेको दुःखलाग्दो छ । ‘बलि’ को अर्थ उपहार हो, चढाउनु हो, दिनु हो । मानिसलाई स्वार्थी बनाएर निकम्मा बनाउने भनेकै काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य आदि अवगुणले हो । यिनलाई सदाको लागि देवीदेवतामा उपहार चढाएर आफू दिव्य बन्न सक्नुपर्ने विजया दशमीको गूढ अर्थ भए पनि त्यसलाई नबुझेर पशुबलितिर मानिस आकर्षित हुँदै जानाले विजयादशमी पशुपक्षीको लागि दशाको पर्व बन्न पुगेको छ ।

पशुबलिले हिंसालाई प्रोत्साहन दिइरहेको छ । हिंसाभित्र निर्दयता, क्रूरता र पाशविकताले स्थान पाएको हुन्छ । मानवीयता त्यहाँ देख्न पाइन्न । विश्वका विभिन्न धर्ममा कुनै न कुनै प्रकारले पशुहत्याले स्थान पाएको छ । पहिले आफ्नो धर्मसंस्कृतिमा छिरेको विकृतिलाई हटाउन, घटाउन लागेर तत्पश्चात् अरूका बारेमा बोल्नु ठीक भएकाले आफूलाई हिन्दु धर्मका अनुयायी भन्न चाहनेहरूले संस्कार, संस्कृति र परम्पराको नाममा चलेका यस्ता विकृतिलाई जरैदेखि हटाउन प्रयत्न गर्नुपर्छ । सुरु सबैभन्दा पहिले आफैंले गर्नुपर्छ ।

संसारकै सबैभन्दा पुरानो मानिने ऋग्वेदमा पशुबलिको कुरा कहीं पनि गरिएको छैन । यजुर्वेदमा पनि ठाउँठाउँमा कुनै पनि पशुपक्षीलाई मार्न नहुने बताइएको छ । त्यहाँ भनिएको छ— पशून् मा हिंसात् सर्वाणी भूतानि । त्यसैगरी शतपथ ब्राह्मण (१।१।४।५) मा बताइएको छ कि एक प्राणीले अर्को प्राणीको हिंसा, मारकाट गर्नु हुँदैन— नेदन्योक्न्यं हिनुसात । जति पनि प्रमुख शास्त्रहरू छन् तिनमा अहिंसालाई नै प्राधान्यता दिएको पाइन्छ । वराहपुराणमा भनिएको छ— अहिंसा परमो धर्म यतो धर्मस्ततो जय । स्कन्दपुराणमा अरू स्पष्ट पार्दै बताइएको छ- जुन धर्ममा दया छैन, त्यो दूषित हुन्छ । दया नभई न विज्ञान (ब्रह्म) को प्राप्ति हुन्छ न धर्मको नै प्राप्ति हुन्छ ।

यस्मिन् धर्म दया नैव स धर्मो दूषितो मतः ।
दया विना न विज्ञानं न धर्मो ज्ञानमेव च ।।
देवीभागवतले पनि अरू स्पष्ट रूपमा भनेको छ— दया सम नास्ति पुण्यं पाप हिंसा समं नहि अर्थात्, दयाजस्तो पुण्य अर्को छैन, हिंसाजस्तो पाप अर्को छैन । विजयादशमी असत्यमाथि सत्यको विजय पर्वको रूपमा पनि हेरिन्छ । नेपालमा देवीको अनुष्ठान ज्यादा हुने गरेको छ भने छिमेकी मुलुक भारतमा भने रामको रावणमाथि विजय प्राप्तिको पर्वको रूपमा जताततै रावणको पुतला दहन गरेर मनाउने चलन छ । गुजरात, महाराष्ट्रतिर कहींकहीं जमरा राख्छन् तर नेपालमा जस्तो आफन्तजनकहाँ जाने र प्रसाद ग्रहण गर्ने चलन छैन ।

नवरात्रभर उता आफ्नो आत्मबोधको लागि साधनामा जोड दिन्छन् यता विजयादशमी भनेको महिषासुरमाथिको विजय हो भन्ने सामान्य अर्थलाई बुझेर राँगा, बोका, भेडा, च्यांग्रा, हाँस, कुखरा, परेवाको बलि दिन उद्यत् हुन्छन् । हरेक मानिसमा दुई प्रवृत्ति अन्तर्निहित भएको हुन्छ— राक्षसी प्रवृत्ति र दैवी प्रवृत्ति । हाम्रा हरेक धार्मिक कृत्यहरूको मूल उद्देश्य दोस्रो प्रवृत्तितर्फ लाग्न प्रेरणा देओस् भन्ने हुन्छ । अबोध, निरपराध, लाटासुधा पशुपक्षीलाई बलिको नाममा मारेर, काटेर, हत्या गरेर के दैवी प्रवृत्ति जाग्ला ? सोचनीय छ ।

सनातन हिन्दु धर्मको मुख्य सिद्धान्त भन्नु नै आफूलाई जे प्रतिकूल लाग्छ, त्यो अरूलाई पनि लाग्छ । त्यसैले त्यस्तो कर्म कदापि नगर्नु भन्ने शास्त्रको उद्घोष छ—आत्मन् प्रतिकूलानि परेषां नसमाचरेत । धर्मपूर्वक गरिएको कर्महरूबाट मात्र हिन्दु धर्मले भनेको धर्म, अर्थ, काम, मोक्षको प्राप्ति हुन सक्छ । जीवनको अन्तिम लक्ष्य ईश्वर प्राप्ति वा आत्मसाक्षात्कार तब सम्भव छ जब साधक सात्विकतामा रमाएर ‘बसुधैव कुटुम्बकम्’ को माध्यमबाट ‘सृष्टिका सम्पूर्ण प्राणीहरू आफ्नै स्वरूप हुन् । तिनीहरू भन्नु म आफैं हुँ, म नै त्यो हुँ’ को भाव यथार्थमा उदाउँछ र व्यवहार जगत्मा त्यसलाई लागू गर्छौं।

भुरे र टाकुरे राजारजौटाहरूको जगजगी भएको बेला सदैव सतर्क भई बस्नुपर्ने र त्यसको लागि राज्यका विभिन्न अंगका व्यक्तिहरूलाई खुसी पारेर राख्न चाडपर्व, पूजा र दसैंको नाममा पशुबलिको विधान भित्याइयो र तिनको वितरण राज्यका विभिन्न अंगसँग सम्बन्धित व्यक्तिहरू, भाइभारदार, वरपरका आसेपासे, कोट र मौलाको नामले सेना र सुरक्षासँग सम्बन्धितहरूलाई त्यसैमा अल्मलिएर बस्न सक्ने तुल्याउने परिपाटीको सूत्रपात नजानिँदो किसिमले हुन पुग्यो ।

कतिपय देवीदेवताका मन्दिर र पीठहरूमा पूजाको नाउँमा वर्षैभरिका विभिन्न तिथिपर्वमा पशुबलि दिने र ती कटुवा पशुपक्षीहरू पुजारी, भण्डारी, रैरकमी, पाले, कुचिकार आदिको भागमा धेरथोर जाने हुनाले त्यस्ता कृत्यहरू नराम्रो भए पनि राम्ररी नै संरक्षण, संवद्र्धन हुने भइहाल्यो । मठमन्दिरहरू पाताल हुने अवस्थामा छन् । पशुबलि सजधजसाथ चलिरहेको छ । त्यसको विरुद्धमा को बोल्ने ? भयो यस्तै । देशका राजगुरुज्यू, पुरोहित जे भनौं, कि राजदरबारका कि सिंहदरबारका यस्ता अनेकन कृत्यहरूका साक्षी बसेकाहरूले पशुबलि नराम्रो हो भन्ने जान्दाजान्दै पनि त्यसलाई समर्थन गर्ने भइहाले।

सर्वसाधारणको विश्वास जगाउन कतिपय विकृतिलाई पनि धर्मसंस्कृतिको जामा पहिर्‍याइयो । टाठाबाठा, केही धूर्त, पाखण्डी पण्डितहरूले त्यसमा जलप लगाउँदै गए । कालान्तरमा, समयको कालखण्ड बित्तै जाँदा त्यही परिपाटीका आधारमा साहित्य सिर्जना गर्ने काम हुँदै गयो । सत्तामा बस्नेहरूले पनि त्यसलाई मलजल गर्ने काम गरे ।

किनभने देवीदेवतालाई पशुबलि दियो भने राजकाज अटल हुन्छ भन्ने स्वार्थले उनीहरूलाई त्यसमा आकर्षित तुल्याइयो । सत्ताधारीलाई रिझाउन साहित्य सिर्जना हुने काम भयो । शास्त्र बन्ने क्रम पनि यसरी नै बढ्दै गयो । शास्त्र लेख्नेहरूले द्वैयार्थक हुने गरी ‘हो पनि होइन पनि’ को भाषामा कतिपय कुरा लेखिदिए र आफूलाई दोषबाट बचाउने काम गरे ।

दुर्गासप्तशतीकै कुरा गरौं, सात्विक र पहुँचमा पुगेका विद्वान्‌हरू त्यहाँ उल्लेख भएका सुरथ राजालाई विषयभोगलाई ठूलो ठान्ने अज्ञानी, सुमेधा ऋषिलाई आत्मज्ञानी, समाधि वैश्यलाई विषयभोगलाई तुच्छ सम्झने व्यक्ति, मधुकैटभलाई शारीरिक विकार, विकृति र कमजोरीको प्रतीक, महिषासुरलाई क्रोधको प्रतीक, शुम्भनिशुम्भलाई विषयसुख र अहंकार, धुम्रलोचनलाई आलस्यको प्रतीक, चण्डमुण्डलाई रागद्वेषको प्रतीक, रक्तबीजलाई वासनाको प्रतीक सम्झेर त्यसबाट साधक निवृत्त हुन सके जीवभावबाट परमात्मभावमा पुग्न सजिलो हुने भएकाले नवरात्रिमा दुर्गासप्तशतीको अनुष्ठान गर्छन् । तर यस्तो गहनता बुझ्नेहरू कति नै हुन्छन् ? उनीहरू दुर्गामाताले विभिन्न नामका राक्षसहरूलाई मारेको भन्ने बाह्य कथाको आधारमा महिषासुर भनेको राँगाभैंसी सम्झी तिनै निरीह पशुपक्षीलाई देवीदेवताको अगाडि मार्नु, काट्नु नै उनीहरूको पूजा हो भनी अल्मलिएका छन् ।

अहिले स्थिति बदलिएको छ, परिस्थिति परिवर्तन भएको छ र वातावरण फेरिएको छ । दसैंलाई सबै नेपालीको महान् चाड बनाउँदै यसलाई मांगलिक बनाउने हो भने केही न केही नवीन कार्यहरू गर्नैपर्ने हुन्छ । नौरथाको नौ दिनलाई साधना गर्ने महान् अवसर सम्झेर मठमन्दिर, गुम्बा, विहार, विद्यालय, कलेज, विश्वविद्यालय आदिमा प्रतिभासँग सम्बन्धित विभिन्न धार्मिक—आध्यात्मिक, विज्ञानसम्मत ज्ञान सिक्ने—सिकाउने, योग, ध्यान, प्राणायामजस्ता आत्मिक साधनाका खुट्किला युवामाझ पुर्‍याई यसको महत्व उजागर गर्ने तथा हाम्रो जीवनसँग जोडिएका धर्म-अध्यात्मका जीवनदायिनी पक्षहरू सिक्ने÷सिकाउने पावन अवसर बनाउन सके कस्तो हुन्थ्यो होला ?

साथै अरू अनेकन् मानवीय पक्षको संवद्र्धन हुने किसिमका अनुष्ठानहरू यस पावन अवसरमा गर्न÷गराउन सरकारले मद्दत गर्ने, जनताले साथ दिने । आपसमा सद्‌भाव, मैत्री बढाउने किसिमका जीवनोपयोगी कार्यक्रम देशभर सञ्चालनमा प्रोत्साहन दिने, आत्मिक लाभ हुने किसिमका साधनाका कार्यक्रम यस्ता अवसरमा गर्दै ‘अहिंसा परमो धर्म’ भनेर उद्घोष गर्ने शान्तिका अग्रदूत, अहिंसाका पूजारी गौतमबुद्धको देश, जनक, जानकी र भृकुटीको देश नेपाललाई आध्यात्मिक रूपले पुनः जागृत तुल्याई विश्वमा प्रतिष्ठित तुल्याउने अवसर सम्झेर त्यही अनुकूलका कार्यक्रम, योजना ल्याउन सके साँच्चै विजयादशमी सबैको लागि मांगलिक पर्वको रूपमा प्रतिष्ठित हुने थियो ।