4 Mangshir, 2074 | 20 November, 2017 Monday
अाहा ! त्यो दसैं
2017-09-25 | तीतोपाटी डट कम
दीपक घिमिरे - रनेदाइले खाडीबाट पठाइ दिएको रातो भेस्ट लगाएर फूलमान दगुर्दै मेरो घरतिर आयो । मेरा बाले फूलमानलाई रोक्दै भन्नुभो– ‘ओ हो ! पिलेनबाट उडेर आ’को लुगा लाएको रैचस्, उड्ने भैस अब ।’ 
ऊ खुशीले झन् गदगद भयो । एक पटक भेस्टलाई तनक्क तान्यो अनि फेरि हातलाई गाडीको स्टेरिङ जस्तै बनाउँदै मुखले भुँऽऽऽऽ गरेर कुद्न थाल्यो । 

रनेदाइ लाउर हिँडेसी फूलमान सधैँ खुशी देखिन्च । ऊ कहिले राम्रा कपडा देखाउन हाम्रो घर आगनमा आउँछ त कहिले मीठा खाने कुरा देखायर लोभ्याउन । 

उसले दशैँको रौनक गाउँ घरमा छर्न थालेसी सम्झनामा आउँछन्, ती दशैँ । जुन दशैँमा हामी बाल्यअवस्थामा थियौँ । ऊ जस्तै रमाउँथ्यौँ । आजभोलि उसले मलाई ती दिनको दशैँको याद दिलाउँछ । जुन दशैँमा म पनि फूलमान जस्तै अबोध थिएँ । उसको जस्तै बालापनवाला दशैँको महत्व थियो । 

एक्कासि मानसपटलमा आएका ती दशैँको संस्मरण यहाँ उतार्दै छु ।

पल्लो डाँडामा रनेदाइले कल बोकेर हाम्रो घरतिर आउन लागेको देखेपछि सुरु हुन्थ्यो दशैँको रमाइलो पल ।  

बाले दशैँका लागि भनेर किनेका काचो कपडा ‘यो तेरो अनि यो मेरो’बाट सुरु हुन्थ्यो भाइ बहिनी बीचको झगडा । झगडा मिलाउन आमा न्यायाधीश बन्नु हुन्थ्यो । बा चैँ पिँढीमा बसेर कक्कड तान्दै भन्नुहुन्थ्यो– ‘जसलाई जुन नाम्रो लाग्या छ, त्यै लैजाओ, झगडा नगर ।’

बाहिर आगनमा ल्याएर खन्याइएका काँचो कपडा हामी लुछालुछ गरेर लान्थ्यौँ । अनि फेरि कोही राम्रो परेर हाँस्ने अनि कोही नराम्रो परेर रुने अवस्था आउँथ्यो । अनि फेिर बाले लगाएको नियम मान्न तयार हुनु पथ्र्यो । 
 
बाको नियमले सबैभन्दा मै ठगिन्थे । रोज्ने पालो कान्छोबाट सुरु हुन्थ्यो अनि मेरो पालोसम्म आइपुग्दा सबैभन्दा नराम्रो मेरै भागमा । 

अनि न्यायाधीश बनेकी आमाले सबैका लुगा थुत्दै भन्नुहुन्थ्यो– ‘जेठोबाट आउँछ पालो ! पालो मिच्न पाइँदैन । ल ठुले रोज, बाँकी भाइहरूलाई दे ।’

आमाको नियम सबैले पालना गर्न कर लाग्दथ्यो । आमासँग हामी सबै डराउँथ्यौ । बालाई खासै टेर्दैनथ्यौँ । किनभने बाले हामीलाई निक्कै माया गरेर होला, हामी पुल्पुलिएका थियाँै । 
 
कपडा छनौटबाट सुरु हुन्थ्यो हाम्रो दशैँको पहिलो रौनक । बाले ब्याजे खाजेर किनेका लुगामा हामीलाई दशैँको पहिलो खुशी मिल्दथ्यो । 

कपडा सिलाउने कल बोकेर आगनमा आइपुगेका रनेदाइ टुस्स बसेर आमालाई भन्थे– ‘खै एउटा दरी बिच्छ्याइदेऊ बजै ! अब सुरु गर्छु सिलाउन ।’
 
काँचो कपडाको उत्पात मीठो बासना, रनेदाइको कपडा सिउने मेसिनको टिक टिक आवाज अनि रनेदाइले फित्ता तन्काउँदै हाम्रो शरीर नाप्न थालेसी दशैँ घरभित्रै छिरेको महसुस हुन्थ्यो । हामी कहिले घरभित्र त कहिले घर बाहिर गर्दै रनेदाइको चर्तिकला हेथ्र्याै । उनी कहिले मेसिनका प्वालमा तेल हाल्थे त कहिले धागो बटारेर मेसिनभित्र घुसाउँथे । 

रनेदाइले यति गरिसक्दा एकछिन फेरि सुरु हुन्थ्यो भाइ बगालको झगडा !
हामी कसको कपडा पैला सिउने भन्ने विषयमा लड्थ्यौँ । हामी सबै रनेदाइलाई घेर्दै भन्थ्यौँ ‘पैला मेरो, उसको पछि ।’
 
यहाँ पनि आमाले न्याय दिलाउनु हुन्थ्यो तर पालो सानोबाट सुरु गरेर । त्यति बेला आमाले सबै छोराहरूको मन राख्न कहिले जेठाबाट त कहिले कान्छोबाट सुरु गर्नुहुन्थ्यो । 

हामी आज बुझ्दैछौँ, बाआमाका लागि सन्तान सबै बराबरी भन्ने कुरा । बाले कसैको मन नदुखोस् भनेर आफै बाँड भन्नुहुन्थ्यो, आमाले ठूलालाई आदर गर्न सिकाउँदै सानालाई माया गर्न सिकाउनु हुन्थ्यो । त्यो माया बुझ्न हामीलाई निक्कै समय लाग्यो । 

त्यो कपडा सिउने रनेदाइ ! अहिले खाडीमा छन् । ती रनेदाइ फूलमानका बा हुन्, जुन फूलमानलाई देखेर म मेरो बालापन सम्झिन्छु । 

रनेदाइ हाम्रा पुराना इष्ट हुन् । बाजेको पालादेखि उनकै सन्तानले हाम्रो कपडा सिउँछन् । रनेदाइका बा बाहिर हिँड्न नसक्ने भएसी रनेदाइले यो पेसा गर्न थालेका हुन् । उसो त रनेदाइका बा गाउँकै नामुद दमाई हुन् । आजभोलि घरमै बसेर सिउँछन्, घरघर पुग्ने जिम्मा रनेदाइको काँधमा आइपुग्यो । रनेदाइले दुई दशक कपडा सिलाए, कोही उँभो नलागेपछि लागे लेबर भिसामा कतारतिर । अहिले उनी कतारमा कमाउँछन्, यता फूलमान रङ्गीचङ्गी कपडामा रमाउँदै दशैँ मनाउँछ ।

अँ ! त्यो बेलाको दशँैको कुरा हुँदैछ । कपडा सिलाउन बसेका रनेदाइ मस्तै मजाका मान्छे थिए । उनी कहिले हामीलाई काउकुती लगाउँदै अलि टाढा भगाउँथे भने कहिले जिस्क्याउँदै भगाउँथे । कहिले काहीँ अलि बढी नै जिस्क्याउँथे, तुरीलाई चिमोटी दिँदै भन्थे– ‘बाउनका छाउराहरू ! बूढो भैसक्यौ, ब्या गर्ने हैनौँ तिमेरले ?’
 
हामी बच्चै थियौँ, हाम्लाई बिहे भनेकै थाहा थिएन । लजाउँदै भाग्थ्यौँ अलि परैसम्म । अनि फेरि रनेदाइको नजिक आएर भन्थ्यौँ– ‘रन्दाइ ! मेरो सटमा दुइटा गोजि हाल्दे है अनि पाइन्ट चै प्यारेलाल स्टाइलवाला ।’

उनी आँखा तर्थे, हेर्दा रिसायको भान हुन्थ्यो । अनि फेरि खिस्स हाँस्दै भन्थे ‘हस पुरेत बाजे ।’
 
दशैँमा नयाँ लुगा लगाउने मुख्य कुरा हुन्थ्यो उतिवेला । अनि मासु भातको आफ्नै महत्व । 

बाहिर आगनमा लुगा सिउँदै गरेका रनेदाइलाई मासु भात खुवायर खुशी पार्ने आमाको जिम्मा हुन्थ्यो । हामी चैँ आफ्नो भागमा मासु कम्ती पर्छ कि भनेर खुब डाहा गरेर बस्थ्यौँ ।

 त्यो बेला गाउँघरमा आफ्नै चलन थियो । गाउँभरिमा एउटा दुईवटा खसी बोका कट्थे । बाले दशँैको दिन दुई चार किलो मासु अर्डर गरे पनि अरु अघिपछि एक किलो मासु घर आउँथ्यो । झोल जति खाए पनि मासुका चोक्टा भाग लाग्थ्यो । कहिले हड्डी मात्र पर्यो भनेर झगडा हुन्थ्यो त कहिले अरूका ठूला चोक्टा देखेर । मासु खान चाडपर्व पर्खिनुपर्ने बाध्यता जस्तै थियो । 

यी उतिबेलाका दशैँ हामी अहिले बिर्सेका छैनौँ, तर कतिले चैँ भन्न लजाउँछौँ ।

 मलाई लाज लाग्दैन । किनभने त्यो बेलाको समाजै त्यस्तो थियो । दुईचार जना जिम्दारका घरमा खसी बोका ढालिन्थे तर अहिले जस्तो प्रत्येक घरमा खसी बोका ढल्थेनन् । बरु बोकाको आकारमा कुभिन्डो ढल्थे । बलि दिने परम्परालाई निरन्तरता दिन उहिले कुभिन्डोले बोकाको रूप लिन्थे, अहिले त बोकै ढल्छन् । 

उतिबेलाको दशैँलाई झझल्को दिने फूलमान छ । उसले दशैँको रौनक गाउँमा छर्न थालेपछि कहिले उसका बा रनेदाइको यादले दशैँको मिठास थप्छ त कहिले उतिबेलाको अभावपूर्ण दशैँलाई भुलाउन उसको रमाइलोले झस्क्याउँछ । 

हामी नयाँ लुगा लगाउन दशैँ कुथ्र्यौ, तर फूलमान आजभोलि एक दुई महिनाको फरकमा नयाँ कपडा बदल्छ । हिजो गाउँघरमै कपडा सिलाएर बस्ने रनेदाइ खाडी छिरेपछि नेपाल आउने साथी भेट्ना साथ कपडा पठाउँछन् अनि त्यही नयाँ कपडा लगाएर फूलमान हाम्रो आगनमा नाच्न थाल्छ । 

यो समाज परिवर्तन भएर होइन, समयसँगै आर्थिक परिवर्तनले ल्याएको खुशी होला सायद । त्यो बेला अभाव थियो तर पनि खुशी थियौ । आजभोलि फूलमानको खुशीभित्र मैले मेरो बाल्यकालको खुशी भेटाउँछु ।  ऊ आजको समयमा जति खुशी देखिन्छ, त्यति नै खुशी म मेरो बाल्य अवस्थामा थिएँ । त्यो बेला अहिलेको जस्तो आर्थिक अवस्था थिएन तै पनि ऊ जस्तै खुशी थिए ।

 वर्षमा एक दिन पाइने नयाँ लुगाले मलाई दशैँको महत्व बुझाउँथ्यो । बाले टीका लगाएर ‘छोरालाई दक्षिणा दिन हँुदैन, ल खुट्टा ढोगेर उता जा !’ भन्दै भाइलाई टीका लगाउन सुरु गर्दा रिसले मुरमुरिन्थेँ तर आजभोलि त्यो सम्झिँदा जीवनकै सबैभन्दा ठूलो खुशी त्यही हो जस्तो लाग्छ । 

दक्षिणाको पनि आफ्नै महत्व थियो त्यतिबेला । बुझ्ने भएपछि दक्षिणा लिन लाज लाग्दो रहेछ । तर त्यतिबेला जसले दक्षिणा दिँदैन उसको घरमा टीका लगाउन नजाने आफ्नै नीति नियम बनेका थिए । 

बाहरूको खलकले छोरालाई रुप्पेँ दिन हुन्न भनेर खुट्टा ढोगाएर पठाउने चलन थियो । तर आमाहरूको खलकले भान्जालाई अलि धेरै दक्षिणा दिनुपर्छ भनेर टन्न दक्षिणा दिँदै घपलक्कै ढोग्दिने आफ्नै चलन थियो ।  त्यसैले जहिले घरमा टीका लगाइसकेपछि मामा घर कुदिन्थ्यो । अनि कसले कति दियो, टुलुटुलु हेरिन्थ्यो । 

आजभोलि दक्षिणा समात्न लाज लाग्छ । तर त्यो मजा दक्षिणामा मिलेको रुप्पेँमा थिएन, त्यतिबेलाको दशँैमा थियो । आजभोलि ससुराली या मामाघर गएर निधार बेचियो भने एक महिना खर्च गर्ने पैसा कमाइन्छ होला तर टीका थाप्न बाकै खलकमा बढी धाइन्छ । अनि त्यतिबेला दशँैमा मामा घर धाएको सम्झिँदै मुसुमुसु हाँसिन्छ । यो चैँ त्यतिबेला दशैँमा दक्षिणाको महत्वका कुरा भए । 

समग्रमा भन्नुपर्दा चाडपर्वको महत्व बालापनमै हुन्छ । उतिबेलाको दशैँ सम्झेर कहिले काहीँ आँखा खुशीले नै रसाउँछन । आहा त्यो दशैँ ।

-रातोपाटी