7 Mangshir, 2074 | 23 November, 2017 Thursday
अञ्जिता पाण्डे - रातको दुई बजेको छ । म मेरो अस्पतालको ड्युटी रुमको झ्यालबाहिर हेर्दै टोलाइरहेकी छु । मनमा अनेक कुरा खेलिरहेको थियो । केही समयअघिको कुरा हो । त्यतिबेला चिकित्साशास्त्रको पाँचबर्से पढाइ र असाध्यै कठिन परीक्षा उत्तीर्ण गरेर प्रयोगात्मक अभ्यासको लागि इन्टर्नसिप सुरु गरेकी थिएँ । दैनिक आउँथे नयाँनयाँ चुनौती र अनुभव । त्यतिबेलाको एउटा घटना म कहिल्यै बिर्सन सक्दिनँ ।

एक दिन ३० वर्षआसपासका अप्लास्टिक रक्तअल्पताका एक बिरामी पुरुष मकहाँ आइपुगे । उनी हरेक तीन महिनामा आफ्नो शरीरमा रगत चढाउँदा रहेछन् । त्यसको लागि हरेक तीन महिनामा उनी १२ घन्टाको लामो दूरी तय गरेर तराईबाट हाम्रो अस्पतालमा आउँदा रहेछन् अनि रगत चढाएर फर्किंदा रहेछन् । उनको रगत रिपोर्ट हेरें । उनको हेमोग्लोबिन जम्मा ३.२ जीएम÷डीएल (सामान्य अवस्थामा हुनुपर्ने : १३.५-१५.५) अनि प्लेटलेट जम्मा ४००० र कम (सामान्य अवस्थामा हुनुपर्ने : १५००००-५०००००) रहेछ । प्लेटलेटको संख्या साह्रै न्यून भएकाले बिरामी उच्च जोखिममा थिए । उनको शरीरमा कुनै पनि बेला आन्तरिक रक्तस्राव हुनसक्ने खतरा बुझाउँदै उनलाई भर्ना हुन र कुरुवालाई रगतको जोहो गर्न अनुरोध गरें ।

उनले मलिन स्वरमा भने, 'हमारे साथ कोही नहीं है । हम अकेले आए हैं । खुन खुद लेकर आएंगे ।' आफूसँग कोही नभएकाले रगत आफैं लिएर आउने गरेको पनि उनले बताए । अस्पतालमा कुरुवाबिनाका बिरामीलाई भर्ना गरिँदैनथ्यो । उनी उभिएर बोलिराखेका थिए । त्यसमाथि उनको अवस्था कति गम्भीर थियो भने उनमा जुनै बेला पनि मस्तिष्कघात जस्तो गम्भीर जटिलता आइपर्न सक्थ्यो । मैले उनलाई 'कोही साथीभाइ भए फोन गर्नुस्' भनेर अनुरोध गरें । उनी झर्किए, 'क्या बात करते हैं डाक्टर सा'ब ! कल तक तो मैने खुद बोझ उठाया था । इतना लम्बा सफर करके आए हैं ।' उनको भनाइ थियो, 'हिजोसम्म म भारी उठाउँदै थिएँ र उति लामो बाटो तय गरेर यहाँसम्म आइसकेका छु ।' एक्लै अस्पताल भर्ना हुन र ब्लड बैंकसम्म पुगेर रगत ल्याउन उनलाई के समस्या !
 
मेरा सिनियर डाक्टरले उनलाई भर्ना गर्न मानेनन् र भने, 'कुरुवा छैन भने भर्ना हुन मिल्दैन । तपाईंलाई केही भयो भने भोलि तपाईंका आफन्तप्रति हामी जवाफदेही हुन सक्दैनौं । जानुस्, कुरुवा लिएर आउनुस् ।' ती बिरामी मुर्मुरिएर बाहिरिए, तर मेरो मनले मानेन । म उनको पछिपछि लागें अनि विनम्र भएर सोधें, 'तपाईंको कोही न कोही त होलान् नि काठमाडौंमा !' 'मेरा कोही भी नहीं है । होता तो लाता न ! माँ घर पे है । वह आँख भी नहीं देख सकती । उनको कैसे लाऊँ ? ' उनले काठमाडौंमा आफ्नो कोही नभएको बरु आफ्नो आँखासमेत नदेख्ने आमा तराईमै रहेको विवशता सुनाए ।

आखिरमा जति धेरै बिरामी बचाउन सकियो, उति धेरै आत्मगौरव र चर्चा हुने हो चिकित्सकको पनि । आफ्नो प्रतिष्ठा गुमाउन को चाहन्छ ? आफ्नो हातबाट मरोस् भनेर कुन डाक्टरले चाहला ?
मैले उनलाई एकछिन पर्खाएँ र सिनियर डाक्टरसँग सल्लाह गर्न गएँ । 'सर, यी बिरामी धेरै टाढाबाट आएका रहेछन् । यसपटक भर्ना गरिदिऊँ । रगत मै लिएर आउँला । अर्को पटकदेखि उसले कुरुवा ल्याउला नि त ।' उनले मप्रति सदासयता देखाउँदै भने, 'नानी, तिम्रो उमेरमा म पनि त्यस्तै सोच्ने गर्थें ।' तर नेपालमा कसैलाई उपकार गरौं भन्ने सोच राखियो भने अर्कै दु:ख मात्रै पाइँदैन, अपजस पनि भोग्नुपर्दो रहेछ । यो बिरामीलाई हामीले उपचार गर्दागर्दै केही होस् त, आज त उसको कोही छैन, भोलि पूरा गाउँ नै आइपुग्न बेर छैन । त्यतिबेला उनीहरूले तिमीले गरेको प्रयास कत्ति पनि देख्ने छैनन्।

तिमीलाई समयले सिकाउनेछ । जाऊ, इच्छा लागेको कुरा गर । त्यतिखेर मेरो मस्तिष्कमा गुन्जिरह्यो 'जाऊ इच्छा लागेको कुरा गर ।' मैले पनि आफ्नो अन्तरआत्माले देखेको गरें । ती व्यक्ति त्यहीं थिए । मैले भनें, 'जानुस्, भर्ना हुनुुस्, रगतको व्यवस्था म गर्छु ।' उनी आफ्नै मानसिक तनावमा भएर होला, उनले कत्ति पनि कृतज्ञता व्यक्त गरेनन् । सम्भवत: उनलाई यस्ता औपचारिकताका कुरा थाहा पनि थिएन होला । उनले सीधै मेरो हातबाट कागज खोसे अनि गए । सोचें, मलाई महिनावारी हुँदा त कस्तो झर्को लाग्छ । बिचरा यिनलाई त यस्तो रोग छ, नेभरमाइन्ड।

त्यो रात मैले ती बिरामीका आफन्त र डाक्टर दुवैको भूमिका निर्वाह गरें । चार पोका रगत चढाएपछि उनले भने, 'हम अब घर जाएंगे । और कुछ नहीं करना ।' रगत हालेपछि सीधै घर जान चाहे उनले । वर्षौंदेखि रगत चढाइरहेका ती पुरुषलाई आफ्नो रोग, जटिलता र उपचार पद्धति सबै थाहा थियो । एउटा डाक्टर भएर हेर्दा त्यस्तो गम्भीर अवस्थामा जान दिन नमिल्ने भए पनि उनको भावनाविपरीत जाने इच्छा भएन ।

मैले 'लिभ अगेन्स्ट मेडिकल अड्भाइस' (अस्पतालमा बस्नुपर्ने हुँदाहुँदै पनि बिरामीका अनेक समस्याका कारण बिरामीलाई छुटकारा दिने) को कागज बनाएर पठाइदिएँ । जाने बेलामा उनले 'आपको याद करेंगे, शुक्रिया !' भनेर पहिलोपटक मुस्कुराए । मेरो मन आनन्दित भयो ।

त्यतिबेला न म बिरामीको कुरुवाबाट पीडित थिएँ, न त हचुवा र गैरजिम्मेवार मिडिया रिपोर्टिङको । खुला मनले सेवा गर्न कत्ति पनि डर लागेन मलाई त्यतिखेर । तर आज मेरा ती सिनियर डाक्टरका शब्द बारम्बार याद आउँछन् । साँच्चै यो देशमा डाक्टर भएर सेवा दिन असाध्यै गाह्रो रहेछ । बिरामीका माग, कतिपय अवस्थामा कुरुवा र आफन्तको चेपाइ र एकांगी समाचार सामग्रीसँग जुध्दाजुध्दै दिन बित्छ ।

हरेक दिनजसो डाक्टरको खेदो खनिएका समाचार आइरहेका हुन्छन्, मानौं अस्पतालमा डाक्टर होइन, यमराज उपचार गरिरहेका छन् । सोसियल मिडियामा भाइरल भएका भिडियो र समाचार अनि त्यसमा आम जनताले पूरा कुरै नबुझिदिने अत्यन्त सतही प्रतिक्रिया । उफ !

अस्पतालको चौथो तलाबाट एउटा बिरामी हाम फालेर आत्महत्या गर्छ, 'चिकित्सकको लापरबाहीका कारण बिरामीले गुमाए ज्यान', 'झ्यालबाट खसेर बिरामीको मृत्यु' जस्ता शीर्षक बनाएर समाचार छापिन्छ । एउटी आमाले अस्पतालमा बच्चालाई दूध खुवाउने क्रममा सर्किन्छ । चिकित्सकले त्यस्तो बेला अत्यन्त जरुरी प्रक्रिया, कार्डियोपल्मोनरी रिससिटेसन गरेर बच्चालाई बचाउने भरपूर प्रयास गर्दछ र असफल हुन्छ । तर 'चिकित्सकले बच्चाको छाती थिचेर बिरामीको मृत्यु' भनेर समाचार सम्प्रेषण गरिन्छ ।

एउटा चिकित्सकको आफ्नो बिरामीप्रति कति सद्भाव हुन्छ भन्ने कुरा सायद चिकित्सकबाहेक अरू कसैले बुझ्दैनन् । ड्युटी सकेर घर आउँदा मनमा भर्ना भएका बिरामीलाई अलि सञ्चो भयो कि भएन भन्ने पिर लागिरहन्छ चिकित्सकलाई । आखिरमा जति धेरै बिरामी बचाउन सकियो, उति धेरै आत्मगौरव र चर्चा हुने हो चिकित्सकको पनि । आफ्नो प्रतिष्ठा गुमाउन को चाहन्छ ? आफ्नो हातबाट मरोस् भनेर कुन डाक्टरले चाहला ? तर नेपाली समाजले चिकित्सकबाट हुने 'लापरबाही', 'उपचारको जटिलता' र 'रोगको जटिलता' मा फरक छुट्ट्याउन जरुरी देख्छु ।

मैले जानेसम्म चिकित्सकले कुनै पनि बिरामीप्रति दुर्भाव राखेर या नियतवश उसको स्वास्थ्यमाथि खेलबाड गर्दैन । साँच्चै त्यस्तो गरिन्छ भने दोषीलाई कारबाही हुनैपर्छ । तर सत्यतथ्य नबुझी अन्तिम अवस्थामा ल्याइएको बिरामीलाई डाक्टरको लापरबाहीको संज्ञा दिएर बद्नाम गर्ने, पैसा असुल गर्ने र मानसिक तनाव दिने किसिमका विकृति भने हट्नैपर्छ ।

यस्ता घटनामा डाक्टर दोषी भए कारबाही हुनुपर्छ अनि आफन्तलाई क्षतिपूर्ति दिनुपर्छ । तर जब एक निर्दोष डाक्टर आक्रोशित जमातको खलपात्रको रूपमा चित्रित हुन्छ, उनको इज्जत, मानसम्मान तथा आफन्तमा पुग्ने मानसिक क्षतिको जिम्मा कसले लिने ?

डाक्टर बन्ने इच्छा मेरो सानैदेखिको हो । कुनै पनि प्राणीका दु:ख, पीडा कम गर्दा प्राप्त हुने सुख यो पेसामा जति छ, त्यति अरूमा कहाँ छ ? घरपरिवार र साथीभाइभन्दा पनि रातको त्यो दुई बजे आउने बिरामी नै अहिले मेरो पहिले प्राथमिकता भएको छ । पढ्न उत्तिकै गाह्रो, काम भने त्यति नै अपजसी । त्यस्तो अवस्थामा हाम्रो अथक् परि श्रम र सेवालाई न्यायपूर्ण ढंगले कसले हेरिदिने ? तर पहिल्यैदेखि मेरो एउटै अठोट छ- म चिकित्सक हुँ, म सबै बिरामीलाई बचाउन चाहन्छु । कसैलाई मार्न चाहन्नँ ।

-अन्नपुर्णपोष्ट