7 Mangshir, 2074 | 23 November, 2017 Thursday
पूर्ण बहादुर विक (पहाडी )
तीताेपाटी डट कम – कानुनमा जातकै आधारमा भेदभाव गर्नु सामाजिक अपराध हो भनेर दण्ड सजायको व्यवस्था गरिएको धेरै भए पनि समाजमा अझै छुवाछुत व्याप्त छ । अहिले पनि व्यापक जातको आधारमा छुवाछूत हुने गरेको पछिल्लो घटना क्रमले देखाएको छ । देशमा जातीयताको आधामा छुवाछूत गरेमा कार्वाही गर्नको लागि कानुन पनि बनेको छ तर कानुनले गर्नु पर्ने काम भने शुन्य नै छ । पहिले जस्तो छोइछिटो हाल्ने चलन हटे पनि अहिले जातीय विभेदको स्वरूप बदलिएको छ । पहिला नबुझी विभेद हुन्थ्यो । अहिले मानव सबै समान हुन भन्ने जान्दाजान्दै जानी बुझी शिक्षित र बुद्धिजीवी भनिने वर्ग बाट नै विभेद हुने गरेको छ । जातिय आधारमा कुनै एक समुदायले राज्यसत्तामा हालीमुहाली गरि बहुसंख्यक जनतालाई उत्पीडनमा पारिएको हो ।

जातपात छुवाछूत र सामाजिक विभेद गरी अछुतको दर्ज्यनी  पहिरेर बाँच्न बाध्य पारिएका ऐतिहासिक श्रमिकहरूको एउटा ठूलो हिस्सा छ, जुन समुदायलाई अहिले दलितको नामले चिनिँदै आएको छ । आर्य जातिभित्र अछूत मानिएकाहरू, आर्य–द्रविडमिश्रित मधेसीभित्र अछुत भनिएकाहरू र मंगोल जाति अन्तर्गत नेवारी समुदायभित्र अछुत कहलिएकाहरूको साझा पहिचान गर्नको लागि दलित शब्द प्रयोग गरिँदै आएको छ । मान्छे मान्छेबीच पनि छुन हुने र नहुने भन्ने यस्तो प्रचलन दक्षिण एसियाबाहेक विश्वका अन्यत्र मुलुकमा सायदै पाइँदैन । जहाँ जहाँ हिन्दु धर्म र हिन्दुको बाहुल्यता छ त्यहाँ जातीय छुवाछूत र विभेद रहेको छ । मान्छे मान्छेमा विभेद गराइ आफ्नो स्वार्थ सिद्ध गर्न माहिर समाजका ठेकेदारहरुले २१ औं शताब्दीमा पनि विभेद गर्ने नयाँ तरिका अपनाउने गरेको पाइन्छ । कानुनी रुपमा निषेध गरिएको छुवाछूतलाई विभिन्न अन्धविश्वासको बहानामा विभेद हुँदै आएको छ ।

कहिले पानी छोइयो भनेर कहिले गोठ छोइयो कुल रिसाउछन,भन्दै गरिने विभेदको र अन्तरजातीय बिबाहलाई कानुन र राज्यले मान्यता दिदा पनि समाजका ठेकेदारले आफ्नो रुढीबादी सोचाइलाई टिकाउन विभिन्न बहाना बाजी गरि राज्य र कानुनलाई नै चुनौती दिन हरदम प्रयास गरेको छन । देशमा अहिले पनि पुरानो सोच पुरानो प्रबृत्तिले नै काम गरेको र परिवर्तन भन्ने शब्दलाई सकेसम्म प को पनि उच्चारण सम्म गर्न मन नपराउने जनसमुदायले गर्दा पनि ६५ लाख नेपाली समुदाय अझैसम्म विभेदमा परेका छन ।आर्य जात भित्रको आफ्नै समुदायलाई छुवाछूत गरि भाइ भाइ बिचमा खादल खन्ने काम गरेको यथार्थ नै छ । एउटै धर्म संस्कारमा हुर्केर त्यही धर्म संस्कार मान्ने समुदायलाई बिभाजन गरेर विभेद गर्ने कुनै पनि समाज र देशले विकास गरेको छैन । यदि यो विभेद अझै पनि लामो समय सम्म रह्यो भने जातीय विभेद विरुद्ध लडाइँ भएमा देश २०५२ को युद्ध भन्दा पनि खतरनाक हुनसक्छ । 

जातीयताको आधारमा हुने छुवाछूत, विभेद समाज र देशको लागि क्यान्सर जस्तै हो । जब सम्म जातीयताको आधारमा हुने छुवाछूत र विभेद जरैदेखि उखेलेर फाल्न सकिदैन,तब सम्म देशका जनतालाई विकास र विज्ञान तिर कमै ध्यान जानेछ । हरेक विषयलाई जातिगत हिसाबले हेर्ने नेपाली समाजले अझै १२/१३ शताब्दीको झल्को दिने गर्दछ । विज्ञान लाई आत्मसात गर्न नसक्ने नेपाली समाज र राजनीति दलले धर्म र जातीयताको आधारमा देश चलाउन प्रतिस्पर्धा नै गरेको छन । सत्ता चलाउने मन्त्री देखि कार्यलय चलाउने कर्मचारी र भावी पुस्तालाई शिक्षा दिने शिक्षक सम्मले अन्धविश्वास जातीयताको आधारमा देश र समाज चलाउदै आएको देखिन्छ । राज्यको हस्तक्षेपकारी नीतिका कारण हिन्दू उच्च जातबाहेककाको त्यस्ता विषयमा जानकारी लिन अरुलाई वास्तै नहुने, रुचि नै नजाग्ने, उनीहरूका जाति सुन्दा पनि असभ्य मान्छेको कमसल परिचय जस्तो भान हुने स्थिति अझै पनि छ । 

जातिको संस्कार संस्कृतिमा सुधार गर्ने र आफूभन्दा तल्लो भनिएको जातिभन्दा आफू अब्बल हो भन्ने घमण्ड बढाउने वा आफूभन्दा माथिल्लो भनिएको जातिप्रति प्रतिशोधको विकास गर्ने यो प्रवृत्ति मुख्य देखिएको छ । आन्दोलनकारी संगठनहरुमा आफ्नो मात्र जातिको नेतृत्व विकास गर्न वा अर्को जातिलाई पाखा लगाउन यो प्रवृत्ति केन्द्रित देखिन्छ । यो खाले प्रवृत्ति भएका संगठनहरुले आन्दोलनकारी संगठनको आवश्यकता त देख्छ तर त्यसको नेतृत्व आफ्नो जातिको हुन आवश्यक ठान्छ । खासगरी नेपाली राजनीतिक र समुदायमा आफ्नो जातिलाई बढी प्राथमिकता दिने चलन कुनै नयाँ होइन । यो चलनलाई टिकाउन पुरानो शिक्षाले पनि भरपुर काम गरेको छ । 

जातीय विभेद समस्या उत्पत्तिको अन्तरवस्तु उत्पीडनको स्वरूप तथा त्यसबाट सिर्जित मनोवैज्ञानिक प्रभाव र यसको राजनीतिक चरित्रलाई राम्रोसँग बुझ्न नसक्नु अहिलेको अवस्था हो । नेपालमा लामो समयदेखि सामन्तवादी विचार हावी हुनु र भारतीय दलित आन्दोलनमा रहेको पुँजीवादी विचारको प्रभाव हाम्रोतर्फ पनि पर्नुले दलित र जातीय समस्या सम्बन्धी बुझाइमा थुप्रै अस्पष्टता रहँदै आएको छ । सधै दलित भएर जातीयताको आधारमा हुने छुवाछूतको विभेद मुनि बस्ने कि विभेद विरुद्ध कानुनी र सामाजिक रुपमा बलियो बन्ने भन्ने मुख्य विषय हो । जातीय छुवाछूत विरूद्धको कानुन फितलो रहेको यथार्थ नै छ,अहिले बनेको कानुन पीडितमैत्री छैन । विभेदमा परेको समुदायले बलियो र छुवाछुतलाई गम्भीर प्रकृतिको अपराधमा राखी कानुन बनाउन व्यापक दबाबको सिर्जना गर्नु पर्छ । कम्तीमा राज्यले विभेदमा परेको समुदायलाई जातीयताको आधारमा छुवाछूत गर्ने लाई आजिवन सजायको व्यवस्था गर्नु पर्छ यसले पुरानो रुढीबादी चिन्तनको आधारमा हुने विभेद अन्त्य गर्न मद्दत पुग्ने छ । राज्यलाई दबाब दिन विभेदमा परेको समुदायको आवश्यकता पनि हो ।