4 Mangshir, 2074 | 20 November, 2017 Monday
"छोरा म जस्तो नबनोस" - संजय दत्त
2017-09-19 | तीतोपाटी डट कम

तीतोपाटी डट कम - पछिल्ला वर्ष बलिउड अभिनेता सञ्जय दत्तका लागि सुखद् रहेनन् । लागू औषधदेखि कानुनी झमेलामा फसेका सञ्जयले आफ्नो जीवनदेखि वाक्क भएर छोरो आफूजस्तो नहोस् भन्ने कामना गरेका छन् । सञ्जय आफैं भेट्रान कलाकार सुनील दत्त र नरगिसका छोरा हुन् ।


सञ्जयले लामो समयको कसरतपछि अहिले लागूऔषधको अम्मलबाट आफूलाई छुटाउन सफल भएका छन् । सन् १९९३ मा मुम्बईमा भएको शृंखलाबद्ध बम विस्फोटका घटनामा सञ्जय अवैध हतियारसहित पक्राउ परेपछि झमेलामा पर्दै आएका हुन् । पाँच वर्षको कैद सजाय गत वर्ष मात्रै ४२ महिना जेल बसेर भुक्तान गरी मुक्त भएका सञ्जय यतिबेला पुन: अभिनयमा फर्किएका छन् । 

छोराको लथालिंगे जीवनका कारण नै बुबाको निधन भएको ठान्ने सञ्जयले भनेका छन्, ‘बुबाले हामीलाई सामान्य हालतमा नै हुर्काउनुभयो । राम्रो स्कुलमा पढाउनुभयो र मैले पनि मेरा बच्चालाई त्यस्तै नै गरें ।’ आफूले सधैं सन्तानलाई जीवनको महत्त्व र संस्कार सिकाउने गरेको टिप्पणी गर्दै सञ्जयले थपे, ‘र, आफूभन्दा ठूला चाहे ती तिम्रा सेवक नै किन नहुन्, आदर गर्न सिकाएको छु । मेरो एउटै प्रार्थना भनेको मेरो छोरो मजस्तो नहोस्, किनभने मेरा कारण जसरी मेरो बुबा बित्नुभयो, म त्यसरी जान चाहन्नँ ।’

सञ्जयका मान्यतातर्फ तीन वर्षीय छोरा शरण र छोरी इक्रा छन् । त्यसो त जेठी पत्नी ऋचा शर्मातर्फ पनि उनकी छोरी त्रिशाला छिन् ।

५८ वर्षीय अभिनेताले युवापुस्तालाई लागूऔषधबाट टाढै बसेर जिन्दगीको असली मज्जा चाख्न पनि सुझाव दिएका छन् । ‘म पनि कलेज पढ्दैदेखि लागूऔषधको कुलतमा फसेको हुँ । त्यसबाट पार पाउन मलाई एक दशक लाग्यो । धन्न म भाग्यमानी थिएँ र छुटकारा पाउन सकें । म अहिलेका युवालाई पनि ड्रग्सबाट टाढै रहेर आफ्नो परिवार र कामसँग रमाउँदै उच्च जीवन जिउनु भन्न चाहन्छु,’ जेलमुक्त भएपछि पहिलोपटक दर्शकसामु ‘भूमि’ मार्फत देखिन लागेका सञ्जयले भने ।