3 Mangshir, 2074 | 19 November, 2017 Sunday
चन्द्र बिश्वकर्मा - नमुना विश्वकर्मा समाज नेपाल-कुवेतको अायोजनामा प्रथम ऐतिहासिक बिस्वकर्मा पुजा  हिजो १५ सेप्टेम्बर २०१७ शुक्रबारका दिन मा कुवेतको जिलिब स्थित हाई डाईन इन्डियन रेष्टुरेन्टमा एक समारोहका बिच सम्पन्न भएको छ । नेपाली समाजमा नै पहिलो पटक कुवेतमा सामुहिक बिश्वकर्मा पुजा सम्पन्न भएको हो ।

कार्यक्रम समाजका अध्यक्ष कुल बहादुर विश्वकर्माको सभापतित्व तथा नेपाली राजदूतावास कुवेतका कन्सुलर बिन्दिरा शंकर जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा कुवेतमा क्रियाशील बिभिन्न संघसंस्थाका प्रतिनिधि, बुद्धिजीवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी तथा कुवेतमा कार्यरत नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेको थियो । 

नेपाली समाजमा लोकप्रिय पन्चेबाजा बजाई दिप प्रज्वलन गर्नुको साथै भगवान बिस्वकर्मा बाबाको पुजा आरम्भ गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि दुताबास कुवेतका कन्सुलर बिन्दिरा शंकर जोशी, डिसि नेपालका कुवेत प्रमुख माधव साही, सुदुरपश्चिम सेवा समाजका अध्यक्ष अमर खड्का, नया शक्तिका केन्द्रिय प्रतिनिधि नारायण पोखरेल, नेपालकुवेत साँकृतिक मञ्चका उपाध्यक्ष डोलराज न्यौपाने, नेपाली जनएकता सेवा समाजका घनस्याम वास्ताकोटी, चितवन सेवा समाज नेपाल कुवेतका महासचिव जीवन कुमार बिश्वकर्मा, तमु समाज कुवेतका अध्यक्ष खोप गुरुङ, माउन्ट एभरेस्ट स्पोर्ट्स क्लब तथा कोसेलीका अध्यक्ष इन्द्र पोखरेल, प्रवासी नेपाली मन्च कुवेत प्रथम उपाध्यक्ष युवराज गैरे, सिर्जनसिल युवा समाज कुवेत को अध्यक्ष पुष्कर सिह धामीले आ-आफ्नो धारणा राखेका थिए ।  

मन्तब्यको क्रममा बक्ताहरुले प्रवासमा भएर पनि आफ्नो कला र  संस्कृति जोगाई राख्नको लागि पुजा कार्यक्रम आयोजना गरेकोमा नमुना बिश्वकर्मा समाज नेपालको प्रसंसा गरेका थिए । सम्पुर्ण उपस्थित महानुभावहरुले बिश्वकर्मा भगवानको फोटोमा फुल अक्ष्यता चड़ाई पुजा गरि पण्डित रोल बहादुर बिस्वकर्माबाट प्रसाद ग्रहण गरेका थिए । उक्त कार्यक्रममा लोक गायक डोलराज न्यौपाने , राजेन्द्र बिरही रसाइली लगायत स्थानीय कलाकारहरुको जोडदार प्रस्तुती रहेको थियो । 

कार्यक्रममा नमुना बिस्वकर्मा समाज नेपाल कुवेत र चितवन सेवा समाज कुवेतको पहलमा संचालित उर्मिला बचाउ अभियानमा आर्थिक सहयोग संकलनका लागि विशेष भुमिका निर्वाह र सहकार्य गरेकोमा  चितवन सेवा समाजको अध्यक्ष नवीन लोप्चन लाई खादा र प्रशंसा पत्रले समान गरेको थियो । त्यसैगरी आर्थिक सहयोग संकलनमा विशेष भुमिका निर्वाह गरेको भन्दै सपना बिस्वकर्मा , सबिन बिस्वकर्मा, लाल बहादुर बिस्वकर्मा, राजु श्रेष्ठ र बुद्ध लाल लिम्बूलाई खादा र प्रशंसा पत्र ले सम्मान गरिएको थियो । साथै बिस्वकर्मा पुजा कार्यक्रममा सहयोगी संघसंगठन, ब्यक्ती  र कलाकारहरूलाई पनि सम्मान गरेको थियो ।

कार्यक्रमको अन्त्यमा सभापति कुल बहादुर विश्वकर्माले कार्यक्रमको समापन गर्दै कार्यक्रम सफल पार्न सहयोग गरेका संघसंस्था उपस्थित सम्पुर्ण अतिथि लगायत नेपाली दाजुभाइ तथा दिदीबहिनी लाई धन्यवाद दिदै आगामी दिनमा पनि कुवेतमा क्रियाशील सम्पूर्ण संघसंस्थासंग सहकार्य गर्दै  अगाडी बढ्ने बताए ।


पुजा समारोहमा आउन जानको लागि आयोजकले बिभिन्न स्थानबाट निशुल्क यातायातको समेत ब्यवस्था गरेको थियो भने कार्यक्रम संयोजक प्रेम बहादुर बिस्वकर्मा रहेको उक्त कार्यक्रम संस्थाका प्रथम उपाध्यक्ष रन बहादुर रसाइलीको स्वागत र  चन्द्र विश्वकर्मा तथा बिरबिक्रम सुनारको संचालनमा दिनको ११ बजेबाट संचालन भएर अपरान्ह ४ बजेसम्म चलेको थियो ।