4 Mangshir, 2074 | 20 November, 2017 Monday
रक्सी बिना म बाँच्दिन(लघु कथा)
2017-09-12 | तीतोपाटी डट कम
तोयानाथ उपेक्षित - चुरोट दुई औलाको कापमा धुवाउदै थियो । मलाई हल्का पोल्न थालेपछि मात्र थाहा पाए । दोश्रो सर्को तान्न नपाउदै कति चाडो जलिसकेछ । यसो त म स्मोकर होईन, फेरी पनि यदाकदा रक्सी पिएपछि चुरोट नपिए सम्म चित्तै नबुझ्ने बानी बस्यो ! 
धेरै पनि पर्दैन एकै प्याकमा नशा ले चुर्ण हुने भन्या ।

 
यस्ताले पनि रक्सी पिउन परेको ? मैले आफैलाई धिकार्दै ठुटो टकटक्याए । 
चुरोट आफ्नै नियतीमा छोटिदै छोटिदै सिद्धिन लागेको थियो तर मलाई रक्सीले भुलाई दियो आफैसँग । चुरोट सिद्धिएको थाहा पाउन आगोले चिमोट्नै परयो । 

  निकोटिन र हल्कोहलले शरिरका नशाहरुमा जोश भन्दा धेरै निराशा र कुण्ठा भरिदै गएका थियो । रक्सी पिएपछि कराउन भन्दा आफैमा हराउन मन पराउने म, आखिर पिउनुको मजा नै त्यसैमा देख्न थालेको थिए । 

समाजमा अव्वल मान्छे बन्ने मेरो प्रयास मिथ्या प्रयत्न थियो । काम गरेर जस नपाएपछि अपजस कमाउन किन साधु बन्ने ? बन्ने नी गुण्डा र फटाहा !
 
सपुत हुन पो गाहो त कपुत बन्न लाई कुनै गुरु नै नचाहिने । कुनै तालिम लिन नपर्ने । जे जे गर्दा नराम्रो भईन्छ त्यहीत्यही गर्न कम्ता सजिलो हुन्छर ? अब त धतुरो पिउन मात्र बाकी छ । तर मेरो यो गोप्य दुश्कर्म को असलियत साक्षी पनि र कर्ता पनि म आफै हुँ । मेरो असलियत कमैलाई थाहा छ । म एक नम्बरको पियक्कड बन्दै जादा अब पिउन का लागि साथीहरुको घेरो मेरो वरिपरी नभए पनि हुन्छ । जो थिए ती पनि घट्दै घटदै गएर म एक्लो भईसकेको छु आजभोली ।  जो छ साथमा बस त्यही रक्सीको प्याक । 5


शुरु शुरुका दिनहरुमा त एक महिनामा एक पटक रक्सी पिउनु मेरो लागि असह्य पिडाको दिन या रात जस्तो हुन्थ्यो । जोरबलले साथीहरुको साथ दिन्थे । घाटीवाट तल झार्न रक्सीको झोललाई सुकुटी वा सुप हुनै पथ्र्यो अब त कुनै गाहो छैन । नून मात्र चाट्न पाउदा पनि पुग्छ । 

मलाई रक्सीले छुन डराउथ्यो, म रक्सी खोज्दै हिड्थे । नशासँगको मेरो अपनत्व देखेर मेरा मादक गुरुहरु पनि आजभोली तर्कन थालिसकेको थिए । 

मेरो रक्सी प्रेम सातामा मिल्ने गर्ल फ्रेण्ड जस्तो मात्र भएन, सधै एउटै विस्तारामा सुत्ने श्रीमति जस्तो नजिक, एकदमै नजिक । 
साँझ पर्दै गएपछि मन घमाईलो, तन चंचले हुन थाल्छ भन्या । रक्सी सवै कुरा हुदै गयो मेरो लागि । 

विरानो देशमा उहिले कहिले हो भेटेको साथी जस्तो सतिसँगको याद पनि भुलियो अब त । तिर्सना त रक्सीकै हुन्छ । रक्सी नै मेरी प्रियसी । रक्सी नै मेरो जवानी । आजभोली निर्लिप्त भएर टासिन थालेकी थिईन मसँग मेरी नबप्रियसी रक्सी ।  मैले पत्तै पाईन यति चाडो किन र के का लागि रक्सी लाई आघात माया गर्न थाले किन ?

 हजारौ सवालहरु उठछन । मलाई स्वास लिन गाहो हुने गरी हावा र कावा पार्दछन थरिथरीका विचार र भावनाहरुले, अनि म डराउन थाल्छु । भाग्न खोज्दछु लुक्न खोज्दछु तर अन्ध्यारोले पनि आफै टर्च बालेर मलाई सर्वाङग प्रर्दशन गरिदिए जस्तो लाग्छ । लुकेर र छोपेर केही छोपिए जस्तो लाग्दै लाग्दैन । 

मलाई हेर्ने आँखाहरु अरुसँग नभएर मसँगै रहेछन । मेरै आँखा बाट कसैले मलाई हेरिरहेको मात्र देख्छु ।  सवैले मलाई खोजीरहे जस्तो, सोधीरहे जस्तो । डर लुकाउने ठाउँ कतै भेट्दिन । तब मलाई ढाडस दिने त्यही रक्सी शिवाय कोहि आउदैन मेरो छेउमा । उसले मात्र मेरो बास्तविकता बुझे जस्तो लाग्छ । उही मात्र मेरो असल साथी हो जस्तो लाग्छ । उसैले मलाई बचाँउछ । जब उ मेरो मन भित्र अनि तनभित्र बास बस्छ तब म हाँस्छु अनि गाउछु र नाच्छु पनि । म सेफ उसैबाट मात्र छु जस्तो लाग्छ । यस्तो आनन्द र शान्त खोजेर कहाँ पाईन्छ हँ ?जब उसले साथ दिन्छ मलाई त्यस्तो अनुभुति पैदा गरिदिन्छ ।  

धन धेरै कमाएर मानिस सप्रिन्छ ? ठुलो मान्छे हुन्छ ? सवैले जयजयकार गर्दछन । मान सम्मान र हैकम पनि चल्छ भनेर मलाई कसले सिकायो ? त्यो हो नी गलत ? म सधै त्यही चिन्ता र चिन्तनमा चुर्लम्ब डुवेर केही गर्न पछि परिन । मैले जे पनि गरे पैसाका लागि । 
जमाना पैसा फ्याकेर तमासा हेर्न सकिने हो भन्नेमा अहिले पनि अडिक छु । ज्यान नै मारे पनि, कसैको घरबार उठिवास लगाए पनि यहाँ जित्नेको ईतिहास लेखिन्छ । धन हुनेको गुणगाण गाईन्छ । हार्ने को किन चाहियो ईतिहास । गरिब को कसले गर्दछ ईज्जत, मानसम्मान !
 
आखिर पैसा अनाचार र वेविचारबाट अकुत धनसम्पती कमाए पछि पनि पोल्दो भने रहेछ । अर्काको आँशुमा होली खेलेपछि मनमा सन्ताप बढदो नै रहेछ । तनले जतिसुकै विलासिता मोले पनि मन त जल्दो नै रहेछ । अरुलाई जे जे भनेर ढाटे पनि आफूलाई ढाट्न त कसैले नसक्दो रहेछ । आफ्नै जीउदो मस्तीस्कले सपनामा पनि झल्को दिईरहने विगत कहाँ भुल्दो रहेछर मानिसले ? आफ्नै आत्माले बेलाबेला जस्काउन कहाँ छाडदो रहेछर सजिलै ?
 
अपराध बोध, ग्लानी र पिडा लुकाउन गहो भईरहेको बेला मलाई साथ दिएको छ त रक्सीले । मैले उसलाई पिउदा पिउदै आज उ र म समान भएका छौ । म विना उ रक्सी हुदैन । म मातिन भने उ रक्सी कसरी हुन्छ ? उ विना म जिउदो रहदिन । कस्तो ज्यानी दुश्मन हामी आज एक अर्काका पुरक भएका छौ । धनको प्यासले हामीलाई जोडेको छ ।  

त्यो ठुलो महल भित्र होस वा बाहिर म सधै डराई रहेको हुन्छु अरु केही कुराले होईन मृत्युको भयले । मर्नु पर्दछ भन्ने गतिलो हेक्का त्यतिबेला मनमा नलिई गरेका विगतका मेरा अनाचार र कुकर्मको चोटले । मेरो खाता जतिपल्ट च्याते पनि मैले भुल्न कुनै कुरा छैन । मनमा लेखिएका कुरा ढुंगाको अक्षर जस्तै हुदा रहेछन । मेटिदै नमेटिने । 

कसरी तिर्ने होला ति अनाचार र व्यभिचारले मारिएका आत्माहरुको ऋण । त्यो भव्य महल, वैंक एकाउण्ट र श्रीमतिको शरिरभरी चम्किरहेका गहना सवै बेचेर पनि मैले लुटेका सयौ जिवन र कयौ घायल मनहरुलाई पूर्ण ईलाज गर्न सक्दिन । मैले कुनै कुरा फिर्ता गर्न सक्दिन । उनीहरु ईतिहासका पात्र भइसके होलान । मेरा विरुद्ध उपरवालासँग उजुरी गरिसके होलान ।  

हो अब पालो भोग्ने आउदैछ । मेरो अनाचारले कमाएको भौतिक सम्पती सातपुस्तालाई पुग्ने होला तर म जिउदै पलपल मरिरहेको दुःख सातपुस्ता भन्दा लामो छ । पलपल को मृत्युको कुनै मूल्य छैन । त्यसको औषधी छैन । कसैले सोधेको छैन तलाई के भयो ? मेरो कुकर्मको हिसाव किताब चुकाउन कोही अघि बढदैन । कतै अलौकिक शक्ति छ भने त्यसले खोज्ने मसँगै हो । अरुसँग खोज्दैन होला । आखिर किन म त्यो कालो धन का लागि ज्यानफालेर कुकर्म गर्न डराईन ? आफैसँग उत्तर छैन बरु मनभरी डर भरिदै आउँछ तब रक्सी चाहियो चाहियो । हो म रक्सी विना बाँच्दिन । रक्सीले दिने जीवनको भ्रममा म कतिन्जेल हिम्मतिलो, साहासिलो र गतिलो हुन सक्छु त्यो पनि थाहा छैन तर मेरो पर्याय बनेको रक्सी म मरेपछि पनि जीवीतै रहन्छ । आखिर मलाई मारेर पनि उ त नमर्दो रहेछ । मलाई डर छ म जस्ता कतिलाई पाल्छ उसले ? रक्सीसँग साटिएको जीवन र त्यसले जीउने सार्थकता आखिर मृत्युसँग को लुकामारी मात्र हो त ?