4 Mangshir, 2074 | 20 November, 2017 Monday
गजल - प्रदिप रोदन
2017-09-07 | तीतोपाटी

गजल

रात आइपुग्यो तारा लिएर जून लिएर!
मेला गएका बा अझ आइपुगेनन् नुन लिएर!

पिँढिमा राखिदेला कसले कुटेर ल्याइदेला,
आमा बसेकी छिन् आँगनमा बिस्कुन लिएर!

तिमी नआउने पक्का छ थाहा हुँदा हुँदै,
म पर्खिरहेछु आँखामा साउन लिएर! 

चोट सहन जरुरी छ बाँसुरी बन्नको लागी,
बाँस जन्मिदैमा कहाँ जन्मिन्छ धुन लिएर!

प्रिया आऊ यहिबेला खुशीका कुरा गरौं,
छोरो दौडिरहेको छ हातमा बेलुन लिएर!

प्रदीप रोदन
   गोरखा