3 Mangshir, 2074 | 19 November, 2017 Sunday

तीतोपाटी डट कम - नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन युङ कम्युनिस्ट लिग (वाईसीएल)का अध्यक्ष राप्रकाश सापकोटा ‘दीपशिखा’सँग वाईसीएलका पछिल्ला गतिविधिबारे पत्रकार रविराज बरालले गरेको कुराकानीः

भ्रष्टाचारीको प्रमाण संकलन गर्ने, सूची बनाउने र राज्यका निकायमा बुझाउने काम तपाईंको कि राज्यको ?
यो राज्यकै काम हो। यसो गर्न नपरोस् भन्ने कामनासहित निर्णय गरिएको हो। राज्यले नियन्त्रण गर्ने उसको अधिकार क्षेत्रभित्रको विषय हो। तर, हामीकहाँ राज्य भ्रष्टाचारप्रति उदासीन छ। त्यस अर्थमा यो हाम्रो खबरदारी हो। राज्यप्रति गरिएको खबरदारीलाई बेवास्ता गरियो भने युवाले प्रतिनिधिमूलक घटनाहरूलाई लिएर भ्रष्टाचारको प्रमाण संकलन गर्छन् र राज्यलाई बुझाइदिन्छन्। भ्रष्टाचारी समातेर बुझाउँछौँ भनेको होइन, प्रमाण बुझाउँछौँ भनेको हो।
 

कसैको नाम भ्रष्ट भनेर सार्वजनिक गर्नु व्यक्तिगत मानमर्दन भएन ?
प्रमाण सही नै हुन्छ। हामी शंकाका भरमा कसैलाई मानमर्दन गर्दैनौँ। घुस लिँदालिँदै भिडियो खिच्नु प्रमाण नै हो। राज्यका निकायहरूमा रहेका सूचनाका आधारमा राज्यलाई नै सूची बुझाउँदा कसैको मानमर्दन हुँदैन।

तर, भ्रष्ट भनेर फैसला गर्ने त तपाईंहरू होइन नि?
हामी होइनौँ। हामीले के भन्यौँ भने त्यसको फैसला गर्ने निकाय राज्य हो, अदालत हो। त्यसैले प्रमाणसहित सूची बुझाउँछौँ भनेका छौँ। फैसला उसैले गरोस्। जनताले राज्यसँग सूचना माग्न पाउँछन्। हामीले पनि पाउँछौँ। त्यो सूचनाले भ्रष्टाचार पुष्टि गर्छ भने कानुनी कारबाहीमा राज्य जानु पर्यो, नत्र पुष्टि गर्नुपर्यो। दुवै गरिन्न भने मिडियामा सार्वजनिक गरिदिन्छौँ भनेको हो।

मेनपावरको ठगीविरुद्ध निर्णायक कदम चाल्छौँ भनेको के हो ?
राज्यले कुन मुलुकमा जाँदा कति रकम लाग्छ भनेर तोकेको छ। निश्चित मुलुकमा त फ्रि भिसा फ्रि टिकटको व्यवस्था छ। तर मेनपावरहरूले विभिन्न नाममा पैसा असुली गरेका छन्। त्यो आम युवासँग प्रत्यक्ष सरोकार राख्ने मुद्दा हो। अहिले पनि खाडी मुलुकका विमानस्थलमा नेपाली युवा अलपत्र छन्। त्यस अर्थमा यहाँ त झन् खबरदारी गर्नैपर्छ।

तपाईंहरूको मातृ पार्टी सरकारमा छ। गृहमन्त्री तपाईंकै दलको नेता हुनुहुन्छ। दबाब त्यता दिनुपर्ला नि ?
त्यहीँ दिन खोजेको हो। हामीले माओवादी मन्त्रालयलाई दबाब दिन्नौँ भनेका छैनौँ। वाईसीएल नेपाल के चाहन्छ भने हामी भ्रष्टाचारविरुद्ध र मेनपावरविरुद्ध उत्रिन नपरोस्। तर, समाजले त्यहीँबाट धोका खाइरहेको छ भने त हामी राजनीतिक संगठनहरूले यो कम नचाले कसले चाल्ने ? सत्ता सुधार गर्ने त राजनीतिक संगठनहरूले हो नि। यदि युवाले बोल्नै नपाउने, खबरदारी गर्नै नपाउने र चेतावनी दिनै नपाउने हो भने कसले दिन्छ त ?