12 Baishak, 2075 | 25 April, 2018 Wednesday
पूर्ण बहादुर विक (पहाडी ), ओमन - खाडीमा कार्यरत नेपालीको संख्यामा हिसाब गर्ने हो, भने समग्रमा ४५ लाख भन्दा धेरै नेपालको उर्जावान युवा आफ्नो रगत पसिना बगाउन बाध्य छन । आफ्नो हक अधिकारको सुनिश्चितता तथा रोजगारीको लागि देशमा विभिन्न आन्दोलन भएपनि त्यसको ठिक विपरित नेपाली युवाहरु वैदेशिक रोजगारीमा पलायन हुने क्रम बढेको छ । जनताले आफ्नो शासन आफै गर्न पाउने, आफ्नो हक अधिकारको सुनिश्चितता, रोजगारी सिर्जनाको लागि देशमा गणतन्त्र ल्याएपनि त्यसयता युवाहरु रोजगारीबाट बञ्चित हुने क्रम झन् बढेको छ भने त्यसको फलस्वरुप उनीहरु वैदेशिक रोजगारीमा जाने क्रम उच्च रुपमा बढेको छ । 

खाडीमा रोजगारको लागि आउन महिनौं म्यानपावर एजेन्सी र एजेन्सीमा काम गर्ने कर्मचारीलाईफ ज्यु र हजुर गर्नु पर्ने कथा ब्यथा झन अर्कै छ । सरकारले घोषणा गरेको फ्री भिसा फ्री टिकेटले झन युवाहरूलाई बिदेशमा रोजगारको लागि जान आकर्षक त गरेको छ तर त्यो आकर्षक भित्रको चलखेल झनै खतरा छ । लागत खर्च बढीमा २० हजार लेखेको हुन्छ । मेनपावर खोज्दै पुगेर सोधेपछि खुलेआम भन्छन् त्यो त लेखेको मात्र हो कम्पनीको नियम अनुसार यति पैसा लाग्छ जाने भए फर्म भर्नुस् नत्र जानुस भनिन्छ । गाउँ बाट आएको एक युवा काठमाडौको बारेमा त्यति जानकार हुँदैन । उसले कुनै न दलालको मार्फत मेनपावर चिन्नु पर्ने हुन्छ दलालले पनि मेनपावर चिनाई दिए बापत २०/३० हजार सम्मको सम्झौता हुन्छ दलाल र मेनपावर बीचमा पनि । यस्ता भिसाहरुको लागि वैदेशिक रोजगार विभाग र नेपाल सरकारले तोकेको पुरा लागत खर्च २० हजार हुन्छ उता मेनपावरमा कम्पनीको रेट भनेर १ लाख भन्दा बढी सुरुमै मौखिक सम्झौता गरिन्छ । यस्तो खुलेआम ठगी हुने गरेको जानकारी हुदापनि केहि गर्न सक्ने अवस्थामा हुदैन निकाय र सरोकारवालाहरु बिदेश जान भनेर आएको गाउँको युवाले उजुरी गर्ने सम्भावना नै हुँदैन । कारण उसलाई छिटोभन्दा छिटो बिदेश जानू पर्ने बाध्यता छ । 

विदेश २/४ पैसा भएपनि कमाएर तिर्नु छ ऋण, घर परिवारको दुःख र पीडाले पोलेको बेला यो सबै कुराको सोच पनि आउँदैन । आए पनि गाउँमा बेरोजगारीले पिरोलिएका युवाहरुले खोजतलास गर्ने आट हुदैन । आर्थिक रुपमा पीडित युवाले त्यो गर्न सक्ने सम्भावना पनि न्युन हुन्छ । बर्षौदेखि चलेको खुलेआम यस्ता ठगी धन्दा रोक्ने प्रयास समेत कुनै निकायबाट हुदैन । यसबाट पनि प्रस्ट छ कि यो ठगी गिरोहको संजालको जालो बलियो छ,यसलाई भत्काउन त्यति सजिलो पनि छैन । मेनपावर बाट होइन सिधै सरकारले कामदार पठाउने व्यवस्था गरेमा मात्रै यस्को समाधान हुनेछ । सरकारले यस बारेमा गम्भीरतापूर्वक लिनु आवश्यक छ,अरबको ४०-४५ डिग्रीको घाममा काम गरेर कमाएको पैसा घर खर्च बाहेक अन्य कुनै प्रगति अरबमा काम गर्ने मजदुरले गर्न सकेको छैनन् । 
युवाहरूलाई सधै बिदेशमा बस्न बाध्य बनाउनु भन्दा पनि सरकारले देशमा लगानी र स्वरोगार बनाउने योजना बनाई कार्यान्वयन गर्नु पर्छ ।

खाडीमा काम गर्ने युवाको कथा जेल जिबन भन्दा फरक छैन । दिन भर काम रातमा चिसो एयर कन्डिसनको हावामा सुतेकै अवस्थामा कतिको प्राण उडेका छन् । कतिको मरुभूमिमा खेति गर्दा र भेडा र उँट चराउदा रगत र पसिनाले जीवन बगिरहेको पत्तो हुदैन । खाडी मुलुकमा नेपालीहरू बिशेष अत्यन्तै कम पारिश्रमिक र बढि परिश्रम पर्ने सडक, घर र यहाँ बन्दै गरेका ठुला ठुला निर्माण मजदुरको रुपमा ल्याइन्छन । यस लगायत सुरक्षा गार्ड, क्लिनिङ, होटल तथा घरेलु मजदुर र ड्राइभिङ पेशामा नेपालीहरूको सङ्ख्या उल्लेख्य मात्रामा छ । हुनत केही नेपालीहरु दक्ष कामदारको रुपमा कतिपय राम्रो पारिश्रमिक र सुबिधा भएको ठाउमा पनि भेटिन्छन । केहिले आफ्नै पेशा र व्यबसाय पनि गरेर वसेका छन । तर आम रुपमा नेपालीहरूको अवस्था पिडायुक्त र दयनीय रहेको छ । नेपालीहरु वैदेशिक रोजगारीमा गएर खतरा खालका काम गर्नु पर्ने भएकै कारण दैनिक ५ देखि १० जना कामदारको मृत्यु हुने गरेको छ । 

सरकारले देखेको भन्दा धेरै फरक छ वैदेशिक रोजगार र नेपाली कामदारको अवस्था अरब राष्ट्रमा, नेपाल सरकारले कुनै खास र बलियो बैदेशिक रोजगार नीति अन्तर्गत निश्चित मापदण्डअनुसार दक्ष, आवश्यक न्युनतम सीप र तालिम प्राप्त जनसक्ति पठाउन नसक्नु साथै सम्बन्धित रोजगारदाता देशहरूसँग रहेको फितलो र अब्यबहारिक श्रम सम्बन्धि संझौताहरु मुल्यांकन गरि संसोधन र नबिकरण गर्न चासो नदेखाउनु उता सम्बन्धित मुलुकहरुमा नेपाली कामदारको हकहितका लागि काम गर्नुपर्ने नेपाल सरकारका निकायहरुको कमजोर उपस्थिति र गैरजिम्मेवारपुर्ण प्रबृत्तिका कारण गर्दा पनि अरबको रोजगार नेपाली युवाको अवस्था चिन्ताजनक छ । बैदेशिक रोजगारीका कारण घर ब्यबहारबाट टाढिएका हजारौं नेपालीहरुको घर गृहस्थी पनि नराम्ररी ध्वस्त भईरहेको छ । 

खासगरि रोजगारीका सिलसिलामा टाढिएका परिबारहरु टुक्क्रिदै छन । यसरी एक्लिनुको बाध्यता र पिडाले सल्केको आगोले बिकराल रुप लिईसकेको छ । जसका कारण समाजमा बलत्कार लगायतका यौनजन्य अपराध, समन्ध बिच्छेद र हत्याका घटनाहरु बढ्दैछन, युवाहरूको बिदेशीने क्रमलाई सरकारले अझै पनि रोक्न सकेन भने भोलि देश युवा बिहिन हुन बेर लाग्ने छैन । के सरकारले देशलाई युवा बिहिन भएको हेर्न चाहान्छ । यस्तो अवस्थामा देश मै उपलब्ध स्रोत र साधनको सदुपयोग गर्दै आर्थिक विकासका अबसरहरु श्रृजना गरि बिदेश पलायन हुने लाखौंको युवा जनसक्तिलाई परिचालन गरेर बढ्दो बेरोजगारी समस्याको समाधान गरि खाडी लगायतका मुलुकमा तल्लो स्तरमा काम गर्न जाने सङ्ख्यालाई कम गराउदै लैजान सकिन्छ ।

नेपाली युवाहरूलाई छिटोभन्दा छिटो धनी कसरी बन्ने भन्ने सोचले पनि बिदेशीन बाध्यता बनाएको छ । नेपाली युवाको मानसिकतामा मुलुकभित्र काम गर्ने र स्वरोजगार बन्ने सोच हिजो थिएन, आज पनि छैन र अब पनि नचेत्ने हो भने भविष्यमा पनि आउनेछैन । यो अवस्था सिर्जना हुनुमा राज्य, राजनीतिक दल र यहाँका समाज बढी दोषी छ । यो प्रवृत्ति लामो समय रह्यो भने मुलुकको हालत के होला ? हिजो युद्धको कुरा अर्कै थियो । अहिले परिस्थिति अर्कै छ । युवाको मानसिकतामा मुलुकभित्र केही गर्न सकिँदैन भन्ने भावना विकसित गराउने संयन्त्रको चेत अब खुल्नुपर्छ । मैले उत्पादन गरेको कृषि उपजले सजिलै बजार पाउँछ र त्यसबाट मेरो दैनिकी सजिलै चल्छ भन्ने ग्यारेन्टी भयो भने म जस्तो कुनै पनि युवालाई आमाबाबा, जीवनसाथी र छोराछोरी छाडेर अर्काको देशमा म जस्ता बिदेशिन बाध्य भएका युवाहरू बिदेशीको नोकर बन्न कुनै रहर होइन, बाध्यता छ ।