8 Magh, 2074 | 22 January, 2018 Monday
डा.प्रेमराज वैद्य (वरिष्ठ मुटुरोग विशेषज्ञ) -  नेपालमा पछिल्लो समय मुटुको उपचारमा ठूलो प्रगति भएको छ। हृदयघात रोक्न सक्नेसम्मको प्रविधिको विकास भएको छ। समयमा नै एनजीयोग्राफी गरेर मुटुको एनजीयोप्ल्यास्टी वा बाइपास अपरेशन गर्‍यो भने हृदयघात रोक्न सकिन्छ।

जनचेतनाको अभावले यसले अझै व्यापकता पाउन सकेको छैन। एनजीयोप्ल्यास्टी वा बाइपास अपरेशन गर्नुभन्दा पहिला एनजीयोग्राफी (मुटुको धमनीहरुको एक्सरे) गर्नुपर्छ। एन्जीयोग्राफी गरेपछि मुटुको धमनीहरु कति बन्द भएका छन् भन्ने थाहा हुन्छ।

यसलाई कोरोनरी एनजीयोग्राफी पनि भनिन्छ। कोरोनरी एनजीयोग्राफी गर्‍यो भने धमनीको अवरोध थाहा हुन्छ। सत्तरी प्रतिशतभन्दा बढी अवरोध रहेछ भने त्यसलाई एनजीयोप्ल्यास्टी गरेर खोल्नैपर्छ वा बाइपास अपरेशन गर्नुपर्छ।

सत्तरी प्रतिशत भन्दा कम अवरोध छ भने नियमित औषधीहरु, खानेकुरा बारेर र व्यायामले रोकथाम गर्न सकिन्छ। मानसिक तनाव पनि लिनु हुँदैन। यसको नियन्त्रण गर्न सक्यो भने अवरोध घट्दै जान सक्छ।

कसरी थाहा हुन्छ ?
नब्बे प्रतिशतभन्दा बढी अवरोध छ भने, व्यायाम गर्दा, हिंड्दा वा भर्‍याङ चढ्दा नै छाती भारी हुने र वा स्वाँ–स्वाँ हुने हुन्छ। एकछिन आराम गर्नासाथै सामान्य हुन्छ। त्यो अबरोध बढेमा आराम गरेको बेलापनि छाती भारी वा स्वाँ– स्वाँ हुन्छ।

ईसिजीबाट नब्बे प्रतिशतभन्दा बढी अवरोध भएमा वा धड्कन को खराबी आदि थाहा हुन सक्छ। इसिजी दुई किसिमका हुन्छन्। एउटा आराम गरेर गर्ने र अर्को व्यायाम इसिजी।
व्यायाम गरेर इसिजी गर्दा मुटुमा रगत नपुगेको लक्षण देख्न सकिन्छ। सत्तरी प्रतिशतभन्दा बढी अवरोध छ भने व्यायाम इसिजीबाट थाहा पाउन सकिन्छ। तर सधैं यो सत्य नहुन पनि सक्छ।
व्यायाम इसिजीमा केही खराब लक्षण देखायो भने एनजीयोग्राफी गर्नुपर्छ। व्यायाम इसिजी गर्न नसक्ने अवस्थामा सिधै एनजीयोग्राफी गर्नुपर्छ। 
यो गरेपछि मात्रै मुटुको धमनीहरूमा समस्या छ कि छैन भन्ने पूर्णरूपमा थाहा हुन्छ।

इकोकार्डीयोग्राफी गर्‍यो भने मुटुको बनावट र चाल थाहा हुन्छ। मुटुमा प्वाल छ कि छैन, मुटुको भल्भ बिग्रेको छ-छैन भन्ने थाहा हुन्छ। हृदयघात भएर मुटुको कुनै भाग चलेको छ-छैन भन्ने पनि थाहा हुन्छ। मुटुलार्इ बाहिरबाट हेर्ने काम इकोमा हुन्छ।

व्यायाम इसिजीबाट र स्ट्रेस इकोबाट औषधि दिएर मुटुलाई बेस्सरी हल्लाएपछि मुटुको कुन भागमा रगत कम छ त्यो थाहा हुन्छ। मुटुको धमनीको अबरोध हेर्न कोरोनरी एनजीयोग्राफी नै गर्नुपर्छ।

कसरी गरिन्छ एनजीयोग्राफी ?
कोरोनरी एनजीयोग्राफीमा मुटुसम्म तार पठाइन्छ। त्यसपछि कन्ट्रास्ट औषधि दिएर अवरोध छ-छैन भनेर हेर्ने गरिन्छ। मुटुसम्म तार नपठाइकन हेर्न सकिने प्रविधि कोरोनरी सिटि एनजीयोग्राफीको प्रयास भइरहेको छ तर सफलता भने राम्रो मिलेको छैन। पछिल्लो समय नयाँ एनजीयोग्राफी पनि सुरु भएको छ। यसले मसिनो मसिनो नलीमा बन्द भएको पत्ता लगाउन सक्छ।

नेपालमा हुने अन्य मुटु रोगको उपचार
जन्मजात जटिल मुटुका रोगहरुको अपरेशनहरु सबैभन्दा जटिल हुन्। जन्मजात मुटुको अर्को अपरेशन भनेको बच्चाहरुमा हुने मुटुको प्वालको हो। माथिल्लो भागमा पनि र तल्लो भागमा पनि प्वाल पर्न सक्छ। यसको लागि मुटुका ओपन हार्ट सर्जरी गरी प्वाल टाल्न पर्छ। 

सय जनामा एक जनाको सानो प्वाल आफैं बन्द हुन पनि सक्छ। माथिल्लो भागमा प्वाल छ भने कसैलाई थाहा नहुन पनि सक्छ। मुटुमा प्वाल छ-छैन भन्ने कुरा इकोकार्डियोग्राफीबाट थाहा हुन्छ।
बाथ मुटुरोगको पनि नेपालमा उपचार सम्भव छ। बाथ मुटुरोगमा मुटुको भल्भ बिग्रिन्छ। मुटुको भल्भ बिग्रिने नेपालमा धेरै छ। जसलाई अहिले सरकारले निःशुल्क पनि गरेको छ। सानो उमेरमा यो समस्या देखिए पनि यो मुटुमा समस्या धेरैपछि मात्रै देखा पर्न सक्छ।

यसको लागि मुटुको भल्भ मर्मत वा फेर्नुपर्छ। मुटुको भल्भ साँघुरो भएर जाने वा बन्द नहुने हुन्छ। साँघुरिएर गएकोलाई मुटु नखोलिकन एउटा तार पठाएर बेलुनले मात्रै खोल्ने सम्भावना हुन्छ। तर त्यो भल्भमा कहिलेकाही ढुंगा जस्तो साह्रो गरी क्याल्सियम जमेर बसेको हुन्छ। यो अवस्थामा बेलुन पठाएर खोल्न सकिदैन।

नेपालमा मुटुको भल्भ मर्मत गर्न वा फेर्न सकिन्छ। मुटुमा बायोलोजिकल वा मेटालिक भल्भ राख्न सकिन्छ। मेटालिक भल्भ राखेको खण्डमा हरेक महिना रगत पातलो कति छ भनेर जाँच्नुपर्छ र रगत पातलो गर्ने औषधि जिन्दगीभर खानुपर्छ।

बायोलोजिकल भल्भमा भने रगत पातलो गर्ने औषधि ६ महिनामात्रै खाए पुग्छ। ६ महिनापछि खानुपर्दैन। तर १५–२० बर्षपछि भल्भ फेरि फेर्नुपर्ने हुन्छ। मेटालिक भल्भ फेरेको महिलाले बच्चा पाउन सक्दैनन्। त्यसैले बच्चा जन्माउन चाहने महिलाले बायोलोजिकल भल्भ राख्नुपर्छ। बायोलोजिकल भल्भ बच्चा पाउने उमेरका महिलाहरुले र ७० बर्षभन्दा बढी उमेर पुगेपछि मात्रै फेर्नु राम्रो हुन्छ।

कति लाग्छ खर्च ?
सरकारी अस्पतालमा सरकारले बिपन्न नागरिकलाई एक लाख रूपैयाँ दिइरहेको छ। त्यो हकमा अर्को दुई लाख जति खर्च हुन आउँछ। यसमा भल्भको अलग्गै शुल्क पर्छ। हाल गंगालाल हृदय केन्द्रमा भने निःशुल्क पाइन्छ। निकट भविष्यमा मानव अंगप्रत्यारोपण केन्द्रमा पनी यो निःशुल्क हुँदैछ। एउटा भल्भको करिब ६५ हजार रुपैयाँ पर्न आउँछ। एनजीयोग्राफी गर्दा अस्पताल हेरर १० देखि २० हजारसम्म खर्च लाग्छ। एनजीओ प्लाष्टिक भनेको मुटुमा अवरोध छ भने तारको जाली राखेर खोल्ने हो। एक ठाउँ दुई ठाउमा मात्रै अवरोध छ भने बाइपास अपरेशन नगरिकन तारको जाली राख्न सकिन्छ। यो जालीको ६० हजार देखि २ लाखसम्म पर्छ।