8 Magh, 2074 | 22 January, 2018 Monday
योगासन र स्वास्थ्य
2017-08-12 | तीतोपाटी डट कम
तीतोपाटी डट कम - सत्ययुगमा भगवान् शिवबाट रचना गरिएको सम्पूर्ण वेदान्तको सार पाशुपत योग हो। यस योगमा यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान तथा समाधि समतावस्थालाई पाशुपत अष्टांगयोग भनिएको छ।

चित्र वृत्तिहरूलाई निरोध गर्दै मात्र परमेश्वरमा एकचित्तता नै योग हो। अनेक जन्मको संस्कार बल बन्धन रूपपाशमा आबद्ध ‘जीवात्मा' पाशुपत योग साधनाद्वारा पाशबाट मुक्त हुँदा तत्क्षण ‘परमात्मा'बन्न पुग्छ। पाशुपत व्रत अहिंसा, सत्य, अस्तेय, ब्रह्मचर्य, दया, क्षमा, सरलता, धृति, मिताहार, पवित्रता, तप, सन्तोष, आस्तिकता, दान, ईश्वरपूजन, लज्जा, जप, मति, व्रत, सिद्धान्त श्रवण यी पाशुपत व्रतको विशेष अंग हो। यसमा एकमात्र अंगको छुट हुन गएमा यस योगको व्रत लुप्त हुन जान्छ। यी बीस व्रतको अंगहरूबाट युक्त साधकले मात्र पाशुपत व्रतलाई धारण गर्नसक्छ।

योग साधकहरूका लागि यो आवश्यक छ कि उसले सम्पूर्ण अनुशासनका साथै नियमित रूपले योगासनको अभ्यास गर्नुपर्छ। आसन, प्राणायाम, हठयोग अति पवित्र एवं कल्याणकारी विद्या हो। योगविद्यानुसार आसनहरू चौसारी लाख छन्। यिनीहरूमा सिद्धासनहरू चौरासी मानिन्छ। त्यसमध्ये यहाँ सर्वोत्तम पद्मासन, वज्रासन र शवासनको विधि र लाभ वर्णन गरिएको छ। जुन साधकले आसनहरूलाई जित्छ, त्यसले सम्पूर्ण त्रिलोकलाई आफ्नो वशमा राख्छ।

पद्मासन
यो पद्मासन परम पवित्र सर्वोत्तम आसन हो। योग शास्त्रमा यसलाई शुद्ध, शान्ति, आनन्द र मुक्त चेतनको प्रतीकको रूपमा दर्शाइएको छ। यस आसनमा भगवान् शिव नै नित्य ध्यानस्थ छन्। अनेकानेक सिद्धयोगीहरूले पनि यो आसलाई सिद्ध गरेका छन्। यो आसनमा बसेर भजन, कीर्तन, एवं देवआरती गर्दा उत्तम फल प्राप्त हुन्छ। यो आसनमा मन्त्र जप, नाडी शोधन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान तथा समाधिसम्मका साधना गर्नका लागि सर्व श्रेष्ठ पद्मासन हो।

विधि
- बसेर दुवै खुट्टालाई सीधा पसारिदिने।
- बायाँ घुँडालाई बङयाएर (मोडेर) खुट्टाको पञ्जालाई दायाँ तिघ्रामाथि राख्ने। दायाँ घुँडा मोडेर खुट्टाको पञ्जालाई बायाँ जाँघमाथि राख्ने।
- दुवै हातलाई एकअर्काको माथि नाभीस्थान तल काख वा दुवै घुँडामाथि हल्कासँग राख्ने।
- कम्मर, मेरुदण्ड र गर्धनलाई सीधा राख्ने।
- गहिरो श्वास लिने। जति सकिन्छ रोक्ने र आज्ञा-चक्रमा ध्यान केन्द्रित गर्ने र विस्तारै श्वास छोड्ने। तीनपटक यस्तो गर्ने।

लाभ
- चौसारी लाख आसनमा पद्मासनलाई सर्वोत्तम आसनको संज्ञा दिइएको छ। यसको अभ्यासले चित्तशुद्धि गराई, आत्मसाक्षात्कारको ढोका खोलिदिन्छ। परम-आनन्दको झलक मिल्दछ। दुःख, डर, त्रास जलन र मृत्युसँग भय व्याप्त हुँदैन।
- यो आसन समस्त व्याधिहरू विनाशक छ।

बज्रासन
महाबलि हनुमानले बज्रासनलाई सिद्ध गरेका थिए। यो आसनमा नियमित रूपले बस्नाले त्यस साधकको शरीर बज्रसमान बलियो हुन्छ। यो आसनमा बस्दा पराक्रमी पुरुषभावले बस्नुपर्छ। यो आसन मन्त्र जप, प्राणायाम, एवं ध्यान अभ्यासका लागि उपयोगी छ। भोजन लिएपछि लगत्तै यस आसनमा करिब पाँच मिनेटसम्म बस्नुपर्छ। यो क्रियाले खाएको आहारलाई आमाशयमा खाँदी पाचनप्रणालीलाई सुन्दर र सुस्ती राख्छ।

विधि
- दुवै घुँडालाई पछाडितिर दोबारेर आफ्नै खुट्टाको कुर्कुच्चामाथि बस्ने।
- पछाडि दुवै खुट्टाको बूढी औंलालाई सँगै टसाउने।
- श्वास भर्दै दुवै हातलाई घुँडामाथि राखी मेरुदण्ड तन्काउने। गर्धन सीधा पार्दै भित्री कुम्भकमा केही बेर रहने।
- श्वासलाई छोड्दै शरीरलाई फेरि सामान्य स्थितिमा ल्याउने।

लाभ
- पेटको भारीपन हटाउँछ।
- मानसिक सन्तुलन ल्याई थकान वा तनाव हटाउन यो आसन अचुक छ।
- घुँडा तथा तिघ्रालाई बज्र समान बलियो बनाउँछ। महावीर हनुमानले यसै आसनलाई आफ्नो जीवनकालमा सिद्ध गरी यसको अपूर्व लाभ प्राप्त गरेका थिए।
- पाचनप्रणाली दुरुस्त राख्छ।

शवासन
परम सिद्ध आसनहरूमा शवासनले अत्यन्त महत्ववपूर्ण स्थान राख्छ। शवको अर्थ ‘निश्चल शरीर' हो। प्राण गइसकेपछि जसरी शरीर निश्चल हुन्छ, त्यसरी नै यस आसनमा पनि शरीरलाई निश्चल गराउँदै आफ्नो चेतनालाई पूर्ण सचेत राखिन्छ। यो पूर्ण आरामको स्थिति हो।
स्मरण रहोस्, श्री कालीशक्ति जगन्माता भगवान् शिवको छातीमा विकराल रूप धारण गरी उभिनु यसै आसनको प्रतीक हो। शिवको अर्थ ज्योतिस्वरूप र कालीको अर्थ चैतन्य चेतनशक्ति हो। पवित्र साधकले भक्तिपूर्वक हृदयकमलमा शिव-शक्तिलाई ध्यान गर्दै शयनकक्षमा शवासनमा सुत्नु उत्तम हुन्छ।

विधि
- शव समान पिठ्यूँको बलले लम्पसार परेर आरामपूर्वक भूमिमा सुत्ने।
- आफ्ना दुवै हातलाई जाँघको केही दूरीमा दुवैतिर सुस्त गराएर छाडिदिने।
- शान्तिपूर्वक दुवै आँखा बन्द गर्ने।
- गोडाको पञ्जालाई दुवैतिर फैलाउने।
- श्वासप्रश्वास सामान्य छाड्ने।
- शरीरका अंगप्रत्यंगलाई निश्चल र फितलो छोड्ने।
- ध्यानलाई श्वासप्रश्वासमा केन्द्रित गर्ने।
- एकाकारको स्थितिबाट विस्तारै शून्यमा प्रवेश गर्ने र हृदयाकाशमा आनन्द अनुभव गर्ने।

लाभ
- थकावट र मनको चञ्चलता हटाउँदछ।
- चिन्ता, दुःख, छटपटाहट, अस्थिरता एवं तनावमुक्त राख्छ।
- तीनै गुणहरू (सत्व, रज, तम) बाट टाढा रही आत्मा आनन्दका लागि यो आसन अत्यन्त पूज्य र लायक छ। अचल विशुद्ध स्थिति नै परम सिद्धि हो।
- निद्रा नलाग्ने रोग हटाउँछ। राति सुत्नुअगाडि यो आसन गर्ने र यसैबाट निद्रामा प्रवेश गर्ने।

-अन्नपुर्णपोष्ट