12 Baishak, 2075 | 25 April, 2018 Wednesday
तीतोपाटी डट कम - यो कठिन प्रश्न होइन । यसको उत्तर नेपालको तथ्यांक विभागले नै दिएको छ । सन् २०११ को तथ्यांकअनुसार नेपालको जनसंख्या करिब दुई करोड ६० लाख देखाएको थियो । त्यसको १२.२ प्रतिशत जनसंख्या ब्राह्मण भएको पाइएको छ । अंकमा भन्दा यो करिब ३२ लाख २६ हजार ९०३ देखिएको छ । यिनीहरू नेपालका सबै भागमा फैलिएर बसेको पाइएको छ ।

हाम्रो समाजको एक अध्ययनमा जनकलाल शर्माले नेपालका ब्राह्मणहरूबारे केही विस्तृत चर्चा गरेका छन् । उनको भनाइअनुसार ब्राह्मणहरू पाँच भागमा विभक्त थिए ः सारस्वत, कान्यकुब्ज, गौड, मैथिल र उत्कल । सारस्वतहरू सरस्वती नदीको किनारबाट नेपालतर्फ पसेका थिए । त्यसैकारण उनीहरूको हाँगालाई सारस्वत भनिएको हो । तर उनीहरू कालान्तरमा कान्यकुब्ज समुदायमा सम्मिलित भइसकेका छन् । अर्को हाँगा कान्यकुब्जहरू कनौजबाट हिमाली भेकतिर पसेका थिए ।

यिनीहरू दुई भागमा विभाजित भएका छन् । एउटा पूर्वीया भनिन्छ भने अर्को कुमाइ । कुनै कालमा डोटी र कुमाउँ दुई अलगअलग राज्य थिए । यिनको सीमारेखा महाकाली नदी थियो । लामो राजनीतिक विभाजनका कारण महाकालीपूर्वका पूर्वीया र त्यसभन्दा पश्चिमका कुमाउँनिवासीलाई कुमाई भनिएको हो । पूर्वीयाहरूले लामो समयसम्म कुमाउँसित लड्नुपरेकाले उनीहरू एकजुट भएर बसेका थिए र एउटै वर्गमा आबद्ध भए । तर कुमाउँमा त्यस्तो मेलमिलाप हुन सकेन । त्यहाँ धनी भए पाका र गरिब भए काँचा कुमाई भन्ने भेदभाव उत्पन्न भयो । तिनै प्राचीन समयका कुमाउँनिवासी ब्राह्मणका सन्तति आज पनि कुमाइँ ब्राह्मण कहलाउँछन् र पूर्वका पूर्वीया ।

अर्को हाँगा गौड ब्राह्मणहरू सर्वप्रथम सेनहरूका साथ नेपाल पसेका थिए । यिनीहरूमा पनि कुलिन र अकुलिन दुई प्रकारको भेद रहेको पाइन्छ । सेनहरूको राज्य समाप्त हुनासाथ यिनीहरूको अस्तित्व पनि समाप्त भयो । यिनीहरूमध्ये केही कान्यकुब्ज समुदायमा विलीन भए भने केही वैवाहिक कारणबाट अन्य जातिमा मिल्न गए ।

नेवारी समाजमा गंगोल थरको जुन समूह छ, त्यो यिनै गौड ब्राह्मणका सन्तति मानिन्छन् । मैथिल ब्राह्मणहरू कोशी र बागमती नदीबीचको तराईमा बसोबास गरेको पाइन्छ । यिनीहरू पनि मूलको हिसाबले ठूलो र सानो भन्ने भेदभाव राख्छन् । मैथिलहरू जो पहाडतिर पसे, उनीहरूको संख्या सारै कम भएकाले कान्यकुब्ज समुदायमा प्रवेश गरेका छन् । यिनीहरू आज पनि मि श्र, ओझा आदि थरबाट पहाड पर्वतमा विभूषित भएका पाइन्छन् । उडिसा प्रदेशबाट नेपाल आएका ब्राह्मणलाई उत्कल भनिन्छ । यिनीहरूले आफ्नो अलग अस्तित्व बनाएर राखेका छैनन् । यिनीहरू पहिल्यै कान्यकुब्ज समुदायमा समाविष्ट भइसकेका छन् ।

वर्ण विभाजनमा ब्राह्मणहरू सबभन्दा माथिल्लो स्तरको मानिन्छ । त्यसको मुख्य आधार प्राचीन ग्रन्थहरूलाई मानिन्छ । हुन पनि केही ग्रन्थहरूमा यसको कारण पनि दिइएको पाइन्छ । मनुस्मृतिमा भनिएको छ ः अध्यापन मध्ययनं याजनं तथा । दानं प्रतिग्रहं चैव ब्राह्मणानामकल्पयत् । पढ्नु पढाउनु, यज्ञ गर्नु गराउनु, दान दिनु लिनु । यी ६ वटा कार्य ब्राह्मणको लागि बनाइएका छन्।

यी कार्यहरू अहिले पनि यो वर्गबाट गरिन्छ । तर त्यसका अतिरिक्त उनीहरू अरू पेसामा पनि सक्रिय भएका छन् । नेपालको सन्दर्भमा सरकार र प्रशासन उनीहरूकै हातमा गएको छ । राज्यको कार्य यही वर्ण व्यवस्थाअन्तर्गत क्षेत्रीय समुदायलाई सुम्पिएको छ । यसको माने या वर्ण व्यवस्था लागू छैन या यसमा विकृति आएको छ । समाजले कुन चाहिँलाई आत्मसात् गर्ने र कुन चाहिँलाई परित्याग गर्ने ? यसको खुलासा गर्नु आवश्यक देखिन्छ ।

महाभारतका साप्तिक पर्वमा योभन्दा कडा भनाइ पाइन्छ । अदान्तो ब्राह्मणोऽसाधुः । जसले इन्द्रियहरूलाई वशमा गर्न सकेको छैन, ऊ सच्चा ब्राह्मण हुनै सक्दैन । यो त झन् कठिन अनुशासन र आत्मसंयमको मुद्दा अगाडि सारियो । यो भनाइलाई अनुसरण गर्ने हो भने पूर्णरूपले साधुसन्तहरू मात्र यो वर्गमा सामेल हुन सक्ने देखिन्छ । यसले यो समाजमा ठूलो संकट नै उत्पन्न गर्छ । इन्द्रियहरूलाई बसमा राख्न ठूलो साधना र त्याग गर्नुपर्ने हुन्छ । केही व्यक्तिविशेषबाहेक अरूमा यसअनुकूलको व्यवहार र चरित्र पाउन कठिन हुन्छ । यसकारण यो सूक्ति पनि चरितार्थ भएको पाइन्न ।

यसैगरी महाभारतको कर्ण पर्वमा भनिएको छ ः ब्राह्मणस्या श्रुतं मलम् । याने वेदको ज्ञान नहुनु ब्राह्मणको लागि कलंक हो । यसको माने ब्राह्मण हुने उसैलाई मात्र अधिकार हुन्छ, जसलाई वेदको राम्रो ज्ञान हुन्छ । अब सवाल उठ्छ- वेदको ज्ञान नहुने ब्राह्मणलाई के भन्ने ? यसमा प्राचीनता र आधुनिकताको द्वन्द्व लुकेको देखिन्छ । यसको निराकरण गर्नु पनि आवश्यक छ।

यिनै विश्वास र धारणालाई माहाभारतको वन पर्वमा अरू बलियो रूपमा प्रस्तुत गरिएको पाइन्छ । चतुर्वेदोऽपि दुर्वृत्तः स शूद्रादतिरिच्यते । योऽग्निहोत्रपरो दान्तः स ब्राह्मण इति स्मृतः ।। चारै वेदका ज्ञाता ब्राह्मण यदि दुराचारी भए भने ऊ शूद्रभन्दा घटिया मानिन्छ । जो मानिस वेदबारे केही थाहा छैन तर जसले आफ्ना इन्द्रियहरूलाई बसमा गरेको छ भने उनी सच्चा ब्राह्मण हुन् । यसबाट के थाहा हुन्छ भने ब्राह्मण शब्द गुण, उपलब्धि, सच्चरित्रसित जोडिएको छ न कि जन्मसित ।

जनकलाल शर्माले आफ्नो विश्लेषणमा ब्राह्मणहरू उपाध्याय ब्राह्मण र जैसी ब्राह्मणमा विभक्त भएको पनि उल्लेख गरेका छन् । उनले भनेका छन्, उपाध्याय ब्राह्मणको मर्यादा जैसीभन्दा माथिल्लो तहमा मानिन्छ । तर यो माथिल्लो तहमा हुने कारण भने देखिँदैन । कारण मनुस्मृतिअनुसार वृत्तिको लागि जसले वेदको कुनै अंश वा वेदांग पढाउँछ, त्यो उपाध्याय कहलाउँछ । एक देशे तु वेदस्य वेदांगान्यपि वा पुनः । योऽध्यापयति वृत्यर्थमुपाध्यायः स उच्यते ।। उनको भनाइअनुसार वेदाध्ययनको अधिकारी ब्राह्मण मात्र हुँदैन । क्षेत्रीय पनि हुन सक्छ । यस तर्कबाट जसले वेदको अध्ययन र अध्यापन गर्न सक्छ, ऊ उपाध्याय कहलाउन सक्छ । यदि यस तर्कलाई स्वीकार गर्ने हो भने ब्राह्मण शब्द वेदसित गाँसिएको देखिन्छ ।

यसबाट के खुलासा हुन्छ भने न तथ्यांक विभागले निकालेको ब्राह्मणको संख्या सही मान्न सकिन्छ, न त ब्राह्मण थरबाट पहिचान भएकोलाई ब्राह्मण भन्न मिल्छ । प्राचीन ग्रन्थहरूमा उल्लेख गरिएका आधारलाई मान्ने हो भने यो सद्चरित्र, वेदका विद्वान् र त्यसमा उल्लेख गरिएका व्यवसायमा लागेकालाई मात्र ब्राह्मणको पहिचान दिनुपर्‍यो । तर अर्को सवाल उठ्छ-त्यसो गर्ने हो भने त्यो सीमाभित्र नपर्नेलाई के भन्ने ? यदि वर्ण व्यवस्थालाई अन्यत्र भएको मान्ने हो भने यी सवाल खडा हुँदैनन् । कि प्राचीन धारणालाई मानेर त्यसैअनुसार गर्नुपर्‍यो कि आधुनिकतालाई अपनाएर यसतो विभेद त्याग्नुपर्‍यो । एउटा आधार नरोज्ने हो भने हामी भ्रममा रहनेछौं ।

-अन्नपुर्णपोष्ट