12 Baishak, 2075 | 25 April, 2018 Wednesday
तीतोपाटी डट कम - भोली बिहानसम्म जीउलाई केही भइहाल्ने हो कि भन्ने मनमा डर पाल्दै रातभर पशु राख्ने चिसो गोठको बास। तीन दिनसम्म राम्रोसँग सुत्न पाउनु त परै जाओस्, भनेको समयमा पेटभरि खाना खान पनि नपाइने। घरमा कामको चटारोका कारण एकाबिहानै पेट दुखिरहे पनि झिसमिसेमै खेतको काममा दौडिनुपर्ने कर्णालीका महिलाको दैनिकी हो।

छाउ भएको समयमा यहाँका महिलामा असुरक्षित रूपमा गोठमा बस्नुपर्ने बाध्यता छँदै छ। त्यसमा पनि साविकको भन्दा अतिरिक्त काम गर्नुपर्ने अवस्थाका कारण उनीहरूको स्वास्थ्य अवस्था निकै कमजोर छ। छाउ भएपछि घरआँगन छुन नहुने भन्दै बिहानैदेखि साँझसम्म काममा लगाउने गरिन्छ। ‘छुई भयौं भने घरभित्र पस्न मात्र होइन, पानीसमेत छुन पाइँदैन', तातोपानी गाउँपालिका ४ की गौरीकला विकले भनिन्, ‘एकाबिहानैदेखि काममा जानुपर्छ। घरबाट कसैले खाना नल्याएसम्म भोकै काम गनुपर्छ।'

घरमा थोरै परिवार भएका महिलाले प्राय छाउ भएको समयमा तीन दिनसम्म भोकै काट्नुपर्छ। ‘आफै खाना पकाउँ भने देउताले रिसाउने डर, लोग्नेमान्छे आफ्नो काममा निस्कन्छन्, कोही छिमेकीले सहयोग गरे खान पाइन्छ, नत्र भोकै बस्नुपर्छ', विकले भनिन्।

हुनेखाने परिवारका महिलाले छाउ भएको समयमा राम्रो स्याहार पाए पनि अधिकांशको अवस्था दयनीय छ। यस्तै दयनीय अवस्था छ, बिउरा नेपालीको पनि। महिनाबारी भएको समयमा जीउ कमजोर हुने र उक्त समयमा सुक्खा खाना मात्रै दिइने भएका कारण उनको शरीर कमजोर हुँदै गएको छ। ‘घरको जग छोए पनि देउता लाग्छन् भन्ने डरले बर्खामा हिलाम्मे र जाडोमा रगत नै जमाउने चिसो गोठमा रात काट्नुपरेको थियो', नेपालीले भनिन्।

घरभित्र पस्न नहुने मान्यताका कारण अधिकांश छाउ भएको समयमा भोकै छाक टार्नुपर्ने र अधिक कामको समेत बोझ झेल्नुपरेको उनको भनाइ छ। चेतानाको कमी एवं गलत मान्यताले जरो गाडेका कारण आफूहरू दुःखको खाडलबाट उम्कन नसकेको उनले बताइन् ।

समस्यामा ब्राह्मण महिला
समाजमा जानेबुझेका र सम्पन्नशाली मानिने ब्राह्मण जातिका महिला यो प्रथाबाट बढी प्रताडित छन्। धर्मकर्मको धेरै ज्ञान हुने र पुजारी रहेका परिवारका महिला छाउपडी प्रथाबाट निकै प्रताडित रहेको छाउपडी उन्मूलनको अभियानमा लागेकी तोतोपानी ६ की देवीकन्या आचार्यले बताइन्।

‘हामी यो अभियानमा लागेको धेरै भयो, तर हुनेखाने र धर्मको रक्षा गर्छाै भन्ने ब्राह्मण परिवारका महिला यस्तो समस्याबाट बढी प्रताडित छन्', उनले भनिन् । अरू समुदायका महिलाले तीनदेखि बढीमा पाँच दिनसम्म छुई बार्ने गरेका छन् । तर ब्राह्मण परिवारका महिला सात दिनसम्म घरको आँगन छुनबाट समेत वञ्चित छन्।

‘अभियानका क्रममा हामीले धेरै सम्झाउने प्रयास गरौं', उनले भनिन्, ‘तर कुल बिग्रने र परिवारमा अनिष्ट हुने भन्दै उनीहरू गोठबाट घर जानै मान्दैनन्। उल्टै हामीलाई छुई भएको बेला पहिला तिमीहरू मन्दिरमा पस अनिमात्रै हामी घरमा पस्छौं भन्छन्।' ती महिलाले महिनाबारीको समयमा ढोकाबाट निहुराएको भातसमेत खाँदैनन्।

गम्भीर छैनन् जनप्रतिनिधि
अन्नपूर्ण पोस्ट्ले देशभर छाउपडी उन्मूलन अभियान थालेसँगै जुम्लामा पनि उक्त अभियान अघि बढेको छ। छाउपडीविरुद्ध काम गर्दै आएको आत्मसम्मानका लागि सहकार्य (क्याड) नेपालले स्थानीय तहबाट उक्त अभियान थालेको हो। अन्नपूर्णको अभियानलाई साथ दिँदै कर्णालीमा पनि अभियान प्रभावकारी बनाउन स्थानीय तहलाई उत्तरदायी बनाउन अभियान सुरु गरिएको क्याडका निर्देशक धनबहादुर गौतमले बताए।

जिल्लामा छाउपडी प्रथा अन्त्यका लागि स्थानीय तहबाट नीतिगत निर्णय गरी अभियानलाई प्रभावकारी बनाउने उद्देश्यका साथ छलफल गरिएको छ । तर जनप्रतिनिधि भने यसबारे खासै गम्भीर छैनन्।