7 Mangshir, 2074 | 23 November, 2017 Thursday

तीतोपाटी डटकम-धादिङ निलकण्ठ नगरपालिका २ की अम्मिता पौडेल कुवेत गएकी हुन् । घरमा छन् श्रीमान् सानुबाबु पौडेल, दुई छोरा र सासु ससुरा । अस्मिता पौडेल कुवेत गएको ५ बर्ष लाग्यो । घरेलु कामदारका रुपमा कुवेत गएकी उनी दुई बर्षसम्म फोन सम्पर्कमा थिइन् । त्यसपछि उनी सम्पर्कमा छैनन ।

अस्मिताका श्रीमान सानुबाबुका अनुसार उनीसँग फोन सम्पर्क नभएको झण्डै तीन बर्ष हुन लाग्यो । त्यसैले उनको खोजिका लागि पौडेल परिवारले सुरक्षित आप्रवासन सुचना तथा परामर्श केन्द्रमा निवेदन दिएको छ । त्यो बाहेक खोजिको अन्य उपाय देखेको छैन परिवारले ।

अस्मिताका दुईटा छोरा मध्ये जेठो ९ कक्षामा पढ्दैछन् कान्छो ५ मा । आमा लामो समय देखि बेखवर हुँदा गाउँलेले गर्ने अनेकथरी कुराले उनीहरुलाई पनि मानसिक तनाव दिएको छ । गाउँलेले अव तिमिहरुकी आमा आउँदिनन् भन्दा उनीहरु हजुरआमासँग त्यहि कुरा सोधिरहन्छन् ।

भुकम्पले पुरानो घर भत्काईदिएपछि पौडेल परिवार झण्डै एक बर्ष पालमा बस्यो । त्यसपछि एउटा अस्थायी टहरोमा सरे उनीहरु । अहिले जसोतसो घर बनाउँदैछन् । बर्षेनी झण्डै २७ मुरी धान उव्जिने खेतबारी छ । दुईटा छोरा जिम्मा लगाएर परदेशिएकी बुहारी यसरी बेखवर भएपछि घरायसी काम सवै बृद्ध सासु झलककुमारीको काँधमा आइपरेको छ ।

तपाईले यो तस्वीरमा देखिएकी अस्मिता पौडेललाई कुवेतमा कहिं देख्नभएको छ वा उनलाई चिन्नुहुन्छ भनें कुवेतमा देशपरदेशका सहकर्मी हरिकृष्ण न्यौपानेको फोन नम्वर ६५० ४२ २१६ मा फोन गरेर जानकारी गराइदिनुहोला ।

यसैगरी घरमा श्रीमान सानुबाबु पौडेललाई ९८२३ ६९ ७७ ४७ मा पनि खवर गरिदिन सक्नुहुन्छ । तपार्ईले सुरक्षित आप्रवासन सुचना तथा परामर्श केन्द्र, धादिङको फोन नम्वर ०१० ५२० ४९३ मा पनि खवर गरिदिन सक्नुहुन्छ । आशा गरौं झण्डै ५ बर्ष अघि कुवेत गएर विगत झण्डै तीनबर्षयता परिवारसँग सम्पर्कमा नरहेकी अस्मिताको छ्टिटै परिवारसँग सम्पर्क हुनेछ ।


साभार-देश परदेश डटकम

भिडियो मार्फत कुवेतमा ३ बर्ष देखी सम्पर्क बिहिन अस्मिताको खोजीका लागि परिवारको आग्रह