|
महेन्द्रनगर, फाल्गुन १९ - सानैदेखि स्पष्ट बोल्न सक्दैनन्, राजेन्द्र प्रधान । उनको बोली बुझ्न साह्रै मुस्किल पर्छ । सानो आवाज सुन्दैनन्, पनि । तर बोलाइ र सुनाइको समस्याले भारोत्तोलनमा उनको प्रतिभा छेकेको छैन । नतिजा हेर्ने हो भने उनी नेपाली भारोत्तोलनकै सर्वोत्कृष्ट प्रशिक्षक हुन् । राजेन्द्रकै प्रशिक्षणमा २२ वर्षयता आर्मीले नेपाली भारोत्तोलनमा आधिपत्य जमाउँदै आएको छ । यो अवधिमा आर्मीले पहिलो स्थान गुमाउनु भनेको दुर्लभै थियो । पीएलए सहभागी भएपछि आर्मीले छैटौं राष्ट्रिय खेलकुद बहिष्कार गर्यो । त्यसैले उनी पुलिस टिम सम्हाल्न पुगे । सर्वाधिक ७ स्वर्ण, ५ रजत र ३ कांस्यसहित कुल १५ पदक जित्दै पुलिस बिहीबार टिम च्याम्पियन नै भयो । त्यतिमात्र कहाँ हो र ? राजेन्द्रका चेलाहरू विकास थापा र देवीकुमारी चौधरी बेस्ट लिफ्टर तथा तारा पुन स्ट्रोङगेस्ट वुमेन पनि चुनिए । ताराले ६९ केजीमा दुई र देवीले ५३ केजी स्पर्धामा एक राष्ट्रिय कीर्तिमान बनाए । देवीले अर्को एक कीर्तिमान पनि बराबरी गरिन् । 'खेलाडीले राम्रो गरे । विशेषगरी महिलाले । त्यसैले सफलता हात लाग्यो,' राजेन्द्रले कान्तिपुरसँग भने । प्रशिक्षकका रूपमा २७ वसन्त बिताइसकेका उनले आर्मी सहभागी नभएकाले पनि पुलिस सजिलै टिम च्याम्पियन भएको बताए । भारोत्तोलनका पूर्वमुख्य प्रशिक्षक पार्थसारथी सेन गुप्त -मिठु गुरु) पुलिसको सफलतामा राजेन्द्रको देन नै मुख्य भएको बताउँछन् । 'उनी (राजेन्द्र) लामो अनुभवबाट निखारिएका मिहिनेती प्रशिक्षक हुन्,' मिठु गुरुले भने, 'मान्छेले बोल्नेलाई महत्त्व दिन्छ, नबोल्नेलाई मतलब गर्दैन । यस्तै धेरैको नजरमा नपरेका प्रतिभावान् व्यक्ति हुन्, उनी ।' हालका मुख्य प्रशिक्षक तिलक रावत भन्छन्, 'उहाँ आफ्नो जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी राख्नुहुन्न । कान सुन्ने र स्पष्ट बोल्नेभन्दा बढी इमान्दार हुनुहुन्छ ।' क्षेत्रपाटीबाट बाल्कोट ९, ठिमी सरेका उनी नेपाली खेलजगत्मा थोरै चिनिएका तर निकै लगनशील र विश्वासिला मानिन्छन् । राष्ट्रिय मात्र होइन, उनी अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि उत्तिकै सफल छन् । उनी कोलम्बोमा ६ वर्षअघि भएको दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली भारोत्तोलन टोलीमा प्रशिक्षक थिए । त्यसबेला कमलबहादुर अधिकारीले नेपाललाई स्वर्ण दिलाएका थिए । साग इतिहासमा नेपालले भारोत्तोलनमा जितेको एकमात्र स्वर्ण थियो, त्यो । सन् १९९० मा बेइजिङमा भएको एसियाली खेलकुदमा पनि उनले नेपाली टिम सम्हालेका थिए । ५७ वर्षीय उनीसँगै मिठु गुरु, जगदीश प्रधान र तिलकले दिएको प्रशिक्षणबाट उत्पादित सुनीललाल जोशी, अशोक कार्की, भरत सावद, सुरेन्द्र हमालले ओलम्पिक खेलेका थिए । सागका पदक विजेता कमल, मदन शिवभक्ति, उत्तम गुरुङ, गोपाल श्रेष्ठ, नवराज कैनी उनीहरूकै प्रशिक्षणबाट उत्पादित खेलाडी हुन् । आफ्नो जमनाका उत्कृष्ट खेलाडी पनि हुन्, राजेन्द्र । राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपको सुरुका दुई संस्करण वि.सं.२०३६ र ३७ मा उनी च्याम्पियन भएका थिए । दुईपल्टै राष्ट्रिय कीर्तिमान पनि बनाएका थिए । उनले सन् १९८० को मस्को ओलम्पिक पनि खेले । मिठु गुरुलगायत एक दर्जन सहकर्मीसँगै उनी नेपालमा भारोत्तोलनका संस्थापक मानिन्छन् । उनले औपचारिक शिक्षा पाएका छैनन् । 'तर नेपाली, अंग्रेजी लेख्न-पढ्न सक्छन्,' मिठु गुरुले भने । इन्टरनेसनल ओलम्पिक कमिटीको सोलाडारिटीलगायत प्रशिक्षकका अन्तर्राष्ट्रिय चार कोर्स उनले गरिसकेका छन् । उनी आईडब्लू -इन्टरनेसनल वेट लिफि्टङ फेडेरेसन) का फस्ट क्लास रेप|mी पनि हुन् |