विश्वकप फुटबल एक सामान्य खेल प्रतियोगिता मात्र नभई बहुआयामिक महत्व बोकेको विश्व जमघट हो । जसले सिर्जना गर्ने अवसरको विश्वव्यापी अर्थतन्त्रमा औचित्यपूर्ण प्रभाव पर्दै आएको छ । प्रत्येक चार वर्षको अवधिमा आयोजन हुने विश्वकप प्रतियोगिता सुरु भएपछि संसारभरिका फुटबलप्रेमीलाई यसले पूर्ण मनोरञ्जन गराउने गरेको पाइएको त छ नै, यसैले सिर्जना गरेका तमाम अवसरहरूले विश्व अर्थतन्त्रलाई गतिशील बनाएको पाइएको छ । यसै परिप्रेक्ष्यमा विश्वकप प्रतियोगिता आज स्वयं एक ठूलो व्यवसायका रूपमा स्थापित हुँदै गएको छ भने यसका व्यापक आर्थिक प्रभावहरूसमेत देखिन थालेका छन् । २ सय ४ देश सदस्य रहेको फिफा विश्व फुटबलको सञ्चालक निकायले यस यथार्थलाई पटक-पटक भएका विश्वकप खेल आयोजनले प्रमाणित गर्दै आएको छ । विभिन्न समाचार स्रोतहरूबाट प्रकाशित-प्रसारित तथ्यांकहरू समेटी तयार पारिएको यस विश्लेषणले पाठकहरूलाई विश्वकप प्रतियोगिताको आयाम र यसको आर्थिक प्रभावबारे जान्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
कर्पोरेट आयोजक
सन् १९८४ मा २ अर्ब डलरबाट सुरु भएको विश्वकप आयोजनको मूल्य सन् १९९६ मा आइपुग्दा १६.६ अर्ब डलर पुगी प्रायोजन खर्चमा वृद्धि भएको छ । विश्वकप सुरु भएदेखि अन्त्यसम्म लगभग ३ अर्ब मानिसहरूले हेर्ने एक अनुमान छ । यसको प्रायोजकमा कोकाकोला, म्याकडोनाल्ड र अडिडासजस्ता प्रमुख बहुर्राष्ट्रिय कम्पनीहरू पर्छन् । सन् १९९४ को आयोजक राष्ट्र अमेरिकाले खेल सञ्चालनका लागि मात्र सम्पूर्ण रकमको ६५ प्रतिशत रकम खर्च गरेको थियो । यसैगरी जर्मनीले ६३ प्रतिशत र सन् २०१० को आयोजक देश दक्षिण अफ्रिकाले ८० प्रतिशत खर्च गरेको छ । खेलकुद प्रायोजनको यो मूल्यको आधारमा विश्वकप आयोजना गर्नु भनेको विश्वव्यापी अर्थतन्त्रलाई बलियो प्रभाव दिनु पनि हो ।
उत्तर अमेरिका
सन् १९९४ को अमेरिकामा आयोजन गरिएको विश्वकप विभिन्न सहरमा सञ्चालन गरिएको थियो, जसबाट ६ सय २३ मिलियन डलर कुल नाफा भएको थियो । सीधा महानगरपालिकाको आम्दानी कोषमा गएको यो रकमको तुलनामा यही वर्ष सुपर बल खेलमा जम्मा १ सय ८२ मिलियन डलर मात्र उठेको थियो । क्यालिफोर्नियामा मात्र पासाडेना कन्भेन्सन र भिजिटर ब्युरोले दिएको प्रतिवेदनअनुसार विश्वकप तयारीको अवधिभर १ हजार ७ सय आंशिक रोजगारीको सिर्जना भएको थियो । न्युयोर्क, सनफ्रान्सिस्को र बोस्टनले संयुक्त रूपमा १ अर्ब र ४५ मिलियन डलर आम्दानी गरेका थिए । अघिल्लो वर्षको तुलनामा होटेल, खाना तथा पेयपदार्थमा १० देखि १५ प्रतिशतको वृद्धि भएको थियो । होटल र रेस्टुराँमा गरिएको लगानीले पूरै अमेरिकाको अर्थतन्त्रको विकासमा सहयोग पुर्याएको थियो । विश्वकपका अवसरमा प्राप्त आयले होटेल र रेस्टुराँको सुविधा विस्तारमा ठूलो सहयोग पुर्याएको थियो ।
यसले अमेरिकालाई एक गतिशील आर्थिक तत्वको सिर्जना गराएको थियो । नयाँ सुविधाको निर्माण, नयाँ टिमको स्थापना र टिकटको बिक्रीबाट आम्दानीजस्ता विषयका लागि ढोका खोलेको थियो । विश्वकपको आयोजनले अमेरिकामा नयाँ व्यावसायिक लिगको सुरुवात गर्यो, जुन तीव्र रूपमा विकसित भइरहेको युवाहरूको खेलमध्येमा परेको छ । युवा फुटबलले खेल पोसाक र खेलकुदका सामग्रीको बिक्रीमा वृद्धि गराएर यस किसिमको व्यवसायलाई माथि उठाउन हालसम्म पनि मद्दत पुर्याइरहेको छ ।
एसिया
जापान र दक्षिण कोरिया आयोजक राष्ट्रहरू भएकाले सन् २००२ को विश्वकपले थप नयाँ किसिमका फाइदाहरूको सिर्जना गरेकोमा कुनै द्विविधा छैन ।
जापान र दक्षिण कोरियामा सञ्चालित विश्वकपमा ३० लाख प्रत्यक्ष दर्शकका लागि बिक्री भएको टिकटबाट १.२ अर्ब डलरको आम्दानी भएको थियो ।
फिफाले आयोजक देशलाई विश्वकप आयोजनाका लागि १ सय १० मिलियन डलरको सहायता प्रदान गरेको थियो । साथै टिकट बिक्रीबाट भएको सम्पूर्ण आम्दानी पनि आयोजक राष्ट्रहरू जापान र कोरियाले नै प्राप्त गरेका थिए । विश्वव्यापी उत्सवको आयोजनाको तयारीका लागि प्रत्येक देशले ४.७ अर्ब डलर लगानी गरी २० प्रकारका फुटबल सुविधाहरू दुवै राष्ट्रले बढाएका थिए । कोरिया र जापानको आर्थिक विस्तारसँगै प|mान्समा सम्पन्न विश्वकपको सुविधासँग प्रतिस्पर्धा गर्न जापानले मात्र १० किसिमका सुविधा पहिले नै निर्माण गरिसकेको थियो । विशाल संख्याका मानिसहरूले हेर्ने भएकाले आयोजक राष्ट्रले आफ्नो प्रस्तुतिलाई गर्व र प्रतिष्ठा अभिवृद्धिका साथ लिने मात्र होइन, खेलप्रतिको समर्पण र आर्थिक सफलता प्राप्त राष्ट्रका रूपमा समेत चिनाउन चाहन्छन् । विश्वकपको आयोजना जापानी र कोरियालीहरूका लागि राष्ट्रिय सम्मान र राष्ट्रप्रेम विकास गर्ने एक माध्यम नै भएको थियो, साथै अमेरिकन र युरोपेली टिमका समर्थकहरूले टिकटको खरिद गरेको र लामो समयसम्म बसेकाले अन्य विश्वकपमा भएको सहभागिताभन्दा यो विश्वकपमा भएको सहभागिताले यी दुई देशलाई बढी फाइदा दिएको थियो ।
सन् २००२ को विश्वकपमा सुरुमा यदि बेलायती टिम अनुपस्थित रहेमा ४.७ अर्ब डलरको घाटा अर्थात् ३ प्रतिशतले जीडीपीमा ह्रास हुने अनुमान गरेको थियो । यदि बेलायती टिमले पहिलो दुई साताको अवधिमा म्याच हारेको भए जम्मा १.८ अर्ब डलरको मात्र नोक्सानी हुने अनुमान गरिएको थियो । युरोपका बारेमा गरिएको अर्को फराकिलो अनुुमानले अन्य उत्कृष्ट १० टिमका फुटबलका उत्साहीहरूको पनि आर्थिक परिणाममा ८.१ अर्ब अर्थात् दोस्रो त्रैमासिकमा ३ देखि ७५ प्रतिशतसम्म जीडीपीमा योगदान गर्ने अनुमान थियो । यसले विश्वकपमा सहभागी भएको ३२ देशहो कुल जीडीपी विश्वको जीडीपीको ८४ प्रतिशतबराबर रहेको कुरा पनि प्रमाणित गरेको छ ।
युरोप
सन् २००६ को विश्वकप अमेरिकामा आयोजित भएको सन् १९९६ को विश्वकपको तुलनामा बढी सफल मानिएको छ । जर्मन सरकारले विश्वकपको अवधिभर पर्यटकीय आम्दानी सालाखाला ४ सय मिलियन डलर भएको बताएको थियो । जर्मनीले जर्सी र विश्वकपसँग सम्बन्धित उपकरणहरूको खुद्रा बिक्रीबाट ३ अर्ब डलरको आम्दानी गरेको थियो । खेल तयारीको अवधिमा ५० हजार रोजगारीको सिर्जना भएको थियो । यसले त्यहाँको अर्थतन्त्रलाई राम्रो गति दिएको थियो । खेल अवधिभर रेस्टुराँ र बार चौबीसै घण्टा पूर्ण क्षमतामा सञ्चालन हुनाका साथै अनुमानभन्दा बढी १ करोड ५० लाख पर्यटक जर्मन आएका थिए ।
यो सफलताले जर्मनको व्यावसायिक फुटबल लिग अर्थात् बुन्डेस्लिगाको विश्वव्यापी दर्शकमा पनि व्यापक वृद्धि भएको छ, जसले खेलका आयोजक तथा जर्मन टिभी प्रसारकहरूलाई सहयोग पुग्नुका साथै नाफा पनि कमाउन थालेका छन् ।
सन् २००६ को विश्वकपको सञ्चालन बजेट ४ सय ३० मिलियन युरो थियो । जर्मन फुटबल एसोसिएसनले कर कट्टी नगरिएको अवस्थामा १ सय ३५ मिलियन युरो नाफा भएको घोषणा गरेको थियो, कर र फिफाको योगदानका लागि दिइने ४०.८ मिलियन युरो कटाएर पनि खुद नाफा ५६.६ मिलियन युरो भएको जर्मन फुटबल एसोसियसन -डीएफबी) र जर्मन फुटबल लिग -डीएफएल) ले जानकारी दिएको छ ।
अफ्रिका
सन् २०१० को उन्नाइसौं विश्वकपको आयोजन दक्षिण अफ्रिकाले सम्पन्न गरेको छ, जसले लाखौं फुटबलका पारखीहरूलाई आकषिर्त गर्नुका साथै ३.३ अर्ब डलरभन्दा बढि आम्दानी सिर्जना गर्ने अनुमान छ ।
यो विश्वकपले दक्षिण अफ्रिकालाई पुनर्उर्जा प्रदान गरेको छ । सरकारी अधिकारीहरूले विश्वकपले दक्षिण अफ्रिकालाई विश्वव्यापी रूपमा प्रस्तुत गर्ने र यो क्षेत्रमा पर्यटकको आगमनमा व्यापक वृद्धि हुनेे बताएका छन् । प्रत्येक वर्ष १ करोड १० लाख पर्यटक आउने दक्षिण अफ्रिकामा सन् २०१४ को अवधिसम्म यो संख्यामा वृद्धि भएर १ करोड ५० लाख नाघ्ने अनुमान सरकारी अधिकारीहरूले गरेका छन् । खेलको आयोजनबाट ४ लाख १५ हजार पूर्वाधार रोजगारीको सिर्जना भएको उनीहरूले जानकारी गराएका छन् । दक्षिण अपि|mकाले यो खेललाई विशाल परिमाणको अर्थतन्त्रको आधार तयार पार्ने अवसरका रूपमा लिएको छ ।
विश्वकप हेर्नका लागि ३ लाख ७३ हजार विदेशी यात्रुहरूले भ्रमण योजना बनाएको स्पोट्र्स ट्राभल म्यागेजिनले उल्लेख गरेको छ ।
पहिलेका अन्य विश्वकप फुटबल खेलले जस्तै यस पटकको विश्वकप खेलले पनि आर्थिक क्षेत्रमा राम्रो उपलब्धि हासिल गरेको छ । यो खेलले पनि व्यावसायिक अवसरका लागि अद्वितीय अवसर प्रदान गरेको मानिएको छ । यो विषयले विश्वकपको सेरोफेरोमा भएका व्यावसायिक सूचनाहरूको आदान-प्रदानलाई समावेश गर्छ । यसमा उच्च प्रायोजन, विज्ञापन र अन्य विषयवस्तु पनि पर्छन् ।
दक्षिण अफ्रिकाले अमेरिका र जर्मनीले जत्तिकै पर्यटक आकषिर्त गर्न नसके पनि यो देशले यसको अवस्थिति र उदाइरहेको अर्थतन्त्रका कारण आर्थिक फाइदा लिन सक्ने देखिएको छ ।
दक्षिण अफ्रिकाको प्रमुख आवश्यकता भनेको विदेशी लगानीकर्ताहरूलाई आकषिर्त गर्नु हो । अन्तर्राष्ट्रिय व्यापार र प्रत्यक्ष विदेशी लगानीलाई आकषिर्त गर्नका लागि यो देशले पूरै क्षेत्रको अर्थतन्त्र र सरकारमा स्थायित्वका लागि विश्वकप २०१० ले उपलब्ध गराएको अवसरबाट फाइदा लिन सक्छ ।
विश्वकपको जीडीपीमा अनुमानित प्रत्यक्ष आर्थिक मूल्य लगभग २१.३ अर्ब डलर छ । स्थायी र अस्थायी, पूर्णकालीन र आंशिक गरी जम्मा १ लाख ५९ हजार नयाँ रोजगारीको सिर्जना भएको अनुमान गरिएको छ । सरकारले रंगशाला र नयाँ एयरपोर्टको आधुनिकीकरण गर्न गरिएको खर्चको तुलनामा कति फाइदा भयो यसको तथ्यांक सार्वजनिक हुन केही समय कुर्नुपर्नेछ ।
(कारोबार)