पर्यटकहरु खचाखच भरिने युगान्डाको राजधानी कम्पालास्थित एउटा रग्बी क्लबमा विश्वकप फुटबलको फाइनल खेल हेर्दै गर्दा भएको बम विष्फोटमा ६४ जनाको मृत्यु भएको छ । घटनामा एक अमेरिकी पर्यटक पनि परेका छन् । एकै साथ दुइ स्थानमा बम विष्फोट हुँदा विश्वकप फुटबलको फाइनल खेल हेरिरहेका दर्शकहरु हताहतमा परेका हुन् । घाइतेको यकिन संख्या अझै थाहा हुन सकेको छैन ।
राजधानी कम्पालास्थित अमेरिकी दूतावासले एक अमेरिकी मारिएको र तीन जना गम्भीर घाइते भएको पुष्टी गरेको छ । यता कम्पालाका प्रहरी प्रमुखले घटनामा सोमालियाका विद्रोही समूह अल शबाबको हात रहेको दाबी गरेका छन् । अल शबाबको अलकाइदासँग सम्बन्ध रहेको बताइन्छ ।
विष्फोट स्थलमा फेला पारिएको एउटा टाउको र गोडाका कारण सुसाइड बम्बरका कारण यो घटना घटेको अनुमान गरिएको छ ।
सरकारी आधिकारिक तथ्याङ्कअनुसार भने अहिलेसम्म ३० व्यक्ति मारिएको प्रहरी प्रमुख काले कैहुराले बताएका छन् । यो संख्या अझै बढ्नसक्ने समेत उनले बताए । तर पछि प्रहरी अधिकारीहरुले मृत्यु हुनेको संख्या ६४ पुगेको र ४९ जना रग्बी क्लबमा मारिएका र १५ जनाको शव इथियोपेली रेष्टुराँमा फेला पारिएको बताएका थिए ।
यता सोमालियाको मोगाडिसुस्थित अल शबाबका कमाण्डर शेख युसुफ शेख इसाले युगान्डामा घटेको घटनामा खुशी व्यक्त गरेका छन् । तर घटना आफूहरुले नै घटाएको हो वा होइन भन्ने विषयमा चाहिँ बोल्न चाहेनन् । उनले भने- "युगान्डा हाम्रो दुश्मन हो र उसको रोदनले हामीलाई खुशी बनाउँछ । |