कुमार रेग्मी
नेपाली कांग्रेस १२ रौं महाअधिवेशनको संघारमा उभिएको छ । कांग्रेससँग लोकतन्त्रवादी भएको प्रमाण माग्ने हिम्मत कसैले गरेको पाइँदैन तर राष्ट्रियताको सन्दर्भमा उसका अडानबारे बेलाबखत प्रश्न उठाउने प्रयास भएका छन् । राजा महेन्द्रले त्यसैलाई आधार मानेर २०१७ पुस १ को देशघाती कदम चालेका थिए भने नेपालका कम्युनिस्टहरू पनि राजाहरूको होमा हो मिलाउन पछि नपरेको दृष्टान्त पाइन्छ । नेपाल राष्ट्र भर्खरै जन्मिएको बच्चो नभएर दक्षिण एसियाको जेठो देश हो । विभिन्न कालखण्डमा हाम्रा अग्रज पुर्खाहरूले बुद्धि, साहस र बलिदानी भावनानुसार काम गरेका कारण यो देश बाँचेको हो र हामी नेपाली भएर रहन पाएका हौं । इतिहासका घटनाक्रमहरूले देखाउँछ, बीपी कोइराला तिनै महान् पुर्खाहरूका एउटा मजबुत कडी हुनुहुन्छ जसका कारण उहाँले जीवनभर अकल्पनीय कष्ट र यातना भोग्नुपर्यो । आज तिनै नेपालका महान् सपूत बीपीको २९ सौं स्मृति दिवस हो ।
बीपीले राष्ट्रियता र प्रजातन्त्रलाई एउटै सिक्काको दुई पाटाका रूपमा व्याख्या गर्नुभयो । बीपी नेपालको राष्ट्रियताको उठान, विकास र संरक्षण प्रजातन्त्रबिना सम्भव छैन भन्नेमा दृढ हुनुहुन्थ्यो । प्रजातान्त्रिक हकअधिकारले मात्र जनतालाई आत्मसम्मान र गौरवको अवसर दिन्छ र त्यसैको जगमा राष्ट्रियताको भावनाको उठान भई त्यो मौलाउन पाउने निष्कर्ष थियो । एक परिवारको हुकुमी राणाशासनमा अधिकांश नेपाली र समग्र राष्ट्र गरिबी, अभाव, अशिक्षा र चरम भेदभावको जाँतोमा पिल्सिएका बेला बाह्य कसैले त्यसबाट त्राण दिने अवस्था आएमा जनता त्यतै लाग्न सक्ने र मुलुकको स्वाधीन अस्तित्व समाप्त हुन सक्ने परिवेश थियो । जनतालाई त्यो अवस्थाबाट बाहिर निकाली राजनीतिक र आर्थिक अधिकारले सुसम्पन्न गराई राष्ट्रियताको भावना मजबुत गराउन प्रजातन्त्र अनिवार्य शासन व्यवस्था हो भन्ने विश्लेषणमा सत्यता छ ।
बीपीलाई स्वाधिन र स्वाभिमानी नेपाल राष्ट्र नभएर प्रजातन्त्र मात्र चाहिएको थियो भने उहाँ भारतमै बस्न सक्नुहुन्थ्यो । त्यसो गर्नुभएको भए भारतीय राजनीतिको धेरै उच्च ओहदामा जीवनभर बस्ने हैसियत, व्यक्तिगत क्षमता र भारतीय स्वतन्त्रता संग्राममा सहभागी भएर उहाँले आर्जन गरिसक्नुभएको थियो । भारतमा रहेको अंग्रेजको सहारामा नेपालमा राणाशासन टिकेको र भारतबाट अंग्रेज हटेपछि मात्र नेपालमा प्रजातन्त्र सम्भव छ भन्ने निष्कर्ष त्यस बखतका पढेलेखेका धेरै नेपालीको थियो । त्यसैकारण धेरै नेपाली भारतीय स्वतन्त्रता संग्राममा होमिएका थिए । त्यसमा बीपीको उच्च मूल्यांकन गरिएको थियो । यहाँसम्म कि उहाँलाई ३० वर्षकै उमेरमा लागेको क्यान्सरजस्तो प्राणघाती रोगको उपचार उहाँसँगै हजारीबाग जेलमा रहेका पछि भारतका प्रथम राष्ट्रपति बन्नपुगेका डा. राजेन्द्रप्रसादको सहयोगमा सम्भव भएको थियो । जयप्रकाश नारायण, डा. लोहिया र जगजीवन राम आदि बीपीका समकक्षी थिए । उहाँलाई आदर्श गुरुसरह मान्ने चन्द्रशेखरपछि
भारतका प्रधानमन्त्री भए भने उहाँका धेरै साथी/अनुयायाी भारतका केन्द्रीय मन्त्री, विहार, उत्तरप्रदेशका मुख्यमन्त्री, मन्त्री तथा अन्य उच्चपदस्थ कर्मचारी भएका छन् ।
राष्ट्रप्रतिको प्रेम भनेको आफ्नो देशको माटो, इतिहास, भाषा, धर्म, संस्कृति, रीतिथिति, जीवनशैली, नाता, इष्टमित्रप्रतिको प्रेम हो । त्यसलाई बचाएर अघि बढ्न सक्दा मात्र गौरव महसुस गर्न सकिन्छ । यो शाश्वत सत्यप्रति बीपी पूर्ण रूपले समर्पित हुनुहुन्थ्यो । राजनीति देश र समाजसेवाको उच्चतम मार्ग हो भन्ने आदर्शबाट उहाँ निर्देशित
हुनुहुन्थ्यो । वास्तवमा बीपीलाई नेपालको राष्ट्रियता र प्रजातान्त्रिक आन्दोलनको इतिहासबाट झिकिदिने हो भने यो खण्डित मात्र नभएर पहिचानविहीन हुन्छ ।
तत्काल हेर्दा असम्भव भन्ने विषयलाई सम्भव बनाउन सक्नु बीपीको विलक्षण प्रतिभा थियो । निर्वासनबाट सञ्चालित सशस्त्र संघर्षमा रहेको कांग्रेसलाई एक्कासि राष्ट्रिय एकता र मेलमिलापको नारासाथ नेपाल भित्र्याउने साहसिक कदमलाई यस्तो एक उदाहरणका रूपमा लिन सकिन्छ तर बीपी कुनै पनि दूरगामी निर्णयमा पुग्नुअघि पार्टीभित्र व्यापक छलफल र बहस गराउनुहुन्थ्यो । नेताले नीति, निर्णय र नेतृत्व दिन्छ । नीति र निर्णय अल्पकालीन र दीर्घकालीन दुवै खालका हुन्छन् । अल्पकालीनमा देश, जनता र आफ्नो संगठनलाई पुग्ने फाइदालाई केन्द्रमा राखेर नेताले दैनिक निर्णयहरू गरिरहनुपर्ने हुन्छ तर दीर्घकालीन रूपमा पर्न सक्ने असरबारेका नीति र निर्णय गर्नुअघि नेताले कार्यकर्ताका बीच त्यसबारे व्यापक बहस छलफल चलाउने गरेको पाइन्छ ताकि त्यसलाई कार्यकर्ताले मेरो निर्णय भनी स्वीकार गर्न सकून् ।
२०३३ साल पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको
निर्णयसाथ स्वदेश र्फकनुअघि बीपीले नेपालभित्र र बाहिर रहेका कांग्रेसका कार्यकर्ताहरूबीच व्यापक छलफल गर्नुभएको थियो । कांग्रेसले त्यो बीचको क्रान्तिको दौरान ठूल्ठूला सशस्त्र कारबाही गरेको थियो । राजकाज, राजगद्दी, जहाज अपहरण, हातहतियार खरखजाना, हत्या र लुटपाटजस्ता केयौं मुद्दा नेपाली अदालतमा बीपीलाई पर्खेर बसेका थिए ।
भारतमा रहँदाको त्यस बखत अब के गर्ने भन्ने ठूलो द्विविधा, त्रास र भविष्यप्रतिको निराशाको क्षण थियो । शरण लिएर बसेको देश भारतमा इन्दिरा गान्धीले प्रजातन्त्रमाथि धावा बोलेर संकटकाल लगाएकी थिइन । हजारौं विपक्षी कार्यकर्तालाई कठोर शारीरिक सजायका साथ हिरासतमा राखिएको थियो जहाँ बसेर आफ्नो मुलुकमा प्रजातन्त्र पुनस्र्थापनाको संघर्ष गरिँदै छ ऊ आफैंै निरंकुशताको पन्जामा जकडिएको अवस्थामा त्यहाँ बाँच्न मात्र बसिरहनुभन्दा स्वदेशमा गएर मर्नु निको भन्ने विचारले बीपीलाई एकातिर छोपिरहेको थियो भने अर्कोतिर इन्दिरा गान्धीले आफूलाई आधार बनाएर राजासँग मोलमोलाइ गरिरहेको बीपीले बुझिरहनुभएको थियो । बीपी कट्टर राष्ट्रवादी भएका कारण भारतमा बसेर आफ्नो संघर्ष सफल पार्न वा सत्ता प्राप्तिका लागि राष्ट्रहित विपरीतका समझदारी गर्न उहाँ तयार हुनुहुन्नथ्यो । अझ भारत र त्यस बखतको उसको सामरिक सहयोगी सोभियत रूसबाट नेपालसँगै दक्षिण एसियाका अरू देशको राष्ट्रियतामाथि खतरा पुगेको सूक्ष्म विश्लेषणका कारण पनि उहाँ फर्किने निर्णयमा पुग्नुभएको थियो ।
सिक्किम, अफगानिस्तान, बंगलादेश, तिब्बतका घटना उहाँका आँखाअगाडि थिए र अब आफ्नो देश सिकार हुने चिन्ताले उहाँलाई घच्घच्याइरहेको थियो । यी सबैलाई अगाडि राखेर बीपीले
नेपाली राष्ट्रियताका सम्बन्धमा जति गहिरो विश्लेषण गर्नुभएको छ त्यति न त कांग्रेसभित्रका अन्य कुनै नेताबाट न त अन्यबाट आउन सकेको छ । कांग्रेस नेताको विश्लेषण मात्र भन्ने नसम्झी नेपाल र नेपालीको हित र कल्याणका लागि संघर्षरत एउटा योद्धा र चिन्तकका आफ्ना, फेरि उहाँकै शब्दमा \'बारम्बार मृत्युको मुखमा पुगेर आर्जन गरेका अनुभवबाट\' निस्किएका विश्लेषणलाई थोरै मात्र आत्मसात् गर्न सकिएमा नेपालको अवस्था अर्कै हुनेछ ।
३५ वर्षको उमेरमा २००७ सालको क्रान्ति सञ्चालन गर्दा उहाँमा विलक्षणता र दूरदर्शिता रहेको पाइन्छ । त्यस बखत समाजमा अति पूजित राजा र राजसंस्थालाई राणाविरुद्धको अभियानमा सामेल गराउँदा क्रान्तिलाई ऊर्जा मिल्ने तर उनीहरूलाई भारतको पकडमा आउन दिनु हुन्न भन्नेमा बीपी सचेत हुनुहुन्थ्यो । राजा त्रिभुवन सपरिवार भारतीय राजदूतावासमा शरण लिन पुग्नाले राणाहरूको अत्याचार र ज्याजती सीमाबाहिर रहेको प्रस्ट्याउन सजिलो मात्र नभई काठमाडौं उपत्यकाका जनतालाई ००७ सालको क्रान्तिमा उतार्न कांगे्रसलाई धेरै सहज भए पनि बीपीले तत्कालै बुझ्नुभयो, अब आन्दोलन र त्यसको परिणाम तय गर्ने साँचो भारतीयको हातमा गयो । हुन पनि पछि त्यही भयो ।
बीपी स्वयंले भनेअनुसार राजा त्रिभुवन सपरिवार ४ महिना भारतमा बस्दा एकपटक पनि कांग्रेसका नेताहरूसँग भेट हुन दिइएन र दिल्ली सम्झौतामा यस्तो गरियो भन्ने कांग्रेसका नेताहरूलाई सुनाइयो । त्यो मान्न सबै बाध्य
भए । राणाहरूलाई सत्ताबाट तत्कालै नफालेर उनीहरूकै नेतृत्वमा सरकार बनाएर १९५० को सन्धिको गुन भारत तिर्न चाहन्थ्यो जुन मौका राजा त्रिभुवनको परिवारसहितको भारतीय दूतावासमा शरण लिनाले सम्भव बनाइदियो । लामो अन्धकार र निस्साहसबाट त्राण पाउन र साँच्चै क्रान्तिलाई सहयोग पुर्याउन राजाले शरण लिएका थिए भन्ने तथ्यलाई इतिहासले पुष्टि गरेको छ । भारतीयहरूको योजना नेपाललाई राणापछिको अवस्थामा आफ्नो पकडमा राख्नु थियो भन्ने कुरा आजसम्मका धेरै घटनाले पुष्टि गरिसकेको छ ।
यस्तै केही होला भन्ने पूर्वानुमान गरेर राजालाई आफ्ना साथमा ल्याएर राणाशासन समाप्त पार्ने योजनामा बीपी हुनुहन्थ्यो । मुक्ति सेनाको गठन र हतियारको जोगाडपछि बीपी राजालाई नेपालभित्रकै कुनै स्थानमा लगेर त्यहींबाट राणाविरुद्धमा वैकल्पिक सरकार घोषणा गर्ने तयारीमा हुनुहुन्थ्यो । ए बाट सी वर्गमा झारेर पाल्पाको बडाहाकिम बनाइएका रुद्रशमशेर बदला लिने मौका पर्खेर बसेका थिए । उनको कमान्डमा १२ सय नेपाली फौज थिए । पाल्पा काठमाडांैबाट धेरै टाढा पनि नभएकाले कुनै बहानामा राजालाई थानकोटसम्म ल्याई मुक्ति सेना र पाल्पाको फौजको बलमा पाल्पा पुर्याएर त्यहीँबाट नेपालको वैधानिक सरकारको घोषणा नेपालका बहालवाला राजाबाट गराउने र त्यसलाई अन्तर्राष्ट्रिय मान्यता दिलाएपछि राणाशासन छिट्टै ढाल्न सकिने योजना बीपीले बनाएका थिए । यो कुनै सोचाइ र गफमा मात्र सीमित थिएन । यसलाई कार्यान्वयन गर्न बीपी जोखिम उठाउँदै रुद्रशमशेरसँग भेट गर्न पाल्पा गई योजनामा रुद्रशमशेरको सहमति लिनुभएको थियो ।
यसरी बीपीले कसैसँग नलुकाई नछिपाई सार्वजनिक गर्नुभएका नेपालको संवेदनशील अवस्थाका राष्ट्रियतासँग सम्बन्धित अनुभव र सुझावलाई बेवास्ता गरिँदा आज विदेशीहरू हाम्रा घरभित्र चुला, चौका, ओछ्यान र भन्डारमा पुगेका छन् । बीपी बाँचिरहनुभएको अवस्थाको भन्दा मुलुक धेरै कमजोर भएको छ । नेपाली राष्ट्रियताका लागि को शत्रु र को मित्र भन्ने सामान्य समझ र चेतनासमेत हामीले गुमाएका छौं । नेपाल बलियो भयो भने मात्र हामी नेपाली बलिया हुन्छौं । तब मात्र हाम्रो मानसम्मान र इज्जत दुनियाँले गर्नेछ । राजनीतिलाई व्यक्तिगत महत्त्वाकांक्षा मात्र नभएर समाजसेवाको पवित्र मूल आधार र लोकतन्त्रलाई राष्ट्र र जनता मजबुत बनाउने औजारका रूपमा जुन दिनबाट हामी बुझ्छौं, बीपीको कष्टकर जीवनले हाम्रा लागि पुर्याएको योगदानको सार्थकता त्यही दिनबाट हुनेछ । महाअधिवेशनको संघारमा उभिएको कांगे्रसका लागि यो गुरुमन्त्र हुनुपर्छ ।
|