|
|
|
| Welcome to NepalKuwait.com |
| |
| |
| |
| - दैनिक पत्रिकाहरू |
|
| |
| |
| -कमेडी सिरियल |
|
|
| |
|
|
| |
अब के गर्ने?- निर्मल भट्टराई
29 July 2010
निर्मल भट्टराई
देश एकपछि अर्को संकटमा फस्दैछ। संविधान निर्माणको काम दुई वर्षमा सकिसक्नु पर्थ्यो, सकिएन। शान्ति प्रक्रिया काँचै छ। राजनीतिक पार्टीका नेता सरकार बनाउने जोडघटाउमै व्यस्त छन्। प्रधानमन्त्रीले राजीनामा दिएको एक महिना पुग्न लाग्दासमेत नयाँ सरकार बन्ने लक्षण छैन। प्रधानमन्त्री निर्वाचनले केही अचम्मलाग्दा उदाहरण देखिएका छन्- बहुमतीय चुनावमा तीन सय ९१ जना सभासदको समर्थन प्राप्त गरेर पनि एमाले अध्यक्ष झलनाथ खनालले आफ्नो उम्मेदवारी कायम गर्नुभएन। वामपन्थी गठबन्धनको नेतृत्व गर्ने सुअवसर प्राप्त भए पनि पार्टी निर्णयको बन्दी भएर दक्षिणपंथी गठबन्धनको झिनो बहुमतको नेतृत्व गरिरहेका कामचलाउ प्रधानमन्त्री माधव नेपालले खनालको उमेदवारी फिर्ता भएको घोषणा गर्नुपर्यो। नेकपा (एमाले)का यी दुई शीर्ष नेतामा गजबको भिन्नता छ - एउटा देशका दक्षिणपंथी बटुलेर झिनो बहुमतमा प्रधानमन्त्री बन्ने, अर्को तीन सय ९१ सभासद्को समर्थन प्राप्त वामपन्थी गठबन्धनको समेत नेतृत्व नगर्ने।
प्रधानमन्त्री चुनावको पहिलो दिन मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवलाई दिव्यज्ञान प्राप्त नभएको भए खनालको पक्षमा दुई तिहाइ बहुमत सजिलै हासिल हुनसक्थ्यो। अघिल्लो रात १२ बजेसम्म उपेन्द्र यादव खनालले नेतृत्व गर्ने सरकारको पक्षमा हुनुहुन्थ्यो। कुन्नि के भयो १२ घन्टामै उहाँ तटस्थ बस्ने निष्कर्षमा पुग्नुभयो। यस दौडमा राष्ट्रपति निर्वाचनबाट पाठ सिकेको एनेकपा (माओवादी) ले बेलैमा समर्थन पत्र दिएर इमानदारी देखायो। अग्रगमनका लागि ढिलाचाँडो वामपन्थी गठबन्धन आवश्यक छ। यो यसैको एक सुरुआत हुनसक्छ।
चिठ्ठा प्रणालीमा धाँधली नहोस् भन्ने उद्देश्यले कार्य व्यवस्था परामर्श समितिले विशेष ध्यान दिनुपर्छ। यसरी भागबन्डा गर्दा नौ महिनाभित्र गर्नैपर्ने कामको सूची पहिले नै सहमतिमा तय गर्ने र राज्य संचालनका आधारभूत विषयमा यस अवधिभर के चाहिँ नगर्ने भन्ने आचार संहिता बनाउनु पर्छ। जस्तै प्रधानमन्त्रीबाहेक मन्त्री परिषद्का सदस्य परिवर्तन नहुने व्यवस्था गरिनु पर्छ। त्यस अवधिभर शान्ति प्रक्रिया र संविधान निर्माणसँग सम्बन्धितबाहेक कुनै राजनीतिक नियुक्ति हुने छैनन्, दैनान्दिनका प्रशासनिक कार्यबाहेक सरकार पूर्णरूपेण संविधान निर्माण र शान्ति प्रक्रियामा मात्र सामेल हुनेछ।
अत्यावश्यकबाहेक कुनै विदेश भ्रमण र गोष्ठी उद्घाटन र अन्य समारोहमा प्रधानमन्त्री सामेल हुने छैनन्। शान्ति प्रक्रिया र संविधान निर्माणबाहेक अन्य सामूहिक र व्यक्तिगत भेटघाटमा प्रधानमन्त्री र मन्त्रीले सामान्यतया सहभागी हुनेछैनन्। यीलगायत अन्य आचार संहिता तयार गरेर पालैपालो नेतृत्व गर्ने व्यवस्था गर्नु र त्यस प्रयोजनका लागि चिठ्ठा प्रणालीको अवलम्बन गर्नु उत्तम विकल्प हुनसक्छ। कि त वस्तुनिष्ठ भएर सहमतिको राजनीतिमा आउनु पर्यो कि त भाग्यमा भर पर्नुपर्यो? अहिलेको गतिरोध अन्त्य गर्ने नत्र अरू के उपाय छ त? संसारमा पालैपालो सरकारको नेतृत्व गर्ने चलन अन्त पनि छ।
हाम्रो देशमा पनि हाम्रो भाग्यको फैसला हामी आफैले गर्न पाएको भए संविधान पनि तोकेको अवधिभित्र बनिसक्थ्यो, राष्ट्रिय सहमतिको सरकार पनि सञ्चालन हुनसक्थ्यो। उद्योगका लागि चाहिने कच्चा पदार्थ, जनतालाई चाहिने खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडाआदि त नेपालमा आयात भएकै हो। आयातका नाममा बुद्धि, विवेकसमेत भित्र्याउन त भएन नि!
आखिर कुनै न कुनै विषयमा त सहमति हुनैपर्छ। संविधान निर्माणका विवादित विषयभन्दा सरकारको नेतृत्वको प्रश्न गम्भीर बनेपछि त्यसलाई कुनै न कुनै रूपमा संबोधन गर्नु आवश्यक छ। संविधान निर्माणको समय करिब नौ महिना बाँकी छ। यस अवधिभर नेपालका मुख्य राजनीतिक शक्तिले पालैपालो शासन गर्ने अवस्थाको सिर्जना गर्न आवश्यक छ। पालैपालो शासन गर्ने विषयमा सहमति जुट्न सक्यो भने कसको पालो पहिले वा पछि भन्ने विषयमा विवाद हुनसक्छ। त्यसकारण संविधान निर्माण अवधिभर पालैपालो शासन गर्ने गरी व्यवस्थापिका संसद्भित्र ऐतिहासिक चिठ्ठा प्रणालीको सञ्चालन गर्नु आवश्यक छ।बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चुन्न नसकेपछि मुलुक फेरि सहमतीय प्रक्रियामा फर्कनै पर्नेछ। कसैले कसैको नेतृत्व नस्विकार्ने यस परिस्थितिमा नेतृत्वमा सहमति भइहाल्ला भन्न सकिन्न। माओवादीले एमालेलाई समर्थन गरेको बेला राष्ट्रिय सहमतिको अत्यन्त सुन्दर सम्भावना थियो। त्यो सम्भावना टरे पनि अब पुनः राष्ट्रिय सहमतिको पहल गर्नुको कुनै विकल्प छैन। अन्तिम अवस्थामा मधेशवादी दलले के गर्छन् भन्न नसक्ने, माओवादी र कांगे्रस एक अर्काको नेतृत्व स्वीकार गर्न नसक्ने र एमाले राष्ट्रिय सहमतिबाहेक अरू कुनै प्रकारको सरकार निर्माण प्रक्रियामा सामेल नहुने स्थितिबाट नेपालको राजनीतिमा थप जटिलता उत्पन्न भएको प्रष्ट देखिन्छ। जनताले विश्वास गरेका नेताले जटिल परिस्थितिलाई कसरी सही दिशातर्फ लैजान्छन् भावि दिनले बताउनेछ। नेताहरूको गम्भीर परीक्षाको घडीमध्ये यो पनि एक हो।साउन १७ गतेको निर्वाचनमा समेत पुष्पकमल दाहाल वा रामचन्द्र पौडेल विजयी हुने सम्भावना छैन। एमालेको तटस्थ बस्ने निर्णय कायमै छ र यो प्रक्रिया रहुन्जेल कायम रहनेछ। बहुमतीय निर्वाचन कति पटकसम्म जारी राख्ने व्यवस्था छ? सम्भवतः व्यवस्थापिका संसद्को कार्यव्यवस्था नियमावलीमा यो लेखिएको छैन। यो निर्वाचनको शंृखलाभर एमालेले कसैको पक्ष वा विपक्षमा आफ्नो मत जाहेर गर्ने छैन। |
| 0 Leave your comment |
|
| |
|
|
| |
|
|
|